काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब बैंकिङ क्षेत्रले वित्तीय साक्षरता तथा स्वरोजगारका क्षेत्रमा समेत योगदान गर्न आवश्यक रहेको बताएका छन् ।
बैंक अफ काठमाण्डु तथा ग्लोबल आइएमई बैंकको एकीकृत कारोबारको उद्घाटन समारोहमा सोमबार प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । ‘अब ठूलो परियोजनामा मात्र होइन, नवीनतम बैंकिङ तथा वित्तीय प्रणालीद्वारा आम जनताको वित्तीय क्षेत्रमा पहुँच, वित्तीय साक्षरता र स्वरोजगारका क्षेत्रमा समेत बैंकिङ क्षेत्रले योगदान गर्न जरुरी छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अहिले आएर वित्तीय सेवाहरूको विस्तारमा डिजिटल बैंकको अवधारणा भित्रिएको छ ।
यसको सही सदुपयोग गर्दै प्रत्येक समुदायलाई समान पहुँच पुग्ने गरी बैंकिङ प्रणाली विस्तार गर्न आवश्यक छ ।’ उनले मर्जरलगायतका क्रियाकलापपश्चात ठूला परियोजनामा स्रोत छुट्याउन सहज हुने र अझ बढी दक्षता वृद्धि हुने बताउँदै वित्तीय क्षेत्रमा कहिलेकाहीँ देखिने अस्वस्थ प्रतिस्पर्धा पनि मर्जर प्रक्रियाले हट्दै जाने अपेक्षा व्यक्त गरे । उनले बैंकहरूको यो प्रक्रियामा नागरिक र सेवाग्राहीको पहुँचमा भने ह्रास नआओस् भन्ने कुराको हेक्का राख्नुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री प्रचण्डले दुई बैंक मर्जर भई देशकै ठूलो बैंक बनाएको भन्दै बधाई ज्ञापन गरे । ‘बैंक अफ काठमाण्डु र ग्लोबल आइमएई बैंक मर्जको विषय राष्ट्रका लागि नै महत्वपूर्ण कदम हो,’ उनले भने, ‘यो मर्जर प्रक्रियाबाट देशले अझ बलियो गतिशिल बैंकिङ क्षेत्र प्राप्त गर्ने छ ।’
उनले बैंक मर्जर हुँदा गरिब र व्यवसायहरूको आवश्यक्ता पूरा गर्न अझ राम्रो वातावरण सिर्जना हुन सक्नेमा आशा व्यक्त गरे । देशमा रेमिट्यान्सको योगदान बढ्दै जाँदा रेमिट्यान्सको कारोबारलाई सुरक्षित गर्नका लागि पनि बैंक क्षेत्रको महत्वपूर्ण भूमिका रहने उनको भनाइ छ ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले संस्थाहरू धेरै मात्रामा हुँदा बजारमा अस्वस्थ प्रतिस्पर्धा हुने र अर्थतन्त्रले सही योगदान नपाउने अवस्था देखेर त्यसबाट बच्नका लागि राष्ट्र बैंकले मर्जरको नीति ल्याएको जानकारी दिए । ‘पछिल्लो एक दशकमा २ सय ४७ वटा संस्था मर्ज भइसकेका छन्,’ अधिकारीले भने, ‘ती २ सय ४७ संस्था मर्ज भएर ६८ मात्र कायम भएका छन् जसका कारणले वित्तीय मध्येस्तताको लागत घट्दै गएको छ ।’
उनले वित्तीय संस्थाहरू मर्ज हुँदा वित्तीय प्रणाली थप स्वस्थ, विश्वासिलो र सबल हुने जाउँदै अर्थतन्त्रमा थप बैंकिङ प्रणालीको योगदान पनि बढ्ने देखेर यो अवधारणा ल्याएको स्पष्ट पारे ।
त्यस्तै ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकालले ग्लोबल आइएमई र बैंक अफ काठमाण्डु एक आपासमा गाभिएर देशकै ठूलो वाणिज्य बैंक बन्दा नेपाल राष्ट्र बैंकको मर्जर नीतिमा अघि बढ्न सबैलाई प्रोत्साहन मिलेको बताए । यसअघि धेरै सूचकमा पहिलो नम्बरमा रहेको बैंक यो मर्जरपछि थप पहिलो नम्बरको बैंक बनेको भन्दै उनले खुसी व्यक्त गरे ।
यो बर्जरसहित गरेर हालसम्म पाँचवटा वाणिज्य बैंक, १० वटा विकास बैंक र ६ वटा फाइनान्स कम्पनी गरी कुल २१ वटा बैंक तथा वित्तीय संस्थाहरू मिलेर एकीकृत बैकका रूपमा कारोबार सुरु भएको उनको भनाइ छ ।
साथै बैंक अफ काठमाण्डुका अध्यक्ष प्रकाश श्रेष्ठले हाल मुलुकको आर्थिक अवस्था सुधारोन्मुख भएको जनाउँदै नयाँ सरकार आएपछि बैंकिङ क्षेत्र थप मजवुद हुने बताए । स्थानीय तहमा समते बैंकिङ क्षेत्रको सुरुवात भएकाले यस क्षेत्रप्रति आम जनताको विश्वास बढेर गएको उनको भनाइ छ ।
बैंकको पुँजीगत आधारलाई मजबुद गर्दै । क्षमता विकास गर्दै निक्षेप कर्ता, लगानीकर्ता तथा सरोकारवालाहरूले दीर्घकालीन हित संरक्षण गर्न प्रविधि तथा आधुनिक बैंकिङ प्रणाली अपाउन आवश्यक रहेको उनले स्पष्ट पारे ।