काठमाडौं । नेपाल इन्भेष्टमेन्ट र मेगा बैंकको एकीकृत कारोबार सुरु भएको छ । दुवै बैंक मर्ज भएपछि नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट बुधबार कारोबार सुरु भएको हो । एकीकृत बैंककाेअध्यक्षमा पृथ्वीबहादुर पाँडे सर्वसम्मत चुनिएका छन् । बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा चयन गरेको हो ।
एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा अध्यक्ष पाँडेले इन्भेष्टमेन्ट बैंकको ३६ वर्ष र मेगा बैंकको १२ वर्षको अनुभवमा एकीकृत भएको बताए ।
पाँडेले तत्कालीन गभर्नर चिरञ्जीवी नेपाललाई बैंक धेरै भएकाले मर्जर गर्न आफूले सुझाव दिएको स्मरण गरे । ‘मलाई गभर्नरले सोध्नुभयो, पाँडेजी बैंक धेरै भए अब के गर्ने?,’ उनले भने, ‘मैले गभर्नर साहेब बैंक ३२ वटा छन् मर्जर गरौं भनेँ । उहाँले धेरै ठाउँमा त्यही भन्नुभएछ ।’
अर्थतन्त्र सानो भएको र बैंक धेरै भएकाले मर्जरमा जानुपर्ने सुझाव आफूले दिएको उनको भनाइ थियो । अहिले बैंक मर्जरकाे पहिलो चरण भएको भन्दै पाँडेले दोस्रो चरणमा बैंकको संख्या बढीमा ७/८ वटा मात्रै हुने दाबी गरे ।
उनले भारत, बंगलादेश, थाइल्यान्डलगायतका देशको जीडीपीको आकार र बैंकको संख्याको उदाहरण दिँदै नेपालमा बैंक धेरै भएको बताए । बैंक ठूलो भए डिपोजिटको पैसा सुरक्षित हुने उनको भनाइ थियो ।
अध्यक्ष पाँडे अब प्रविधिमा लगानी बढाउन आवश्यक रहेको धारणा राखे । अब नयाँ क्षेत्रमा लगानी गर्नुको बिकल्प नरहेको उनी बताउँछन् । मर्जसँगै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक मर्चेन्ट बैंकिङमा पहिलो हुने बताए ।
उनले आगामी दिनमा कर्मचारीलाई टिकाउन नसक्ने हो भने समस्या पर्ने बताए । अहिले कर्मचारी टिकाइ राख्न चुनौती रहेको उनको भनाइ छ । बैंकको चुक्ता पुँजी ३४ अर्ब १२ करोड हुने छ ।