काठमाडौं। कोरोना महामारीपछि नेपालमा विभिन्न देशका अर्बपतिहरूको भ्रमण बाक्लिन थालेको छ। विश्व भ्रमणमा निस्किएका अर्बपतिहरूले नेपाललाई ‘ट्रान्जिट हब’ बनाउन थालेका छन्।
पछिल्लोपटक भुटान जान नेपाललाई ट्रान्जिट गन्तव्य बनाएर आएका ७५ अमेरिकी अर्बपति मंगलबार नेपाल आए। उनीहरू मंगलबार राति काठमाडौंको द्वारिकाज होटलमा बास बसे। बुधबार बिहान पशुपतिनाथ मन्दिर घुमघाम गरे र त्यही दिन दिउँसो भुटान गए।
नेसनल जोग्राफिक सोसाइटीको ‘प्राइभेट जेट’ चार्टर गरेर नेपाल आएका अमेरिकी अर्बपतिहरूले पशुपतिनाथ मन्दिर भ्रमणसँगै नेपाली पश्मिनाका कपडासमेत खरिद गरे। भ्रमणमा आएका अधिकांश सेवा निवृत्त हुन्।
उनीहरू नेसनल जोग्राफिक सोसाइटीको विभिन्न क्लबमा आबद्ध छन्। उनीहरूले चार्टर गरेर नेपाल ल्याएको ‘बोइङ ७५७’ सिरिजको जहाज २ सय ३३ सिट क्षमतायुक्त भए पनि ‘भिआइपी’ उडानमा प्रयोग गरिने भएकाले बिजनेस क्लासका ८० सिटमात्र राखिएका छन्।
भ्रमणमा आएकामध्ये अधिकांश यसअघि पनि नेपाल आइसकेका कारण अहिले भुटानसहित भारतका विभिन्न ठाउँको भ्रमणमा आएका हुन्।
नेपालमा उनीहरूलाई ट्राभल कम्पनी यती होलिडेजले भ्रमण व्यवस्थापन गरेको छ। यसअघि नेपाल आएको समूहलाई पनि यती होलिडेजले नै व्यवस्थापन र सहकार्य गरेको थियो। नेपाल आउने अधिकांश भिआइपी र अर्बपति (महँगो शुल्क तिर्ने) पर्यटक यतीले नै ल्याइरहेको छ।
बुधबार भुटान गएका ती अमेरिकी अर्बपति शुक्रबार पुनः नेपाल फर्किनेछन्। उनीहरूको चार्टर जहाज बोइङ ७५७ भुटानको पारो विमानस्थलमा अवतरण गर्न नसक्ने भएकाले पनि नेपालमा ट्रान्जिट गरेका हुन्।
उनीहरूलाई लिन भुटानबाटै जहाज आएको थियो। शुक्रबार भुटान एयरलाइन्सकै जहाजले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउने र त्यहीँबाट उनीहरू भारततर्फ जाने तालिका रहेको यती होलिडेजले जनाएको छ।
ट्रान्जिट गन्तव्य बनाए पनि उनीहरूले नेपाल बस्दा ठूलो रकम खर्चिने गरेका छन्। उसै त खर्चालुभित्र पर्ने भएकाले पनि होटल द्वारिकाजमा बस्दा समेत प्रतिव्यक्ति प्रतिरात कोठाको ३ सय ७५ अमेरिकी डलर (करिब ५० हजार) तिरेका छन्। उनीहरू सबैले होटलको स्वीट रुम प्रयोग गरेका थिए।
योसँगै विमानस्थलमा जहाज पार्किङ गरेवापत पनि अन्य जहाजले भन्दा महँगो शुल्क तिरेको विमानस्थलले जनाएको छ। यस्ता पर्यटकको एक दिनमात्र ट्रान्जिट नेपालमा बनाउन सके धेरै फाइदा लिन सक्ने पर्यटन व्यवसायीको भनाइ छ।