काठमाडौं। नेपाल धितोपत्र बोर्डले रिडी पावर कम्पनीका अध्यक्ष गुरू न्यौपानेसहित तीन ब्रोकर कम्पनी र केयर रेटिङ नेपाललाई कारबाही गर्ने भएको छ। निर्देशन विपरित रहेर काम गरेको भन्दै बोर्डले कारबाही गर्न लागेको हो।
बोर्डले रिडी पावर कम्पनीका अध्यक्ष गुरू न्यौपानेलाई सूचीकृत संगठित संस्थाको संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपरित धितोपत्रको कारोबार गरेकाे भेटाएपछि कारबाही सुरू गरेको जनाएको छ।
त्यसैगरी सनी सेक्युरीटिजले तोकिएको समयमा प्रतिवेदन पेस नगरेको, त्रिसुल सेक्युरिटिज र इम्पेरियल सेक्युरिटिजले त्रैमासिक आर्थिक प्रतिवेदन समयममा पेस नगरेको र केयर रेटिङ नेपालले क्रडिट रेटिङ नियमावली २०६८ उलंघन गरी रेटिङ गरेकाले कारबाही गर्न लागेको बोर्डले जनाएको छ।
बोर्डले रिडी पावर कम्पनीका अध्यक्ष गुरू न्यौपानेलाई सूचीकृत संगठित संस्थाको संस्थागत सुशासन सम्बन्धी निर्देशिका विपरित धितोपत्रको कारोबार गरेकाले धितोपत्र ऐन २०६३, दफा १०१ (७)अनुसार ७५ हजार रुपैयाँ जरिवाना गराउने भएको हो।
त्यसैगरी सनि सेक्युरिटिजलाई धितोपत्र ऐन २०६३, दफा ८२ (२) अनुसार १० हजार जरिवाना, त्रिसुल सेक्युरिटिज र इम्पेरियल सेक्युरिटिजले त्रैमासिक आर्थिक प्रतिवेदन समयममा पेस नगरेकाले १०/१० हजार जरिवाना गराउने भएको छ।
केयर रेटिङ नेपाललाई भने धितोपत्र ऐन २०६३, दफा १०१ (७) अनुसार हदैसम्मको कारवाहि किन नगर्ने भनी सफाइ पेस गर्न सूचीत गरिएको छ।बोर्डले यसअघि बोर्डको स्वीकृती नलिई शाखा विस्तार गर्ने ब्रोकर कम्पनीलाई कारबाही गरेको थियो। त्यस्तै गुरू न्यौपाने र ज्ञानेन्द्र लाल प्रधानले सञ्चालक भएको समयमा सेयर खरिद बिक्री गरेको भेटाएपछि कारवाहि अगाडि बढाएको छ।