काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले भैरहवाका उद्योगमा दैनिक नौ घन्टासम्म विद्युतभार कटौती (लोडसेडिङ) सुरु गरेको छ। प्राधिकरणले भारतबाट बिजुली आयात गरेर स्वदेशी उद्योगको माग धान्नुको सट्टा अघोषित लोडसेडिङ गरेको हो। तै पनि प्राधिकरणले लोडसेडिङ हुने जानकारी उद्योगलाई गराएको छ।
विद्युत प्राधिकरणले मंगलबार बिहानदेखि लागू हुने गरी मौखिक जानकारी गराएको छ। भैरहवाका एक उद्योगीका अनुसार प्राधिकरणले बिहान ७ देखि ११ र बेलुका ५ देखि १० बजेसम्म लाइन प्रयोग नगर्न भनेको छ।
‘भारतीय बिजुली महँगो भएकाले अहिले किनेर तपाईंहरूलाई दिन सकिँदैन, प्राधिकरणको नाफामा पनि धक्का लाग्छ। त्यही भएर नाै घन्टा बिजुली खपत नगर्नुस् भनेर प्राधिकरणका कर्मचारीले फोन गरेर हामीलाई भने,' ती उद्याेगीले क्यापिटल नेपालसँग भने, ‘लामो सयमदेखि शिथिल औद्योगिक उत्पादनको माग बिस्तारै बढिरहेका बेला प्राधिकरणले बिजुली काटिदियो। अहिले जम्मा ६ घन्टामात्रै बिजुली दिन्छु भनेको छ।’
प्राधिकरणले दिएको तालिकाभित्र बिजुलीसमेत बाल्न निषेध गरेको छ। 'मेसिन चलाउन त रोक्यो रोक्यो, उज्यालोका लागिसमेत बिजुली प्रयोग नगर्न निर्देशन दिएको छ,' उनले गुनासाे गरे, 'यदि उद्योगले प्राधिकरणको निर्देशन अवज्ञा गरे सिस्टमबाटै लाइन काटिदिने धम्कीसमेत दिएको छ।'
उनका अनुसार अहिले डिजेलको मूल्य छोइनसक्नु गरी बढेको छ। डिजेलबाट जेनेरेटर चलाएर उत्पादन गर्दा लागत अचाक्ली बढ्छ।
'उत्पादन नगरौं बजारबाट छिटफुट माग आउन थालेको छ,’ उनले भने, ‘बिजुली नियमित आपूर्तिका लागि प्राधिकरणसँग हारगुहार गर्दा पनि हाम्रो कुरा सुनुवाइ भएन। बिहानदेखि उद्योगमा लाइन छैन।’
प्राधिकरणका कर्मचारीले उद्योगीलाई दुई महिनासम्म उद्योगले लोडसेडिङ बेहोर्नुपर्ने बताएका छन्। ‘तत्काल भारतीय बजारमा बिजुलीको मूल्य घट्ने छाटकाँट देखिँदैन्, त्यहाँ सस्तो नभइकन महँगोमा बिजुली आयात गरेर सस्तोमा बेच्न सकिँदैन,’ प्राधिकरणले उद्योगीलाई भनेकाे छ।
तर, प्राधिकरणले नेपालमै बढी उत्पादन भएका बेला ऊर्जा उत्पादकबाट नकिन्ने र हिउँदमा बिजुली उद्योगलाई नदिएर लोडसेडिङ गरेको उद्योगीले बताएका छन्।
अनियमित विद्युत आपूर्तिका कारण उद्योग सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै व्यवसायीले लोडसेडिङ तालिका उपलब्ध गराउन प्राधिकरणसँग माग गरेका छन्। यी क्षेत्रमा बढी विद्युत खपत गर्ने सिमेन्ट, स्टिललगायत ठूला उद्योग छन्। ती उद्योगमा डिजेल जेनेरेटरबाट उद्योग सञ्चालन असम्भव रहेको व्यवसायी बताउँछन्।
विद्युतमा देखिएका ट्रिपिङ, न्यून भोल्टेजलगायत समस्याबाट नियमित तालिकाअनुसार उद्योग सञ्चालन गर्न नसक्ने बेलामा एकाएक विद्युत् आपूर्ति बन्द हुँदा करोडौं रुपैयाँ पर्ने मेसिनमा क्षति पुग्ने, उद्योग सञ्चालन नहुँदा कामदार र कर्मचारीको तलब, ज्याला बढ्नेलगायत समस्या उत्पन्न हुने उद्योगी बताउँछन्।
लोडसेडिङ हुँदा बुटवल–भैरहवाका औद्योगिक करिडोरका उद्योग सञ्चालन गर्न नसकिएको निजी क्षेत्रले जनाएको छ। प्राधिकरणले अहिले भैरहवा औद्योगिक क्षेत्रमा विद्युत कटौती गरेको छ। यस्तै वीरगन्ज, हेटौंडा र विराटनगरलगायत अन्य क्षेत्रमा समेत लोडसेडिङ हुने सम्भावना छ।
विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले भारत बिहारको प्लान्ट मर्मत भइरहेकाले केही दिनका लागि आपूर्तिमा समस्या भएको बताए।
'बिहारको १ हजार ३ सय ६० मेगावाट उत्पादन क्षमता भएको थर्मल प्लान्ट, जहाँबाट भैरहवाका औद्योगिक क्षेत्रमा बिजुली आपूर्ति हुन्छ, त्यो प्लान्टको मर्मत भइरहेकाले समस्या उत्पन्न भएको हो,’ भट्टराइले भने, ‘भारतीय पक्षले दुई/तीन दिनभित्र मर्मत सकिने र विद्युत आपूर्ति नियमित गराउने भनेको छ।’
भारतले सोमबार बेलुका प्लान्ट मर्मत गर्नुपर्ने र केही दिनलाई विद्युत् आपूर्ति रोक्ने जानकारी गराएपछि उद्योगलाई नाै घन्टा बिजुली नचलाउन भनेको उनले बताए।
प्राधिकरणका अनुसार सोमबार विद्युतको अधिकतम माग १ हजार ५ सय ९९ मेगावाट छ। भारतबाट पिक आवरमा ३ सय १६ मेगावाटसम्म बिजुली आयात गरिएको छ।
प्राधिकरणले भारतबाट आयात गर्ने बिजुलीको मूल्य प्रतियुनिट अधिकतम १२ भारु (१९.२० रुपैयाँ) सम्म छ। भारतमा ८० प्रतिशत ऊर्जा उत्पादन कोइला प्लान्टबाट हुने गरेको छ। २० प्रतिशतमात्र जलविद्युत र नवीकरणीय ऊर्जाको हिस्सा छ। भारतले नेपाललाई कोइलाबाट उत्पादन हुने बिजुली बेचिरहेको छ।