तनहुँ । तनहुँका ४२ हजार ७ सय ५५ घरधुरी स्वास्थ्य बिमामा आबद्ध भएका छन् । स्वास्थ्य बिमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका १ लाख ७ हजार ७ सय २५ स्वास्थ्य बिमाबाट लाभान्वित भएका छन् ।
सरकारले नागरिकको स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य बिमा बोर्डको गठन गरेको थियो । उक्त बोर्डमार्फत घर परिवारलाई बिमामा आबद्ध गरी सोहीमार्फत १ लाख रुपैयाँसम्मको उपचार निःशुल्क हुँदै आएको छ ।
जिल्लामा पहिलो वर्ष ८ हजार ७ सय ५१, दोस्रो वर्ष ९ हजार ४३, तेस्रो वर्ष १७ हजार ३ सय ८९, चौथो वर्ष ७ हजार ५ सय ७२ र चालू आर्थिक वर्षमा २ हजार २ सय ११ घर परिवार स्वास्थ्य बिमामा आबद्ध भएको कार्यालयकी दर्ता अधिकारी सिर्जना बताए ।
आव २०७४/०७५ बाट लागू भएको उक्त कार्यक्रमअन्तर्गत पाँच जनासम्मको सदस्य भएका परिवारले वार्षिक ३ हजार ५ सय बुझाएर बिमामा आबद्ध हुन सकिन्छ । पाँच जनाभन्दा बढी सदस्य भएमा प्रतिसदस्य थप रु सात सय भुक्तानी गर्नुपर्ने प्रावधान छ ।
सरकारले विपन्न नागरिकको निःशुल्क उपचार तथा औषधिको व्यवस्थाका लागि स्वास्थ्य बिमाको अवधारणा ल्याएको थियो तर स्वास्थ्य बिमा गर्नेलाई उपचार प्रभावकारी नभएको तथा औषधि पनि पर्याप्त नपाइने गुनासो आउने गरेको छ ।
तनहुँमा दमौली अस्पताल, बन्दीपुर अस्पताल, भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र र जिपी कोइराला स्वासप्रश्वास उपचार केन्द्रमा स्वास्थ्य बीमाको सेवा लिन सकिने व्यवस्था गरिएको छ ।
वैशाख, जेठ र असार महिनामा दर्ता गर्ने सर्वसाधारणले भदौ १, साउन, भदौ र असोजमा दर्ता गर्ने सर्वसाधारणले मंसिर १ गते, कात्तिक मंसिर र पुसमा दर्ता गर्ने सर्वसाधारणले फागुन १ गते र माघ, फागुन र चैतमा दर्ता गर्ने सर्वसाधारणले जेठ १ गतेबाट सेवा प्राप्त गर्न सक्नेछन् ।