काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्पका साथ आफूले प्रधानमन्त्रीको कार्यभार सम्हालेको बताएका छन् । प्रतिनिधिसभामा आज विश्वासको मत माग्ने क्रममा लिखित सम्बोधन गर्दै उनले प्रधानमन्त्रीका रूपमा आफूले निषेध, अपमान र प्रतिशोध होइन सहमति, सहकार्य र आपसी विश्वासको राजनीति अघि बढाउन चाहेको स्पष्ट पारेका छन् ।
उनले निषेध अपमान, प्रतिशोध नभई सहमति, सहकार्यको राजनीतिक संस्कार अगाडि बढाउन चाहेको स्पष्ट पारे । आत्मस्वीकारोक्ति र आत्मसमीक्षासहित उभिएको उल्लेख गर्दै उनले विगतका दुई पटकका अनुभवबाट यसपटक कुनै गल्ती गर्ने छुट नभएको स्पष्ट पारे।
प्रधानमन्त्री दाहालले यस पटक सिङ्गो देश एक ठाउँमा उभिएर विश्वलाई नै एकताको सन्देश दिन चाहेको उल्लेख गर्दै यो कार्यकालमा इमान्दार स्वीकारोक्तिसहित केही न केही गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले पहुँच होइन विधिको शासन शुरु गर्ने र ६० खर्ब रूपैयाँ बराबरको विकास खर्च जुटाउँदै राष्ट्रिय सहमतिका साथ शान्ति प्रक्रियाका केही बाँकी काम पूरा गर्न लागिपर्ने बताए ।
आफूले अगाडि बढाएको मध्यपहाडी लोकमार्ग, उत्तर दक्षिण करिडोर, ऊर्जा क्षेत्रको विकासमा खेलेको भूमिकाले आज देश अगाडि बढेको जानकारी दिए।
आगामी ६ महिनाभित्र नागरिकता प्रदान गर्ने तथा एक वर्षभित्र राष्ट्रिय परिचयपत्र प्रदान गर्ने, आर्थिक समृद्धिका लागि नीतिगत सुधार, न्यायपालिकाको सुधार र भ्रष्टाचारको अन्त्य गर्दै नागरिक प्रशासन सेवा प्रवाहमा सुधार ल्याउन एक दर्जन नयाँ ऐनको तर्जुमा र विद्यमान ऐनको सुधार गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।
उनले विकास निर्माणमा भएको बेथितीको अन्त्य गर्ने र तीन चरणमा काम गर्ने गरी वातावरण बनाउने विश्वास व्यक्त गरे।