काठमाडौं । सरकारले सडक यातायात, रेल, जलमार्ग र हवाइ सबै योजनालाई समेट्ने गरी एकीकृत राष्ट्रिय यातायात गुरु योजना तयार गर्ने भएको छ ।
सोमबार सिंहदरबारमा आफ्नो साझा न्युनतम कार्यक्रम सार्वजनिक गर्दै सरकारले एकीकृत राष्ट्रिय यातायात गुरु योजना तयार गर्ने विषय उल्लेख गरेको हो । सरकारले भयावह वनिरहेको सडक दुर्घटनाका कारणहरूको गहन अनुसन्धान गरी आवश्यक सुझाव दिन उच्चस्तरीय कार्यदल गठन गर्ने र राजमार्गहरूमा गुणस्तरीय खानपिनसहितको रेस्ट एरियाको प्रबन्ध गर्ने पनि उल्लेख गरेको छ ।
त्यस्तै यातायात र सडकलाई आर्थिक विकासका पूर्वाधार, आपूर्ति व्यवस्थाका मेरुदण्ड, नागरिकले पाउने सुविधा एवं समुदाय–समुदाय बीचको अन्तरसम्बन्धको माध्यमका रूपमा विकास गर्न हरेक जिल्ला सदरमुकामलाई रणनीतिक सडक सञ्जालमा जोड्ने पनि जनाएको छ ।
२ वर्षभित्र सवै पालिकाका केन्द्र जोड़ने पक्की सडक निर्माण गर्ने, निर्माणाधीन राष्ट्रिय राजमार्ग र रणनीतिक सडक ५ वर्षभित्र सम्पन्न गर्ने, भौगोलिक विकटताले सम्भव नभएका बाहेक आधा घण्टाभित्रको दूरीमा सवै गाउँवस्तीलाई सडकको पहुँचमा पुर्याउने पनि साझा न्यूनतम कार्यक्रममा उल्लेख छ ।
यातायात व्यवस्थापन प्राधिकरण गठन गरी समग्र यातायात व्यवस्थापनको सहजीकरण, अनुगमन र नियमन गर्ने गरी सार्वजनिक यातायात प्रणालीको विकास गर्ने, यातायात व्यवस्थापनमा डिजिटल प्रणाली लागू गर्ने, सम्भावित सवारी दुर्घटनास्थल र वारम्बार सवारी दुर्घटना भइरहेका सडकहरू पहिचान गरी त्यस्ता सडकहरूको प्राथमिकताका साथ मर्मत सुधार गर्ने र आवधिकरूपमा सवारी चालकको स्वास्थ्य परीक्षण गर्ने र सवारी साधनको मेकानिकल टेष्ट गर्ने व्यवस्थालाई अनिवार्य बनाउने पनि सरकारले आफ्नो कार्यक्रममा उल्लेख गरेको छ ।