काठमाडौं। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य लिटरमा २० रुपैयाँले कटौती गरेपछि आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडा घटाएका छन्। घटेको भाडा पुस २७ बाट लागू हुनेछ।
आगामी बुधबारबाट घट्ने हवाई भाडाले यात्रुलाई केही राहत पुग्ने छ। पुस २७ देखि काठमाडौंबाट सबैभन्दा नजिकको हवाई दुरीमा रहेको सिमरा जान प्रतियात्रु ४ हजार ६० रुपैयाँ र सबैभन्दा टाढा धनगढी जान १६ हजार १ सय ४० रुपैयाँ लाग्छ। यी सबै भाडा ‘नर्मल’ र करसहित हुन्।
सिमराका लागि १ सय ८० रुपैयाँ र धनगढीका लागि ८ सय ८५ रुपैयाँ भाडा कटौती भएको छ। भोलि मंगलबारसम्म भने सिमरा जान ४ हजार २ सय ४० र धनगढी जान १७ हजार २५ रुपैयाँ तिर्नुपर्छ।
वायुसेवा कम्पनीहरूको छाता संगठन वायुसेवा सञ्चालक संघका अनुसार बुधबारदेखि काठमाडौंबाट भद्रपुर जान प्रतियात्रु करसहित १२ हजार ३ सय ५५ रुपैयाँ, विराटनगर ९ हजार ७ सय २०, जनकपुर ५ हजार ६ सय, भरतपुर ४ हजार ७ सय ७५, पोखरा ६ हजार ६ सय ६५ र भैरहवा जान ८ हजार २ सय ६० रुपैयाँ लाग्ने छ।
त्यसैगरी काठमाडौैंबाट नेपालगन्ज जान १३ हजार ३ सय २५, तुम्लिङटार ७ हजार ८ सय ३५, सुर्खेत १४ हजार ३ सय ५ र राजविराज जान ८ हजार ३ सय ४४ रुपैयाँ तिरे पुग्ने छ।संघका अनुसार भद्रपुरका लागि ६ सय रुपैयाँ, विराटनगर ४ सय ८५, जनकपुर २ सय ६०, भरतपुर २ सय १५, पोखरा ३ सय २०, भैरहवा ४ सय १०, नेपालगन्ज ६ सय ५५, तुम्लिङटार ३ सय ७०, सुर्खेत ६ सय ९० र राजविराजका लागि ४ सय ११ रुपैयाँ कटौती भएको छ।
त्यसबाहेक ‘माउन्टेन फ्लाइट’ गर्न प्रतियात्रु करसहित १४ हजार २ सय ५ रुपैयाँ तिरे पुग्ने छ। भोलि मंगलबारसम्म भने १४ हजार ८ सय ९० रुपैयाँ तिर्नुपर्छ। यसमा ६ सय ८५ रुपैयाँ कटौती भएको छ।
भोलि मंगलबारसम्मका लागि भने भद्रपुर जान १२ हजार ९ सय ५५ रुपैयाँ, विराटनगर १० हजार २ सय ५, जनकपुर ५ हजार ८ सय ६०, भरतपुर ४ हजार ९ सय ९०, पोखरा ६ हजार ९ सय ८५, भैरहवा ८ हजार ६ सय ७५, नेपालगन्ज १३ हजार ९ सय ८०, तुम्लिङटार ८ हजार २ सय ५, सुर्खेत १४ हजार ९ सय ९५ र राजविराज जान ८ हजार ७ सय ५५ रुपैयाँ तिर्नुपर्छ।
आयल निगमले आन्तरिक हवाई इन्धन मूल्य हिजो आइतबार मध्यरातबाट लागू हुने गरी प्रतिलिटर २० रुपैयाँ कटौती गरेको थियो। लिटरको १ सय ९० रुपैयाँ रहेको आन्तरिक हवाई इन्धन अब १ सय ७० मा झरेको छ।
आन्तरिक वायुसेवा कम्पनी र सरकारबीच आन्तरिक हवाई इन्धनमा प्रतिलिटर चार रुपैयाँ घटबढ हुँदा हवाई भाडा सोहीअनुसार घटबढ गर्न पाउने सहमति छ।