काठमाडौं। ठूलो 'बैंकिङ फ्रड' को आशंकापछि नेपाल राष्ट्र बैंकले चार ठूला वाणिज्य बैंकको फाइलमाथि थप अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई पठाएको छ।
केन्द्रीय बैंकको बैंक सुपरीवेक्षण विभागबाट बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले कमसल धितो राखेर कर्जा दिएको, आफैं सञ्चालक भएर घुमाउरो पारामा कर्जा लगेको, नक्कली कागजात खडा गरेर ठूलो रकम ऋण दिएको लगायत बैंकिङ फ्रड भेटिएपछि थप अनुसन्धानका लागि फाइल सिआइबी पठाइएको हो।
बैंक सञ्चालक र सिइओसम्मले सर्वसाधारणको बचतमाथि बदमासी गरेको राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागले फेला पारेको थियो। केन्द्रीय बैंकले एक चरण अनुसन्धान गरेर थप अनुसन्धान गर्न फाइल सिआइबीमा पठाएको त्यहाँका एक अधिकारीले जानकारी दिए।
‘केन्द्रीय बैंकबाट चारवटा फाइल सिआइबीमा थप अनुसन्धानका लागि आइपुगेका छन्,’ सिआइबीका एक अधिकृतले क्यापिटल नेपालसँग भने, ‘फाइलमाथि अनुसन्धान भइरहेकाले फाइल र बैंकको नाम भन्न मिल्दैन।’ अनुसन्धानपछि मात्रै सत्य बाहिर ल्याउने सिआइबीकाे तयारी छ।
सिआइबी स्रोतका अनुसार करिब ८ अर्ब रुपैयाँबराबर बैंकिङ फ्रड भएको भन्दै केन्द्रीय बैंकबाट फाइल आइपुगेको हो। चार बैंकका ६ वटा फाइलमाथि अनुसन्धान भइरहेको छ।
स्रोतका अनुसार बैंकका सिइओदेखि सञ्चालक समेतलाई पहिलो चरणमा बयान लिइसकिएको छ। अन्य प्रमाण पनि सिआइबीले जुटाइरहेको छ।
अर्काको नामको जग्गा धितो राखेर अर्कै व्यक्तिलाई ऋण दिएको र त्यसमा सिइओकै 'ठूलो हात' रहेको पनि अनुसन्धानबाट खुलेको छ।
सम्बद्ध स्राेतका अनुसार आफूनिकट व्यापारीलाई पनि बिनाधितो ९५ करोड रुपैयाँसम्म ऋण दिएको पनि फेला परेकाे छ। कतिपय फाइलमा ७ करोडको धितो राखेर ९७ करोड रुपैयाँसम्म ऋण प्रवाह गरेको देखिन्छ। बिनाधितो एक टेलिकम कम्पनीलाई ठूलो रकम ऋण दिएको फेला परेको हाे।
‘अहिले चारवटै बैंकका जिम्मेवार व्यक्तिलाई बोलाएर सोधपुछ गरेका छौ,’ ती अधिकारीले भने, ‘प्रारम्भिक चरणमै अध्ययन भइरहेकाले के हुन्छ, अहिले नै भन्न सकिन्न।’
सिआइबीमा उत्तम सुवेदी प्रमुख भएलगत्तै बिस्तारै वित्तीय अपराध गर्नेमाथि कारबाही सुरु हुन थालेको छ। केही दिन अघिमात्रै वित्तीय अपराध गरेको आरोपमा अछामका पृथ्वीबहादुर शाहसहित ६ जनालाई सिआइबीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।
अमेरिकी नागरिकलाई ठगेर उनीहरूले ठूलो रकम बैंकिङ च्यानलमार्फत भित्र्याउन खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे छ।