काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रलाई लगानीमैत्री वातावरण नबनाएसम्म देशमा समृद्धि नआउने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित बैंक अफ काठमाण्डु र ग्लोबल आइएमई बैंकको एकीकृत कारोबारको उद्घाटन कार्यक्रममा अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।
‘सरकारले सरकारी खर्च बढाउनुपर्ने र मौद्रिक नीतिमा केही खतरा मोल्नुपर्ने अवस्था देखिन्छ,’ अध्यक्ष गोल्छाले भने, ‘जबसम्म निजी क्षेत्रलाई लगानी मैत्री वातावरण बनाइँदैन तबसम्म नेपालमा समृद्धि आउन सक्दैन ।’ उनले अहिलेको अवस्थामा निजी क्षेत्र निराश अवस्थामा रहेको बताउँदै निजी क्षेत्रको मनोवल उकास्ने विषयमा ध्यान दिएमा अर्थतन्त्रमा सुधार आउने बताए ।
अध्यक्ष गोल्छाले बैंक कुनै पनि अर्थतन्त्रको मेरुदण्ड रहेको बताउँदै बैंक बलियो भयो भने मात्र अर्थतन्त्रमा सरलता र स्थिरता आउने बताए । ‘उद्योग वाणिज्य महासंघले बैंकले नाफा कमाउनै पर्छ भन्ने मान्यता राख्दछ, बैंकले नाफा कमाएपछि जुन लगानी गर्न सक्छ त्यसबाट मात्रै देशको अर्थतन्त्र अगाडि बढ्न सक्छ,’ उनले भने, ‘आज बजारमा गाडी देखिरहेका छौं, ठूला–ठूला भवन देखिरहेका छौं, व्यवसाय बढेको छ यो सबै सरल बैंकिङ प्रणालीले मात्र सम्भव भएको हो ।’
उनले नेपालको आर्थिक परिदृश्यलाई हेर्दा चुनौतीको समय रहेको बताए । अहिले आएर राजस्व नाटकिय रुपले घट्नु, लाखौंले रोजगारी गुमाउनु, मुद्रा स्मृति पनि आठ देखि नौ प्रतिशत पुग्नु र तरताको अभावले व्यापारहरु संकुचन आउनु अर्थतन्त्रमा देखिएको चुनौतीको विषय भएको उनको भनाइ छ ।
हाल रेमिट्यान्स केही मात्रामा बढेको, तरलतामा पनि सुधार आएको र व्यापार व्यवसाय पनि झिनो रूपमा बढेकोले अर्थतन्त्र सुधारोन्मुख रहेको भन्न सक्ने अवस्था रहेको उनले बताए । निजी क्षेत्रको मनोवल भने गिरेहेका अवस्थामा रहेको उनले स्पष्ट पारे ।