काठमाडौं। सहरमा मानिसले खोजेको, रोजेको र चाहिएको समयमा कोठा, फ्ल्याट, होस्टेल आदि नपाउने समस्या उपत्यका बाहिरबाट आउने सबैको साझा समस्या हो।
सहरमा चाहेकाे जस्ताे कोठा, फ्ल्याट, होस्टेल नपाएर भौतारिएर हिँडेको हामी सबैले देखेकै छाैं। बसिरहेकाहरू पनि आफू बसेको स्थानमा सन्तुष्ट नहुँदा नहुँदै पनि अन्यत्र नपाएर तथा नपाउने डरमा सोही स्थानमा बसिरहनुपर्ने बाध्यता छ। बाहिरबाट सहरमा आएकाहरू बस्ने ठाउँदेखि फर्निचरको व्यवस्थापन गर्ने तथा एक ठाउँबाट अर्को ठाउँमा सार्ने सजिलो माध्यम नपाएर समस्यामा पर्ने गरेका छन्।
तर, यस्ता समस्याबाट छुटकारा दिलाउन ललितपुरका किशोर गर्तौलाले ‘जेटो होम्स’ नामक एक प्लेटफर्म तयार गरेका छन् जहाँ एउटै प्लेटफर्ममा कोठा, फ्ल्याट, होस्टेल आदि सहजै र सरल रूपमा आफ्नो आवश्यक्ता र चाहनाअनुसारको उपलब्ध हुन्छ।
गर्तौलाले हाल सञ्चालन गरिरहेको प्लेटफर्म अनलाइन हो जहाँबाट मानिसहरूले रोजेको बस्ने ठाउँ पाउनुको साथमा फर्निचर व्यवस्थापन गर्ने र एक ठाउँबाट अर्को ठाउँमा सर्नका लागि सामान सार्नेसम्मको सेवा सहज रुपमा पाउन सकिन्छ।
‘काठमाडौंमा भाडाका घरमा बस्नेहरूका लागि इको सिस्टमअन्तर्गत एपमार्फत कोठा सर्नु परेमा एपबाटै एक ठाउँबाट अर्काे ठाउँमा सर्ने भनेपछि गाडी उपलब्ध गराउने, फ्ल्याटमा बस्न मन हुने तर महँगो लाग्नेका लागि सेयरिङको व्यवस्था गर्ने सुविधा हामीले उपलब्ध गराउँदै आएका छौं,’ गर्तौलाले भने ‘काम गर्ने, पढ्ने, भरखरै काठमाडौंमा आएका व्यक्तिहरूलाई लक्ष्य गरेर उनीहरूलाई बस्ने, फर्निचरको व्यवस्थापन तथा रिपियरिङका काम गर्ने लगायतका सेवाहरू हामीले प्रदान गर्दै आएका छौं।’
उनकाअनुसार उनले तयार गरेको एपबाट आफूले चाहेको ठाउँमा कोठा तथा फ्ल्याट सार्न, घरमा गर्नुपर्ने रिपियरिङका काम गर्न सहजै सेवा प्राप्त गर्न सकिन्छ। यस्ता आवश्यक्ता परिपूर्तिका लागि खाना मगाएजस्तै सहजै मगाउन र पाउन सकिन्छ।
मानिसहरूले यात्रा गरिरहेको समयमा होटल तथा कोठा बुक गर्न सकिने यस प्लटफर्मले उनीहरूको यात्रा भर आरामको स्तर कायम राख्न गुणस्तरीय आवास विकल्पहरू प्रदान गर्ने उनको भनाइ छ। काठमाडौंमा बस्ने नागरिकका लागि गुणस्तरीय जीवन जिउने अवस्था सिर्जना गर्ने मुख्य लक्ष्यका साथ एउटै एपमा यी सेवाहरु उपलब्ध गराएको उनी बताउँछन्। उनले 'जेटो होम्स' नामक एपमार्फत यी सेवाहरु उपलब्ध गराउँदै आएका छन्।