काठमाडौं । बैंक अफ काठमाण्डु (बिओके) लाई आफूमा समाहित गरेपछि सोमबारदेखि ग्लोबल आइएमई देशकै ठूलो वाणिज्य बैंक बनेको छ । चुक्ता पुँजी,निक्षेप परिचालन, कर्जा लगानी, नाफा, ग्राहक संख्या र कुल पुँजीका आधारमा ग्लोबल आइएमई देशकै सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको हो । ग्लोबल आइएमई र बिओकेले सोमबारदेखि एकीकृत बैंकिङ कारोबार सुरु गरेका छन् ।
एकीकृत बैंकको कुल सम्पत्ति बढेर ५ खर्ब ५ अर्ब, चुक्ता पुँजी ३५ अर्ब ७७ करोड, कुल पुँजी ५७ अर्ब, निक्षेप परिचालन ४ खर्ब १२ अर्ब, कुल ऋण लगानी ३ खर्ब ७७ अर्ब, ग्राहक संख्या ४० लाखभन्दा बढी र मुलुकभित्र र बाहिर गरी कुल सेवाग्राही केन्द्र १ हजार १ सयभन्दा बढी छन् । बिओकेलाई मर्ज गरेपछि बैंकको बजार हिस्सा पनि बढेको छ ।
नेपाल राष्ट्र बैंकले लिएको एकआपसमा गाभिने (मर्जर) र प्राप्ति (एक्वायर) नीतिलाई पूर्ण सहयोग ग्लोबल आइएमई बैंकले गरेको छ ।
२०६३ पुस १८ गतेदेखि वित्तीय कारोबार गर्दै आएको छ । सुरुमा ग्लोबल बैंकको नाममा कारोबार गरेकोमा पछि आइएमई फाइनान्सियल इन्स्टिच्युसन लिमिटेडलाई समाहित गर्दा ग्लोबल आइएमई बैंक बनेको हो ।
‘मर्जर किङ’ चन्द्र ढकाल
बैंक तथा वित्तीय क्षेत्रमा ‘मर्जर किङ’ को उपमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले पाएका छन् । ढकालले बिओकेसँगको मर्जरसमेत गरी ५ वटा वाणिज्य बैंक र २१ वटा वित्तीय संस्थाहरु एउटै बनाएका छन् ।
व्यवसायी ढकालले मर्ज र प्राप्ति नीति अवलम्बन गरेर बैंकलाई आज ठूलो बनाएका हुन् । राष्ट्र बैंकले २०७२ सालमा मर्जर नीति लिनु अगावै उनले बैंक तथा वित्तीय संस्थालाई समाहित गरेर ग्लोबललाई ठूलो बैंक बनाउन लागिसकेका थिए । २०६९ असार २५ गते अध्यक्ष ढकालले दुईवटा वित्तीय संस्थालाई ग्लोबलमा गाभे ।
ढकालले आफ्नै लगानी भएको आइएमई फाइनान्सियल इन्स्टिच्युसन र लर्डबुद्ध फाइनान्सियल इन्स्टिच्युसनलाई मर्ज गराएका थिए । यो नै ग्लोबलको पहिलो मर्जर थियो । मर्जपछि बैंकको चुक्तापुँजी बढेर २ अर्ब १८ करोड ४८ लाख रुपैयाँ पुगेको थियो ।
यसैगरी २०७० असार ३० गते ग्लोबल आइएमईले सोसियल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंकलाई गाभ्यो । यसपछि बैंकको चुक्तापुँजी बढेर २ अर्ब ४१ करोड ८१ लाख रुपैयाँ पुग्यो । २०७० चैत २६ गते कमर्ज एन्ड ट्रस्ट बैंकलाई गाभेको थियो । बैंकलाई गाभेपछि चुक्ता पुँजी बढेर ४ अर्ब १० करोड ६८ लाख रुपैयाँ पुगेको थियो ।
ग्लोबल आइएमईले २०७३ फागुन १ गते प्यासेफिक डेभलपमेन्ट बैंकलाई गाभेको थियो । २०७४ असार २५ गते रिलायबल डेभलपमेन्ट बैंक, २०७६ भदौ १८ गते हाथवे फाइनान्स र २०७६ मंसिर २० गते जनता बैंकलाई गाभेको थियो ।
ग्लोबल आईएमईमा समाहित भएको रिलायबल डेभलपमेन्ट बैंकले कन्जुमर डेभलपमेन्ट बैंक र शुभलक्ष्मी विकास बैंकलाई गाभेको थियो ।
यस्तै ग्लोबलसँग मर्ज हुनुअघि जनता बैंकले आधादर्जन बैंक तथा वित्तीय संस्थालाई मर्ज गरेको थियो ।
जनताले त्रिवेणी विकास बैंक, ब्राइट डेभलपमेन्ट बैंक, पब्लिक डेभलपमेन्ट बैंक, सिद्धार्थ डेभलपमेन्ट बैंक, एकता डेभलपमेन्ट बैंक र नेपाल आवास फाइनान्स लिमिटेडलाई समाहित गरेको थियो ।
तत्कालीन गभर्नर डा. चिरन्जिवी नेपालले बैंक तथा वित्तीय संस्थाको संख्या घटाउन मर्जर र प्राप्तिको नीति लिएपछि ढकालले ‘बिग मर्जर’ गराएर सफल बनाए । २०७२ सालको मौद्रिक नीतिबाट केन्द्रीय बैंकले वाणिज्य बैंकको चुक्ता पुँजी बढाएर न्यूनतम ८ अर्ब, राष्ट्रिय स्तरको विकास बैंकको २ अर्ब ५० करोड र वित्त कम्पनीको ८० करोड रुपैयाँ पुर्याएको थियो ।
त्यसबेला मर्जरमा जानलाई केन्द्रीय बैंकले घुमाउरो बाटोबाट दबाब दिएको थियो । तर, अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले बोनस सेयर वितरण, हकप्रद सेयर निष्कासन र साना वित्तीय संस्थालाई एक्वायर गरेर न्यूनतम चुक्ता पुँजी पुर्याएका थिए ।
तर, ग्लोबल आइएमईले मर्ज र प्राप्तिबाटै चुक्तापुँजी बढाएको छ । ढकालले धेरै बैंक तथा वित्तीय संस्थालाई मर्जर र प्राप्ति प्रक्रियामा सामेल गराएर आज पुँजीगत रूपमा ग्लोबल आइएमईलाई देशकै ठूलो वाणिज्य बैंक बनाए । यस अर्थमा उनी मर्जर किङ हुन् । चुक्ता पुँजीमा मात्र होइन मर्ज र प्राप्तिमा पनि ग्लोबल आइएमई अग्रपंक्तिमा छ ।
ग्लोबल बैंक दर्ता हुँदा ५१ करोड रुपैयाँ चुक्ता पुँजी थियो । त्यसपछि संस्थापकबाट फर्दर कल गरेर १९ करोड थप भई ७० करोड रुपैयाँ पुग्यो। आर्थिक वर्ष ०६५/०६६ मा ३० प्रतिशत प्राथमिक सेयर (आइपिओ) निष्कासनपछि बैंकको चुक्ता पुँजी बढेर १ अर्ब रुपैयाँ पुग्यो ।
आर्थिक वर्ष ०६६/०६७ मा २ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासनपछि बैैंकको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ पुगेको थियो ।