काठमाडौं । राजधानी जोड्ने देशकै महत्वपूर्ण सडकमार्ग नागढुङ्गा सुरुङमार्ग निर्माण भएपछि काठमाडौं उपत्यकाभित्रको ट्राफिक जाम आधा कम हुने भएको छ ।
देशका विभिन्न जिल्ला हुँदै राजधानी काठमाडौं प्रवेश गर्ने महत्वपूर्ण सडक नौबिसेदेखि नागढुङ्गासम्म अहिले सवारी चापका कारण लामो समय जाममा पर्ने गरेको छ । उकालो, घुम्ती र खाल्डाखुल्डीका कारणले पनि जाम मात्रै होइन् सडक दुर्घटनाको समेत जोखिम बढ्ने गर्छ ।
४२ महिनाभित्र सुरुङमार्गको काम सक्ने गरी सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलन्यास गर्दैछन् । चन्द्रागिरी नगरपालिका—१ को टोटेपाखादेखि धादिङको ढुनीबेंसी नगरपालिका—९ सिस्नेखोलासम्म पुग्ने सुरुङमार्ग अघि बढाइदैछ । जापनी कम्पनी हाज्मा एन्डो कर्पोरेसनले सुरुङमार्ग निर्माणको ठेक्का पाएको छ ।
२३ सेक्टेबर २०१९ मा उक्त कम्पनीसँग सरकारले ठेक्का सम्झौता गरेका हो । जापान अन्र्तराष्ट्रिय सहयोग नियोग(जाइका)को साढे १६ अर्ब सहुलियत ऋण र ६ अर्ब सरकारको गरी साढँ २२ अर्ब रुपैयाँमा सुरुङमार्ग आयोजना अघि बढेको हो ।
सुरुङमार्ग डिजाइन परामर्शदाता कम्पनी निप्पन कोइ लिमिटेड रहेको छ । नेपालका विभिन्न सडक र सुरुङमार्ग तोकिएको समयभित्रै सम्पन्न गरेकाले यो सुरुङमार्ग पनि निश्चित समयभित्र सम्पन्न गर्नेमा आयोजनाका कर्मचारी ढुक्क छन् ।
हाज्मा कम्पनीले बीपी राजमार्ग सहित कुलेखानी जलविद्युत् आयोजना, बनेपा—सिन्धुली सडक, सुर्यबिनायक—सिन्धुली सडक, कोटेश्वर—सुर्यविनायक सडक विस्तार गरिसकेको छ ।
आयोजना प्रमुख खरेलका अनुसार, सुरुङमार्ग निर्माण भएर सञ्चालनमा आएपछि सरकारले निश्चित ‘टोल्ड चार्ज’ लगाउन सक्नेछ । दुबैतर्फ सडक दस्तुर संरचना बनाइने भएको छ । सुरुङमार्ग निर्माण भएपछि नौबिसेदेखि नागढुंगाको सडकको प्रयोगमा कमी आउने छ । ‘हामीले निश्चित समयभित्रै सुरुङमार्गको पूर्वाधार बनाउने हो ।
सुरुङमार्ग बनेपछि सरकारले प्रयोग शुल्क भनेर लिन सक्छ ।’ उनले भने, ‘तर, अहिले नै कति शुल्क लिने भन्ने तय भएको छैन् । सरकारले शुल्क नलिन पनि सक्छ ।’ अहिलेको नागढुंगा सडकलाइ भने विस्तार र मर्मत गरी निशुल्क प्रयोगका रुपमा उपयोग गरिनेछ ।
१ घण्टाको दुरी १५ मिनेटमा छोटिने
सुरुङमार्ग बनेपछि अहिलेको नौबिसे—नागढुंगा सडकमा हुने जाम, जोखिम र समयसँगै यात्रा छोटिने आयोजना पक्षले दाबी गरेको छ । अहिले नौबिसेदेखि नागढुङ्गासम्म सबैखाले सवारी आइपुग्न ४५ मिनेटदेखि १ घण्टा लाग्छ । त्यो पनि, जाम र कुनै सवारी बीचमै नबिग्रेको खण्डमा ।
यता, सुरुङमार्ग बनेमा त्यो दुरी १० देखि १५ मिनेटमै छोटिने नागढुङ्गा सुरुङमार्ग आयोजनाका प्रमुख श्यामप्रसाद खरेलको भनाइ छ । अहिले साघुँरो सडक, उकालो, घुम्ती र खाल्डाखुल्डीले लामो समय जाम हुने विगतदेखिको नियति सुरुङमार्ग बनेपछि हट्ने उनको तर्क छ ।
कस्तो बन्दैछ सुरुङमार्ग?
झन्डै २.६८ किलोमिटर लम्बाइको आधुनिक डिजाइन र चिनियाँ मोडेलमा सुरुङमार्ग बनाइनेछ । सुरुङमार्ग बनाउन बिस्फोटक पदार्थको प्रयोग गरिनेछ । सुरुङमार्गको गोलाइ अर्थात परिधि साढे १० मिटरको बन्नेछ । अत्याधुनिक र उच्च गुणस्तरको सुरुङमार्गमा दुइओटा ‘फ्लाइओभर’ सहित बनाइनेछ भने, एक आकस्मिक÷उद्धार सुरुङमार्ग बन्नेछ ।
सुरुङमार्गभित्र दुई लेनको सडक हुनेछ भने दुबैतर्फ दायाँ बाँया पैदलयात्री हिड्न मिल्नेगरी पेटी बनाइनेछ । झन्डै २५ बर्ष सामान्य मर्मत सम्भारबाहेक सुरुङमार्ग अरु केही गर्नुपर्दैन् । सुरुङमार्गको औसत आयू ३० बर्षको हुने पूर्वाधारविज्ञहरुको भनाइ छ ।