काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले उद्याेगमा विद्युत् कटाैति गरेसँगै उद्याेग बन्द भएकाे र नेपालबाट सिमेन्ट तथा स्टिल निर्यात रोकिएको छ। एक हप्तादेखि नेपालबाट भारतीय बजारमा क्लिङ्कर तथा स्टिल निर्यात रोकिएको उद्योगीहरुले बताएका छन्।
प्राधिकरणले बढी नाफामा देखाउन बिजुली भारतबाट आयात रोक्दा निर्माणजन्य उद्योग बन्द भएको र नेपालबाट भरखरै सुरुवात भएको सिमेन्ट तथा स्टिल निर्यात रोकिएको हो। विद्युत प्राधिकरणले भारतको इनर्जी एक्सचेन्ज मार्केटबाट प्रतियुनिट अधिकतम १९.२० रुपैयाँ (१२ भारु) सम्म तिरेर बिजुली आयात गरिरहेको छ ।
‘लामो समयपछि भारतीय बजारबाट क्लिङ्कर तथा सिमेन्टमा माग आउन थालेको थियो’ एक उद्योगीले क्यापिटल नेपालसँग भने, ‘प्राधिकरणले विभिन्न बहाना बनाएर विद्युत् ठप्प बनाएपछि निर्यात रोकिएको हो।’
६ महिनाअघिदेखि नेपालबाट सिमेन्ट तथा स्टिल निर्यात सुरु भएको हो। तर, यो बीचमा भारतमा पनि निर्माणजन्य गतिविधि सुस्त भएपछि नेपाली उत्पादन ठप्प भएको थियो। तर, अहिले नेपालभित्र र भारतमा पनि निर्माणजन्य गतिविधि विस्तारै बढ्दै गइरहेको बेला विद्युत् आपूर्ति रोकिएपछि नेपाली उद्योगहरु थप मर्कामा परेका छन्।
अहिले नेपालबाट तीन उद्योगले व्यावसायिक रुपमा क्लिङ्कर तथा सिमेन्ट निर्यातको थालनी गरेका थिए। नेपालबाट व्यावसायिक रुपमा स्टिल पनि निर्यात भइरहेको थियो। तर, प्राधिकरणले औद्योगिक क्षेत्रको गम्भीर्यता नबुझी विद्युत् आपूर्ति रोक्दा विदेशी मुद्रा आर्जनमा समेत गम्भीर असर परेकाे छ।
उद्योगीका अनुसार अहिले दैनिक रुपमा एक सय ५० टन क्लिङ्कर भारतीय बजारबाट माग भइरहेको छ । तीन दिनअघिसम्म नेपालबाट एक सय ५० टन क्लिङ्कर र दैनिक ४ गाडी स्टिल निर्यात भइरहेको थियो। तर, बिजुली आपूर्ति नहुँदा उत्पादन नभएपछि अहिले निर्यात ठप्प भएको हो।
सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत सिमेन्ट तथा स्टिल निर्यात गर्ने उद्योगलाई नगद अनुदानको व्यवस्था गरेको थियो। सरकारले वार्षिक ५० करोड रुपैयाँमाथि निर्यात गरेको खण्डमा ८ प्रतिशत नगद अनुदानको व्यवस्था गरेको छ। त्यही भएर उद्योगीले ८ प्रतिशत नगद अनुदान पाउने गरी लागत मूल्यमै सिमेन्ट तथा स्टिल निर्यात गरिरहेका थिए।
बिजुली उपलब्ध नहुनेबित्तिकै उद्योग बन्द भएका छन् । जेनेरेटर चलाएर उत्पादन गर्दा वस्तुको लागत बढ्न गई भारतीय बजारमा पठाउन मुस्किल हुन्छ। लिटरको १ सय ७१ रुपैयाँ डिजेल किनेर जेनेरेटर चलाउँदा उत्पादन लागत छोइनसक्नु हुने उद्योगीहरुको भनाई छ।
प्राधिकरणले बिजुली उपलब्ध नगराउँदा भैरहवा क्षेत्रका उद्योग तीन दिनदेखि ठप्प छन्। त्यसैगरी, पोखरा औद्योगिक क्षेत्र, वीरगञ्ज औद्योगिक क्षेत्र, विराटनगर औद्योगिक क्षेत्रसमेत बुधबारदेखि लोडसेडिङ भएको छ।
सरकारले नेपालबाट निर्यात बढाएर भारतसँगको व्यापार घाटा कम गर्ने लक्ष्य लिएको छ । सरकारले गत आर्थिक वर्षमा मात्रै ३ अर्ब डलर भारतीय रिजर्भ बैंक (आरबीआई) लाई बेचेर खर्बौं भारु किनेको छ।
डलर बेचेर भारु किन्ने अवस्थालाई कम गर्न र स्वदेशमा उत्पादन बढाउन सरकारले निर्यात अनुदान बढाएको हो । तर, प्राधिकरणले बिजुली ठप्प बनाइदिँदा निर्यात रोकिएको उद्योगीहरु बताउँछन्।
‘तीन दिन उत्पादन बन्द हुँदासमेत प्राधिकरण तथा सरकारले कुनै पहलकदमी नलिएको उनीहरुको गुनासो छ। अर्थतन्त्र गम्भीर अवस्थामा पुगेका बेला उद्योग त्यसै बन्द भए। बजारमा उत्पादनको माग शून्यमा झर्यो।
त्यो बेला उद्योगीले बैंकको ब्याज तिरिरहे भने कर्मचारीले पाउने सेवा सुविधा ऋण खोजेर उपलब्ध गराए। जब विस्तारै औद्योगिक उत्पादनको माग वृद्धि हुन थाल्यो, त्यो बेला प्राधिकरणले बिजुली कटौति गरिदियो,’ नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले भने, ‘हामीले कति गर्दा पनि सरकारलाई उद्योगको महत्व बुझाउन सकेनौं। तीन दिनदेखि देशभरका औद्योगिक क्षेत्रमा अन्धकार भइरहँदा सरकारले बिजुली उपलब्ध गराउने विषयमा सामान्य छलफल समेत गरेको छैन।’
यता विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विहारमा १ हजार ३०० मेगावाट बिजुली उत्पादन गर्ने थर्मल प्लान्ट बिग्रिएर आयात घटेको जिकिर गर्छन । वर्खामा ५०० मेगावाट बिजुली बढी भएका बेला उद्योग नचलाउने तर आपूर्ति कम भएको बेला बिजुली कम पाइयो भन्ने उद्योगीहरुले अनावश्यक हल्ला मात्र गरे भन्ने गैरजिम्मेबारी अभिव्यत्ति घिसिङले दिएका छन् ।
प्राधिकरणका अनुसार बिजुलीको माग बढेर पिकआवरमा १ हजार ८४० मेगावाट पुगेको छ । बुधबार मात्रै प्राधिकरणले भारतबाट ३५५ मेगावाटसम्म बिजुली आयात गरेको छ ।