काठमाडौं। मुलुकमा सञ्चालित सारा बैंक तथा वित्तीय संस्था प्रविधिमैत्री (डिजिटल) भएको लामो समय भइसकेको छ। तर, हामीमाझ एउटा यस्तो बैंक छ, जुन सञ्चालमा आएको लगभग साढे चार दशकमा पनि अझै डिजिटल हुन सकेको छैन।
साँच्चै कुन बैंक होला त्यस्तो? प्रश्न अस्वाभाविक होइन। र, त्यो बैंक हो– हुलाक बचत बैंक।
हुलाक बचत बैंक सञ्चालनमा आएको ४६ वर्ष बित्दासमेत डिजिटल हुन सकेको छैन। बैंकिङ कारोबार सुरु गरेको त्यति लामो अवधि बितिसक्दा पनि अझै परम्परागत शैलीमा काम भइरहेको छ।
देशभरिका सबै ठाँउमा बैंकिङ सुविधा नहुँदा सर्वसाधारणलाई बचतको बानी पार्न हुलाक बचत बैंकको सुरुवात भएको थियो।
नेपालमात्र नभई हाल विश्वका ६० मुलुकमा यसरी हुलाक प्रशासनमार्फत बैंक सेवा प्रदान गर्ने गरिएको छ।
नेपालमा भने आर्थिक वर्ष २०३३/३४ देखि यस्तो सेवा सुरु भएको थियो। कतिपय देशमा यसलाई ‘गरिबको बैंक’ भनेर पनि व्याख्या गर्ने गरिएको पाइन्छ।
आर्थिक वर्ष २०५०-५१ सम्ममा ७० जिल्ला हुलाक कार्यालय, चार क्षेत्रीय हुलाक निर्देशनालय, एक गोश्वारा हुलाक कार्यालय र ४२ ईलाका हुलाक कार्यालय गरी १ सय १७ हुलाक कार्यालयमा यसको सेवा विस्तार भएको थियो।
सेवा विस्तार भए पनि काम भने सुरुवाती समयमा जसरी हुने गरेको थियो, अहिले पनि त्यसरी नै काम भइरहेको हुलाक बचत बैंक सञ्चालक निकाय केन्द्रीय धनादेश कार्यालयका सूचना अधिकारी शालिकराम बस्याल बताउँछन्।
हुलाक बचत बैंकमा सर्वसाधारणले बचत गर्न पाउने भए पनि कर्जा लिन पाउने सुविधा भने छैन।
सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत सबै विभागका कर्मचारीलाई मात्र बैंकले कर्जा प्रवाह गर्ने गरेकोे बस्यालले बताए।
‘सञ्चार मन्त्रालयअअन्तर्गतका सबै विभागका कर्मचारीले हुलाक बचत बैंकबाट साढे ४ लाख रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्था छ,’ बस्यालले क्यापिटल नेपालसँग भने, ‘कर्जाको ब्याजदर भने आठ प्रतिशतमात्र छ। बचतको ब्याजदर भने न्यून छ।’
हाल बैंक तथा वित्तीय संस्थाले साधारण निक्षेपमा उच्च ब्याज दिँदै आइरहेको अवस्थामा बैंकले आठ प्रतिशतमा कर्जा प्रवाह गर्ने गरिरहेको छ।
न्यून ब्याजदरमा निक्षेप संकलन र न्यून दरमा कर्जा प्रवाह गरिरहेको यो बैंक हाल घाटामा छ।
इतिहास बोकेको हुलाक बचत बैंकको कारोबार डिजिटल नहुँदा बेलाबखत निक्षेप अपचलनसमेत हुने गरेको छ। यसले गर्दा बैंक घाटामा रहेको छ।
हाल हुलाक बचत बैंकमा ५६ हजार ८ सय ४३ खाता सञ्चालनमा छ। त्यसैगरी ७७ जिल्लाका ८८ शाखाबाट बैंकको कारोबार भइरहेको धनादेश कार्यालयले जनाएको छ।
मुस्ताङ, गोरखा र डोल्पामा हुलाक बचत बैंकको शाखा कार्यालय भए पनि कारोबार भने शून्य छ। अन्य ७५ शाखाबाट कारोबार भइरहेको बस्यालले बताए।
बैंकको कूल दायित्व १ अर्ब २५ करोड छ भने कूल ऋणी १ हजार ६ सय छन्। बैंकको बचत खातामा २४ करोड २ लाख ९० हजार निक्षेप छ भने मुद्दतीमा १ अर्ब १ करोड रुपैयाँ छ।
मुद्दती र बचत खातामा गरी १ अर्ब २५ करोड ५१ लाख ४६ हजार रुपैयाँ निक्षेप रहेको सूचना अधिकारी बस्यालले जानकारी दिए।
असुल हुन बाँकी लगानी भने १ अर्ब २५ करोड ११ लाख रुपैयाँबराबर छ। निक्षेपबराबर कर्जा लगानीसमेत छ।
सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेट सार्वजनिक गर्दै हुलाक बचत बैंकलाई खारेज गर्ने निर्णय गरे पनि कार्यान्वयन हुन सकेको छैन। साथै, बैंकमा जम्मा भएको रकम खातासहित वाणिज्य बैंकमा सारिने उल्लेख थियो।
सरकारले यस बैंकलाई न राम्रोसँग सञ्चालन गर्न सक्यो, न खारेज गर्न। सरकारले घाटा हुँदा पनि कारोबार सञ्चालन गरिरहेको छ।
