काठमाडौं । एनआईसी एसिया बैंकले देशका विभिन्न स्थानमा १० वटा क्यास डिपोजिट मेसिन (सिडिएम) सञ्चालनमा ल्याएको छ । बैंकले काठमाडौंस्थित न्युरोड बिशाल बजार, कमलादी, खिचापोखरी, त्रिपुरेश्वर, रजिष्टर्ड अफिस थापाथली), रुपन्देहीस्थित बुटबल, कास्कीस्थित पोखरा महेन्द्रपुल, कैलालीस्थित धनगढी चौराहा, मोरङस्थित विराटनगर र पर्सास्थित वीरगञ्ज शाखामा क्यास डिपोजिट मेसिन (सिडिएम) सञ्चालनमा ल्याएको हो ।
क्यास डिपोजिट मेसिनबाट नगद जम्मा गर्न फारम नभरी केबल खाता र मोबाइल नम्बरका आधारमा सिधै आफ्नो तथा अन्य व्यक्तिको खातामा रकम जम्मा गर्न सकिने बैंकले जानकारी दिएको छ । यो मेसिनबाट यस बैंकको खातामा बैंकिङ समयभित्र नगद जम्मा गर्न सकिने व्यवस्था छ ।
खाता नम्बर र मोबाइल नम्बरको आधारमा नगद रकम जम्मा गर्न सकिने यस मेसिनमा ५ सय रूपैयाँ र १ हजार रूपैयाँ दरका नोटहरू गरी एक पटकमा अधिकतम ९९ हजार ५ सय र दैनिक अधिकतम ९ लाख ९९ हजार ५ सय रूपैयाँसम्म नगद जम्मा गर्न सकिने जनाइएको छ।
रकम जम्मा गर्ने प्रक्रियालाई अझ बढी सुरक्षित बनाउने बैंकको उद्देश्यअनुसार बचतकर्ताले साे मेसिनमा आफ्नो मोबाइल नम्बर उल्लेख गरेपछि निजको मोबाइलमा अस्थायी पासवर्ड कोड प्राप्त हुनेछ ।
बचतकर्ताले साे कोड क्यास डिपोजिट मेसिनमा उल्लेख गरेपछि मात्र क्यास डिपोजिटको काम अगाडि बढ्नेछ । साे मेसिनमा आफूले जम्मा गर्न चाहेको नगद रकम राखेपछि मेसिनले सो रकम गनेर खातामा तत्काल जम्मा गरिदिन्छ भने डिपोजिट भएको जानकारी एसएमएस र डिपोजिट स्लिपमार्फत प्राप्त हुनेछ ।
‘बैंकका कुनै पनि प्रतिनिधि उपस्थित नभइ छिटोछरितो रकम डिपोजिट गर्न सकिने यो नवीन प्रविधिमा आधारित मेसिनले आफै रकम गन्ने र नक्कली नोटहरू देखिएमा सो नोट छुट्याउनेसमेत गर्छ’, बैंकको भनाइ छ।
बैंकले देशका विभिन्न स्थानमा यी मेसिनहरू सञ्चालनमा ल्याएपछि नगद जम्मा गर्नकै लागि ग्राहकहरूलाई भौतिक फारम भरी बैंकको नगद काउन्टरमा लाइन लागेर लामो समय खर्च गर्नुपर्ने बाध्यताबाट मुक्ति मिल्ने बैंकले विश्वास लिएको छ । साथै, बैंकले निकट भविष्यमा यस सेवा देशका अन्य क्षेत्रमा पनि विस्तार योजना बनाएको छ ।
यस बैंकले मुलुकभर ३ सय ५९ शाखा कार्यालय, ४ सय ७३ एटीएम, १ सय ५ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखारहित शाखा सञ्जाल विस्तार गरेको छ ।