काठमाडौं। नेपाल बैंकर्सको बुधबार (आज) बस्ने बैठकले ब्याजदर यथावत् राख्नेकि घटाउने भनेर निर्णय गर्ने भएको छ । साँझ ५ बजे डाकिएको बैंकठको कार्यसूचीमा बैंकको ब्याजदरको विषयमा छलफल हुने प्रस्ताव रहेको एक बैंकरले बताए ।
अहिले बैंकरहरूबीच दुई धार छ । एकथरी बैंकरहरू ब्याजदर केही घटाउनुपर्छ भन्ने लाइनमा छन् भने अर्काथरी बैंकरहरू भने वैश्विक र आन्तरिक परिस्थिति पनि अनुकूल नभएकाले तत्काल ब्याजदर घटाउनु हुँदैन भन्ने पक्षमा छन् ।
उनीहरुका अनुसार विश्वव्यापी मन्दीको असर नेपालमा पनि देखिने र ब्याजदर कम हुँदा फेरि आयातमा चाप पर्न गई बाह्य क्षेत्र समस्याग्रस्त हुने आकलन छ ।
केन्द्रीय बैंकले मौद्रिक नीतिको अर्थवार्षिक समीक्षामा पनि ब्याजदरका उपकरण चलाउने सम्भावना छैन। तर, उसले अनौपचारिक रुपमा बैंकरहरुलाई ब्याजदर घटाएर सकारात्मक माहोल सिर्जना गर्न निर्देशन दिएको बताइन्छ । तर, राष्ट्र बैंकका अधिकारीहरु भने परिस्थिति हेर्दा ब्याजदर घटाइहाल्ने स्थिति नरहेको बताउँछन् ।
ब्याजदर घटाउनेबित्तिकै त्यसको असर अर्थतन्त्रमा कस्ता पर्छ भन्ने अहिल्यै भन्न नसकिने अवस्था भएकाले केही समय पर्ख र हेरको अवस्थामा रहनुपर्छ भन्ने प्रमुख कार्यकारी अधिकृतहरु पनि छन् ।
तर, ब्याजदर केही न केही घटाउनुपर्ने दबाब गभर्नर महाप्रसाद अधिकारीमाथि छ । उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल र अर्थमन्त्री विष्णु पौडेलले ब्याजदरलाई केही कम गराएर लगानीकर्ताको मनोवल बढाउन भनेका छन् ।
स्रोतका अनुसार ५ बजे बस्ने बैठकले ब्याजदरका बारेमा निर्णय गर्छ । ‘घटाउने वा तत्कालका लागि यथावत् राख्नेमध्य एक निर्णय हुन्छ,’ ती बैंकरले भने, ‘सबै सिइओको धारणा सुनेपछि बैंकर्स संघले निर्णय गर्छ ।’
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदरबीचको औसत अन्तर (स्प्रेडदर) घटाइसकेको छ । बैंकहरूले कर्जामा चर्काे प्रिमियम असुलेको भन्दै निजी क्षेत्रले विरोध गरेपछि राष्ट्र बैंकले स्प्रेडदरमा कैंची चलाइसकेको हो । यसअघि बैंकहरूले ४.४ प्रतिशतसम्म स्प्रेडदर लिँदै आएका थिए ।
केन्द्रीय बैंकले तत्काल ब्याजदर बढ्न नदिन उपायहरु लगाएको देखिन्छ । बैंकरहरु पनि अहिलेको भन्दा बढी ब्याजदर बनाउन नहुने पक्षमा छन् । तर, केही सिइओहरु ब्याजदर घटाउने पक्षमा उभिएका छन् । बैंकर्स संघको बैठकमा सबैको निर्णय सुनेपछि आवश्यक निर्णय हुने छ ।
बैंकर्स संघको अध्यक्षमा सुनिल केसी
संघको अध्यक्षमा सुनील केसी निश्चित भएका छन्। पाँच बजेकाे बैठकले उनलाइ अध्यक्ष बनाउँदै छ । केसी अहिले संघको उपाध्यक्ष छन्। केसी एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत हुन् ।
अनिल उपाध्यायको कृषि विकास बैंकमा कार्यकाल सकिएपछि संघको नेतृत्व रिक्त भएको हो। संघको विधानले प्रमुख कार्यकारी अधिकृत नहुने बित्तिकै संघमा रहेको पद पनि जाने व्यवस्था गरेको छ।