सरकारले कारोबार प्रणाली सुधार नगर्दा बैंकको निक्षेप अपचलनको कुरा नयाँ भने होइन। यसअघि बचतकर्ताले निक्षेप अपचलन गरेको भन्दै नाराबाजीसमेत गरेका थिए।
बैंकका शाखामार्फत त्रैमासिक प्रतिवेदन आउन लामो समय लाग्छ। त्यो पनि हस्तलिखितमा आउने गरेको छ। कारोबार डिजिटल नहुँदा समस्या हुने गरेको बस्याल बताउँछन्।
बैंकमा बचत खाताको मात्र कारोबार हुन्छ र बचतकर्तालाई दिनुपर्ने ब्याज सरकारले बेहोर्ने व्यवस्था मिलाइएको छ।
बैंकले तीन प्रतिशत ब्याज प्रदान गर्दै आएको थियो। तर, ७० वर्षभन्दा माथिका वृद्धवृद्धाले खोलेको खातामा भने चार प्रतिशतबराबर ब्याज दिँदै आएको छ। बैंकमा अधिकांश वृद्धवृद्धाको खाता छ।
सूचना अधिकारी बस्यालका अनुसार बचत बैंकमा खोलिएको एउटा खातामा राखिने रकमको अधिकतम सीमा १५ लाख रुपैयाँ तोकिएको छ। गोश्वरा हुलाक कार्यालय काठमाडौंस्थित हुलाक बचतमा १५ लाखसम्म बचत गर्न पाइने व्यवस्था छ।
क्षेत्रीय र जिल्ला हुलाक कार्यालयमा १० लाख रुपैयाँ र अधिकृतस्तरका कर्मचारी प्रमुख भएको ईलाका हुलाक कार्यालयस्थित बचत बैंकमा ५ लाख र ईलाका कार्यालयमा रहेका खातामा २ लाख रुपैयाँसम्म राख्न पाइन्छ।।
कारोबार डिजिटल नहुँदा अपचलन
हुलाक बचत बैंकको कारोबार सिस्टम डिजिटल नहुँदा निक्षेप अपचलन हुने गरेको सूचना अधिकारी बस्यालले बताए।
‘कारोबारका लागि अनलाइन सिस्टम छैन,’ उनले भने, ‘मासिक प्रतिवेदन हेरेरमात्र थाहा हुन्छ। काम पुरानै सिस्टममा सञ्चालन भइरहेको छ।’
सम्पत्ति शुद्धीकरण (मनी लन्डरिङ) को व्यवस्था आइसकेपछि यसलाई पूर्णबैंकिङ प्रणालीमा अद्यावधिक गर्ने कुरा थियो, तर भएको छैन। कारोबार प्रणाली पुरानै तरिकाबाट हुने भएकाले हुलाक बचत बैंकमा विकृति रहेको बस्याल बताउँछन्।
हुलाक बचत बैंक घाटामा
निक्षेपअनुसार कर्जा प्रवाह नहुँदा बैंक घाटामा चलिरहेको छ।
‘बैंकको निक्षेप ठूला बैंकको निक्षेपमा राखिन्छ,’ बस्यालले भने, ‘ठूला बैंकको मुद्दती खातामा पैसा राख्न नसकेपछि घाटामा हुन्छौं। बैंक घाटामा भए पनि बचतकर्तालाई ब्याज दिनुपर्ने हुन्छ।’
कार्यप्रणाली सुधार गरिए बैंक घाटामा नजाने बस्यालको भनाइ छ। ‘बैंकको कारोबार प्रणाली सुरुवाती अवस्थामा जस्तो थियो, अहिले पनि त्यस्तै छ,’ उनले भने, ‘कार्यप्रणाली डिजिटल गरिए कारोबार सबै सिस्टममा देखिन्छ। बदमासी गरेको पनि सिस्टमबाट थाहा हुन्छ।’
हुलाक बचत बैंक सञ्चालन निर्देशिकाअनुसार अघिल्लो महिना भएको एक दिनको अधिकतम कारोबार अर्को महिनाका लागि राख्नुपर्ने व्यवस्था छ।
तर, केही शाखाका कर्मचारीले तहबीच रकम १५/२० लाख राख्ने र आफैंले त्यो पैसा चलाउने गरेको बस्यालले बताए।
बैंकलाई थप चुनौती
डिजिटल युगमा हुलाक बचत बैंक परम्परागत शैलीमा सञ्चालन हुनु बैंकको मुख्य चुनौती हो। बैंक तथा वित्तीय संस्थामा उच्च प्रतिस्पर्धा भइरहेको अवस्थामा सस्तो ब्याजदर र त्यसमाथि ढड्डावाला कारोबार प्राणालीका कारण बैंक थप समस्यामा परिरहेको छ।
यसअघि पनि बैंक कर्मचारीले निक्षेप अपचलन गरेका कयौं गुनासो भने नआएका होइनन्। कि बैंकलाई डिजिटल बनाउनुपर्छ, कि दर्ता खारेज गरी खाता सरकारी बैंकमा ट्रान्सफर गर्नुपर्ने हुन्छ।
बजेटमा पनि बैंकको दर्ता खारेजी गरी सरकारी बैंकमा खाता ट्रान्सफर गर्ने कुरा आएको थियो। तर, त्यो अझै कार्यान्वय हुन सकेको छैन।
बैंकको कारोबार डिजिटल गरी नियमन र सुपरीवेक्षण नगरेसम्म यस बैंकका टाठाबाठा कर्मचारीले निक्षेप अपचलन गर्न सक्ने सम्भावना कम छ। नियमन नहुँदा बैंक कर्मचारीले गरेको बदमासी बाहिर नदेखिएको बैंकका एक अधिकारीले बताए।
‘बैंकको नियमन र सुवरीवेक्षण कडाई गरी कार्यप्रणाली डिजिटल नगरे चाँडै बैंकको अस्तित्व हराउने निश्चित छ,’ ती अधिकारीले भने।