एजेन्सी । भिडियो सेयरिङ एप टिकटकबाट चिनियाँ कम्पनी बाइटड्यान्सले पहिलो अर्धवार्षिकमा अपेक्षा गरिएको भन्दा राम्रो कमाई गर्न सफल भएको छ ।
६ महिनामा टिकटकले ८ अर्ब ४० करोड डलरसम्म नाफा कमाएको कम्पनीले समाचार संस्था रोयटर्सलाई जानकारी दिएको छ ।
टिकटकले पहिलो अर्धवार्षिकमा घाटा व्योहरे पनि जुनमा राम्रो नाफा भएको आर्थिक विवरण प्रकाशित गरेको थियो ।
दोस्रो अर्धवार्षिकमा कम्पनीले नाफा कमाउने विश्वास गरेको थियो । कम्पनीले हालसम्म आधिकारिक रुपमा नाफाको विवरण प्रकाशित गरेको छैन ।
बेईजिङ आधारित स्टार्टप कम्पनीको उत्साहजनक वृद्धिले २०१९ का लागि उसले लिएको १ खर्ब २० अर्ब युआनको लक्ष्य भेट्ने देखिएको छ । गत वर्षका लागि उसले १ खर्ब युआनको लक्ष्य तोकेको थियो ।
तर गत वर्षको आयको विवरण भने तत्काल उपलब्ध छैन । तर एउटा अनलाइन टेक न्युज आउटलेट, द इन्फर्मेसनको अनुसार २०१८ मा बाइटड्यान्सको कमाई ७.२ अर्ब डलर रहेको थियो ।
यस विषय बाइटड्यान्सले प्रतिक्रिया दिन अस्वीकार गरेको छ । सात वर्ष पुरानो स्टार्टअप कम्पनीका एक स्रोतका अनुसार गत वर्ष उक्त कम्पनीको भ्याल्युएसन ७८ अर्ब डलर थियो । उक्त कम्पनीले चिनियाँ न्यूज एग्रिगेटर जिनरी टाउटियाओ अर्थात्, आजको हेडलाइन र टिकटकको घरेलु भर्सन डाउयिन पनि स्वमित्व ग्रहण गरेको छ ।
कम्पनीको अधिकतम आय चीनभित्रबाट नै प्राप्त हुन्छ । उक्त विषयसँग जानकार एक स्रोत बताउँछन् । उनको अनुसार डाउयिनले विज्ञापनबाट पैसा कमाउँछ तर टिकटक भने आफै पनि पैसा कमाउने मामिलामा प्राथमिक चरणमा नै रहेको छ ।
विश्लेषकहरुले बाइटड्यान्स चिनियाँ टेक उद्योग तथा कम्पनीहरुका लागि बलियो खतरा भएको बताउँछन् । यसले विशेषगरी सामाजिक सञ्जाल तथा गेमिङ जाइन्ट एप टेन्सेन्ट तथा सर्च इन्जिन लिडर बाइडुलाई चुनौती थप गरेको विश्लेषकहरुको बुझाई छ । विश्वभरी बाइटड्यान्स एपको १.५ अर्ब मासिक सक्रिय प्रयोगकर्ता छन् । ७० करोड दैनिक प्रयोगकर्ता रहेको कम्पनीले बताएको छ ।
गत महिना बाइटड्यान्सले बाइडुसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्दै एउटा सर्च इन्जिन लन्च गरेको थियो । यसले विकिपेडियाजस्तै चिनियाँ भाषाको वेभसाइट बाइके डट कमको स्वामित्व लिएको थियो ।
चीन बाहिर पनि आफ्नो बजार बिस्तार गर्ने लक्ष्य लिएर बाइटड्यान्सले भर्खरै वर्क इफिसियन्सी एप लार्क सार्वजनिक गरेको छ । साथै यसले अहिले पेड म्युजिक स्ट्रिमिङ एप पनि लन्च गर्ने तयारी गर्दैछ ।