काठमाडौं। मुलुकमा ठूलो मात्रामा उत्पादन हुने गरेको विभिन्न फलफूल, तरकारी तथा अन्य कृषि सामग्रीको उचित प्रयोग हुन नसक्दा वा नजान्दा ती वस्तु नष्ट भएर खेर जाने गरेका छन्।
आर्थिक उपार्जनमा सहयोग गर्ने यस्ता सामग्रीहरु नै नष्ट भएर जाने र सोही आम्दानीका लागि विदेशीनुपर्ने बाध्यता पनि उत्तिकै छ। नेपालमा उत्पादन भएका कृषि सामग्री तथा काम नलाग्ने भनेर फाल्ने गरेका विभिन्न वस्तुको उचित उपयोग गर्न सकेमा त्यसबाट प्रशस्त आम्दानी गर्न सकिने आधारहरू प्रयाप्त छन्।
काभ्रेकी कमला लामाले यस्तै व्यवसाय गरेर मनग्य आम्दानी गरिरहेकी छन्। उनले यस व्यवसायमा हामीले काम नलाग्ने भनेर फालेका फलफूल तथा तरकारीको बोक्रादेखि उक्त तरकारी र फलफूलका बोटविरूवाका विभिन्न हिस्साको प्रयोग गरेर विभिन्न वस्तुहरू उत्पादन गर्छिन्।
‘मेरो बिजनेस आइडिया हो, सिजनेवल फलफूल (विशेष गरी लोकल) भोगटे, हलुवावेद, आरु, नास्पाती, जलबिरेजस्ता खेर गइरहेका फलफूलका बोक्रादेखि उक्त फलफूलका सबै भागको प्रयोग गरेर नयाँ प्रोडक्ट तयार गरी बजारीकरण गरेर आयआर्जन गर्ने हो’ उनले भनिन्।
उनले गाउँमा प्रयाप्त मात्रामा उत्पादन हुने तर बजार मूल्य नुहने फलफूल तथा तरकारीहरु (भोगटे, हलुवावेद) को बोक्रा तथा अन्य भागहरु खेर गइरहेको पाइन्। त्यसपछि उनले त्यस्ता वस्तुको प्रयोग गरेर भोगटे क्यान्डी, ड्राइ फ्रुट, जाम, अचारजस्ता वस्तु उत्पादन गर्ने सोचिन्।
सोही सोचबाट हाल उनले विभिन्न वस्तु उत्पादन गरेर बजारमा बिक्री वितरण गर्दै आएकी छन्। कमलाले गत ०७५ देखि नै ‘झ्यम्भल कृषि फर्म लघु उद्यम’ दर्ता गरेर उद्याेग सञ्चालनमा ल्याएकी हुन्। उनको कृषि फर्ममा स्थानीय रूपमा उत्पादन हुने फलफूलका जाम, अचार र क्यान्डीजस्ता विभिन्न वस्तु उत्पादन हुन्छ। उनले सबै उत्पादन घरमै गर्छिन्। जसका कारण स्वास्थ्यका दृष्टिकाेणले पनि स्वस्थकर मानिन्छ।
उनले अहिले दैनिक २० देखि २५ जनालाई रोजगारीसमेत दिइरहेकी छन्। यस उद्योगबाट दैनिक ५० हजार रूपैयाँ कारोबार हुने गरेकाे उनले बताइन्। काम नलाग्ने भनेर फालिने र प्रयोगमा नआएका वस्तुबाट यस्ता विभिन्न परिकार बनाउनु र बजारमा पुर्याउन आफूले धेरै मिहिनेत गरेको उनी बताउँछिन्।