काठमाडौं। बिस्तारै औद्योगिक उत्पादनले गति समाउन थालेका बेला नेपाल विद्युत् प्राधिकरणले विद्युत् काटिदिँदा उद्योगीहरु चिन्तित हुन थालेका छन्।
लामो समयदेखि अर्थतन्त्र संकटबाट गुज्रिएर विस्तारै लयमा फर्कन लागेसँगै औद्योगिक उत्पादनको माग आउन थालेको थियो। तर, त्यही बेला प्राधिकरणले बिजुली नदिँदा फेरि उद्योग बन्द गर्नुपरेको लक्ष्मी ग्रुपका निर्देशक निरञ्जन श्रेष्ठ बताउँछन्। प्राधिकरणले अघोषित रुपमा लोडसेडिङ सुरु गरेकाले उद्योगमा ताल्चा लगाउनु परेको छ। प्राधिकरणले बिहान ९ देखि ११ बजेसम्म र बेलुका ४ देखि ८ बजेसम्म बिजुली काटिरहेको छ।
अर्थतन्त्रको बाह्य क्षेत्रमा परेको दबाब विस्तारै कम हुँदै गएसँगै औद्योगिक उत्पादनको माग बढ्न थालेको थियो। केन्द्रीय बैंक र सरकारले आयात प्रतिबन्धलाई विस्तारै खुकुलो बनाउँदै लगेको र आर्थिक गतिविधि धिमा गतिमा बढिरहेका बेला प्राधिकरणले बिजुली कटौती गरिदिँदा गम्भीर समस्या पैदा भएको श्रेष्ठ बताउँछन् ।
दुई दिन अघिबाट प्राधिकरणले देशभरका औद्योगिक नगरीको अघोषित लोडसेडिङ सुरु गरेको छ। प्राधिकरणले बिहारको विद्युत् प्लान्ट मर्मतका लागि गएको भन्दै नेपालको औद्योगिक क्षेत्रमा विद्युत् आपूर्ति ठप्प बनाएको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतको बिहारको प्लान्ट मर्मत भइरहेकाले केही समस्या भएको र दुई÷तीन दिनभित्र समाधान हुने बताए । ‘नेपालमा बिजुली पर्याप्त भइरहेका बेला उद्योग नचलाउने ? अहिले समस्या आएका बेला रोइकराइ गर्ने ?’ उनले भने ।
तर, प्राधिकरणले देशैभर एकैसाथ लोडसेडिङ सुरु गरेको छ। बुटवल–भैरहवा, पोखरा, वीरगन्ज, विराटनगरमा एकसाथ औद्योगिक क्षेत्रमा लोडसेडिङ सुरु गरेको हो ।
बिहारको एउटा प्लान्टमा समस्या आउँदा देशभरका औद्योगिक क्षेत्रमा असर पर्ने हुन्छ,’ वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता भन्छन्, ‘एकतिरको औद्योगिक क्षेत्रमा मात्रै समस्या आएको भए प्राधिकरणको कुरा पत्याइन्थ्यो। देशभरका उद्योगमा एकैपटक लाइन काट्ने अनौपचारिक सूचना पठाइएको छ।’
‘सरकार आर्थिक गतिविधि बढाउन प्रयत्नशील छ। तर, प्राधिकरण आर्थिक गतिविधि ठप्प बनाएर आफ्नो नाफा बढाउन उधेलित देखिन्छ,’ गुप्ताले भने, ‘प्लान्ट मर्मत भइरहेको बहाना देखाएर देशभर लाइन काटिएको हो।’
उद्योगहरुमा नियमित बिजुली आपूर्ति हुन छाडेपछि निजी क्षेत्रले लोडसेडिङ तालिका सार्वजनिक गर्न प्राधिकरणसँग मागसमेत गरेको छ। अघोषित लोडसेडिङका कारण उद्योगहरू थप समस्यामा परेको भन्दै तालिका सार्वजनिक गर्नुपर्ने उद्योगी–व्यवसायीको माग छ।
‘विद्युतमा देखिएको ट्रिपिङ, न्यून भोल्टेजलगायत समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने, एकाएक विद्युत् आपूर्ति बन्द हुँदा करोडौं रुपैयाँ पर्ने मेसिनमा क्षति पुग्ने, उद्योग सञ्चालन नहुँदा कामदार र कर्मचारीको तलब, ज्याला बढ्नेलगायतका समस्या उत्पन्न हुन्छ,’ विराटनगरका व्यवसायी भीम घिमिरेले भने, ‘विद्यमान समस्याको तत्काल समाधानका लागि नियमित रुपमा भारतीय बजारबाट विद्युत् खरिद गरी उद्योगहरुलाई निर्बाध उपलब्ध गराउन वा त्यो सम्भव नभए उद्योगहरुमा विद्युत् कटौती हुने तालिका सार्वजनिक गर्न प्राधिकरणसमक्ष अनुरोध गर्दछौं ।’
अघोषित रूपमा भइरहेको लोडसेडिङका कारण आफूहरू थप समस्यामा परेको उद्योगीहरूको गुनासो छ । विद्युत् आपूर्ति नियमित हुन नसक्दा बुटवल–भैरहवा, बारा–पर्सा, सुनसरी–मोरङलगायत औद्योगिक करिडोरका उद्योग सञ्चालन गर्न नसकिएको निजी क्षेत्रले जनाएको छ। महँगोमा बिजुली किनेर सस्तोमा बेच्नुपरेपछि प्राधिकरणले निजी क्षेत्रलाई नदिँदा औद्योगिक उत्पादनमा समस्या पैदा भएको हो।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राविधिक समस्याका कारण विद्युत् कटौती गरेको स्वीकार गरे। बिहान र बेलुका लाइन काट्नेबित्तिकै व्यवसायीले रोइलो गर्न नहुने उनको भनाइ छ। ‘हामीसँग फालाफाल बिजुली हुँदा उद्योग बन्द गर्ने । अहिले बिजुली अभाव भएकाले बेला बिहान बेलुका नचलाउन भनेका हौं,’ घिसिङले भने ।
‘प्राधिकरणले बिजुली दिन्छु भनेर हामीसँग सम्झौता गरेको छ । उसको काम हामीलाई चाहिने जति बिजुली दिने हो । कुन बेला उद्योग चलाउने वा नचलाउने भन्ने कुरा प्राधिकरणले निर्धारण गर्ने होइन्’ वीरगन्जका व्यवसायीसमेत रहेका गुप्ताले भने, ‘आफू बिजुली पनि दिन नसक्ने, लोडसेडिङ तालिका पनि उपलब्ध गराउन नसक्ने, अझै पर्याप्त बिजुली भएका बेला उद्योग किन नचलाएको भनेर गैरजिम्मेवार प्रश्न गर्ने ?’