काठमाडाैं। नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले बुधबार गिरीलाई संविधानको धारा १६८ को उपधारा २ बमोजिम नियुक्त गरेका हुन्।
एमालेसहित सात राजनीतिक दल र दुई स्वतन्त्र सांसदसहित ५८ जनाको समर्थनमा गिरी मुख्यमन्त्री बनेका हुन्। सरकार गठन गर्नका लागि सत्ता गठबन्धनले बुधबार दिउँसो प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेको थियो। एमाले, माओवादी केन्द्र, राप्रपा, जसपा, लोसपा, नागरिक उन्मुक्ति पार्टी र दुई स्वतन्त्र सांसदसहित ५८ जनाको हस्ताक्षरमा सरकार गठनको लागि दाबी पेस भएको थियो।
लुम्बिनी प्रदेशमा एमालेका २९, माओवादी केन्द्रका १०, राप्रपाका चार, जसपा, लोसपा र जनमतका तीन/तीन सिट छन्। नागरिक उन्मुक्तिसँग चार सिट र स्वतन्त्र दुई जना सांसद रहेका छन्। ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ सिट आवश्यक पर्छ।
प्रदेशमा कांग्रेसका २७, लोसपाका तीन र नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका एक/एक सदस्य छन्। गिरीले रुपन्देही क्षेत्र नम्बर २ (२) बाट प्रदेशसभामा विजयी भएका थिए। उनी यसअघि लुम्बिनी प्रदेशको वन तथा वातावरण र उद्योगमन्त्रीसमेत बनेका थिए।
सपथ कार्यक्रम भने पुस २८ गते बिहीबार लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा दिउँसो १ बजे हुने भएको छ।