नयाँ दिल्ली (भारत) । भारतको बहुराष्ट्रिय व्यापारिक घराना टाटा ग्रुप दक्षिण भारतमा रहेको आइफोन बनाउने कारखाना 'टेकओभर'को नजिक पुगेको छ ।
यो सम्झौता पूरा भएपछि भारतले आफ्नो पहिलो घरेलु आइफोन निर्माता पाउनेछ । टाटाले अहिले सो कम्पनीको मालिक ताइवानको विष्ट्रोन कर्पोरेसनसँग वार्ता गरिरहेको छ । यो वार्ता महिनौंदेखि जारी रहेको र मार्चको अन्त्यमा टेक ओभर सम्पन्न हुन सक्ने यस मामिलाबारे जानकार स्रोतले बताएको भन्दै ब्लुम्बर्गले समाचार छापेको छ ।
टाटाले विष्ट्रोनको सहयोगमा मुख्य म्यानुफ्याक्चरिङ सञ्चालन हेर्ने बताइएको छ । यो योजना सार्वजनिक नभएको भन्दै स्रोतको नाम गोप्य राखिएको छ । अमेरिकी कम्पनी एप्पलको लागि ताइवानी कम्पनीहरू विष्ट्रोन र फक्सकोन टेक्नोलोजी ग्रूप आदिले आइफोन एसेम्बल गर्ने गरेका छन् । टाटाले यो सम्झौता पूरा गर्यो भने विद्युतीय उपकरण बजारमा चीनको प्रभूत्व तोड्न् भारतको प्रयासलाई थप टेवा मिल्नेछ ।
हालैका वर्षमा दुई देशबीचको तनाव र कोभिडका कारण उत्पन्न अवरोधका कारण भारतमा चिनियाँ उपकरण निर्माता कम्पनीहरुको वर्चश्व केही घटेको छ ।मार्च ३१ सम्ममा टाटा इलेक्ट्रोनिक्सले सो कारखानाको स्वामित्व पाइसक्ने गरी प्रक्रिया अगाडि बढिरहेको बताइएको छ । यो टेकओभरसँगै कम्पनीले विष्ट्रोनले पाइरहेको सरकारी प्रोत्साहन समेत पाउने बताइएको छ ।
यो सम्झौताले विष्ट्रोनको भारतमा रहेको एउटा मात्रै आइफोन बनाउने कारखानाको मूल्याङ्कन ६० करोड डलरभन्दा धेरैको हुने बताइएको छ । तर यसका लागि कम्पनीले चालू आवमै सरकारी प्रोत्साहन पाउनका लागि केही शर्तहरू पूरा गर्नुपर्नेछ । यस विषयमा टाटा, विष्ट्रोन र एप्पल तीन ओटै कम्पनीले कुनै प्रतिक्रिया दिएका छैनन् ।
भारतमा विष्ट्रोटन र फक्सकोनको साथमा आइफोन बनाउने कारखाना हुने अर्को ताइवानी पेगाट्रोन कर्पोरेशन हो । विष्ट्रोनले मुनाफा कम भएको आइफोन उत्पादन व्यवसायलाई सर्भरलगायत अन्य क्षेत्रमा विविधिकृत गर्न खोजिरहेको छ । कम्पनीले सन् २०२० मा चीनमा प्रतिस्पर्धी कम्पनीलाई आफ्नो फोन व्यवसाय बेच्ने सहमति पनि गरेको थियो । विष्ट्रोन भारतमा आइफोन बनाउने व्यवसायबाट बाहिरिन थालेको भए पनि यसका अन्य ताइवानी प्रतिस्पर्धीहरुले भने यहाँ आफ्नो आइफोन उत्पादन लाइन विस्तार गरिरहेका छन् ।
हालैका वर्षमा चीनप्रतिको आफ्नो निर्भरता कम गर्न ताइवानी कम्पनीले भारतमा लगानी बढाइरहेको छ । कोभिडको महामारीबीच आइफोन बनाउन चीनप्रतिको कम्पनीको निर्भरता उसलाई निकै महँगो साबित भएको छ । चीनस्थित संसारको सबैभन्दा ठूलो आइफोन बनाउने कारखानामा कोभिड संक्रमण फैलिएपछि महामारीका कारण आपूर्ति शृङ्खलामा अर्को समस्या थपिएको थियो ।
यो सम्झौता सम्पन्न भयो भने टाटाले कम्पनीको आठ ओटै आइफोन लाइन पाउनेछ । साथमा कारखानामा रहेका १० हजार कर्मचारी पनि टाटाकै हुनेछन् । यो सम्झौता पछि विष्ट्रोन आइफोनका लागि सेपा साझेदारको रुपमा भने रहिरहनेछ ।
टाटा ग्रुपले नुनदेखि चिया अनि स्टिलदेखि गाडीसम्म सबै कुरा बनाइरहेको छ । यसले भारतमा विमान सेवा कम्पनी र स्टारबक्सको क्याफे पनि चलाइरहकेो छ । टाटा कन्सल्टेन्सी एशियाको सबैभन्दा ठूलो आइटी आउटसोर्सीङ कम्पनी हो । समूहले चिप उत्पादनमा पनि हात हाल्दैछ ।