काठमाडौं। नेपाली जुत्ता उत्पादक व्यवसायीहरूको संगठन फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालको आयोजनामा १६औं अन्तर्राष्ट्रिय फुटवेयर औद्योगिक प्रदर्शनी २०७९ सम्पन्न भएको छ।
जुत्ता उत्पादन, बजारीकरण, प्रवर्द्धनका अनेकन समस्याबीच स्वेदशी उत्पादनबारे जानकारी दिने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको फुटवेयर म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अध्यक्ष नानीराज घिमिरे बताउँछन्।
कोभिडका कारण गत तीन वर्ष प्रदर्शनी गर्न नपाइएको भन्दै यस वर्ष ग्राहकका साथै उद्योगी र उपभोक्ताको बीचमा पुलको काम गर्ने व्यवसायीलाई लक्षित गरिएको अध्यक्ष घिमिरेले बताए। १६ करोड जोरसम्म वार्षिकरूपमा उत्पादन गर्ने नेपाली कम्पनीको क्षमता रहेको उल्लेख गर्दै उनले तीन हजार रूपैयाँसम्मका जुत्ता विदेशबाट आयातमा रोक लगाउनुपर्नेमा जोड दिए।
दस करोड जुत्ता नेपाली बजारको माग रहेको बताउँदै अध्यक्ष घिमिरेले गत वर्ष पाँच करोड ६५ लाख नेपाली जुत्ता बिक्री भएको जानकारी दिए। गत वर्ष विदेशबाट चार करोड बढी र यो वर्ष दुई करोड जोर जुत्ता चोरी तस्करी र वैधानिक तरिकाले नेपाल भित्रिएको उनको भनाइ छ। चोरी तस्करीबाट जुत्ता भित्रिँदा त्यसको असर नेपाली उत्पादनमा पर्ने गर्छ। अहिले नेपाली बजारमा नेपालमै उत्पादन भएका ६५ प्रतिशत जुत्ता प्रयोग भइरहेको छ।
'अहिलेसम्म ४० देखि ४५ प्रतिशत नेपाली कच्चापदार्थ नेपाली जुत्ता उत्पादनमा प्रयोग हुने गरेको छ, राज्यले सहयोग गरे ७० देखि ८० प्रतिशत नेपालमा उत्पादन भएका कच्चापदार्थ प्रयोग गर्न सकिन्छ,' उनले भने। सरकारले उद्योग र वाणिज्यलाई फरक किसिमले हेरिदिनुपर्ने भन्दै घिमिरेले दक्ष तालिमको व्यवस्था गरी चोरी–पैठारी सरकारले नियन्त्रण गर्नुपर्ने बताए।
विश्वभरको आर्थिक संकटको असर जुत्ता व्यवसायीहरूलाई पनि परेकोे छ। अहिले जुत्ता बनाउन प्रयोग हुने कच्चापदार्थ नेपालमा पनि उत्पादन हुन थालेको पवित्रा सुज इन्डष्ट्रिज प्रालिका सेल्स अफिसर डम्बर श्रेष्ठले बताए।
जुत्ता तयार गर्न नेपालमा उपलब्ध भएका छाला, रेग्जिन र कपडा प्रयोग हुँदै आएको छ। तर फेन्सी चप्पल र जुत्ताका लागि भने चीन र भारतबाट कच्चापदार्थ ल्याउन पर्दा खर्च दोब्बर लाग्ने गर्छ। सोलमा प्रयोग हुने रबर, सिलिकन सोल, रबरको सोल, नरम खालको कपडा जुत्ता चप्पलमा प्रयोग गरिन्छ। उनका अनुसार चीनबाट ल्याउने कच्चापदार्थमा धेरै ‘भेरियन्ट’ हुन्छ।
जुत्ता चप्पल हेर्दा उस्तै देखिए पनि कच्चापदार्थको गुणस्तरअनुसार मूल्य फरक पर्ने दाबी गर्दै उनले सस्तो र राम्रोका लागि चीनका कच्चापदार्थ प्रयोग गरेका सामान बढी बिक्री हुने बताए। केही सोल नेपालमै उत्पादन भए पनि चुजी ब्रान्डहरूका लागि भने ग्राहकहरूले बाहिरको उत्पादन खोज्ने गरेका छन् । तर सामान्य उपभोक्ताहरूलाई भने कोरोना महामारीपछि नेपाली ब्रान्ड नै उपयुक्त लाग्न थालेको छ ।
पछिल्लो समय ग्राहकहरूले नेपाली ब्रान्डकै जुत्ता खोज्ने गरेको भन्दै बजारमा उपलब्ध भएका ७० प्रतिशत बढी जुत्ता नेपाली उत्पादनकै बिक्री हुन थालेको उनको जिकिर छ। पहिलाको हिसाबले बिक्री बढी भए पनि नाफा भने कम बस्ने व्यवसायीहरूको भनाइ छ। उत्पादन बढी हुँदा बजारमा प्रतिस्पर्धा हुने गर्दा धेरै बिक्री हुँदा पनि मार्जिन कम बस्छ।
पछिल्लो समय ग्राहकहरूले नेपाली ब्रान्ड खोज्न थालेको मोडर्न सुज प्रालिका सेल्स अफिसर प्रभाषकुमार महतोले बताए। नेपाली उत्पादन भएका सामानमा पुनः मर्मत गर्नुपर्ने समस्या निकै कम आउने उनको दाबी छ।
गोल्डस्टार जुत्ताका सेल्स प्रमुख उद्धव सिटौलाले कोरोना महामारीपछि नेपाली ग्राहकहरूले नेपालमै उत्पादन भएको सामानप्रति झुकाव बढाएको जिकिर गरे। ग्राहकको झुकाव देखेर आफ्नै देशको उत्पादनमा लाग्न प्रेरणा मिलेको उनको भनाइ छ।
आफ्नो कम्पनीले नेपालमा उत्पादन भएका कच्चापदार्थमा जोड दिने गरेको उल्लेख गर्दै कच्चापदार्थ चीन, भारत र ताइवानबाट ल्याउने सुनाए। नेपालको भन्दा गुणस्तरका लागि विदेशी कच्चापदार्थ नै राम्रो मानिन्छ। नेपालमा मुख्य कच्चापदार्थ नपाइने व्यवसायीहरूको गुनासो छ।
सिटौलाका अनुसार नेपालमा ४५ प्रतिशत जुत्ता बन्ने भए पनि बाहिरबाट ४५ प्रतिशत जुत्ता आयात हुने गर्छ। कच्चापदार्थको उत्पादन बढाउन सरकारले रूचि बढाउनुपर्ने भन्दै उनले जुत्ता आयातमा सरकारले नीति परिवर्तन गर्नुपर्ने बताए। एक हजारदेखि १४ हजारसम्मका नेपालमा बनेका गोल्डस्टारका जुत्ता नेपालमा पाइन्छन्।
रोयल फुटवेयर इन्डस्ट्रिज प्रालिका सेल्स अफिसर सन्तोष पौडेलले जुत्ता बनाउन आवश्यक पर्नेमध्ये फाइबर, पिभिसी सोलहरू नेपालमा उत्पादन हुन थालेको सुनाए। जुत्ता बनाउन सोल, केमिकल डेन्ड्राइड, पियु र सोल पेस्टिङ, लाछी, धागो, सियो, कपडा आदि आवश्यक पर्छ। ग्राहकहरूले खोजिरहेको जस्तो डिजाइन बनाउन नसकेको व्यवसायीहरूको भनाइ छ।
पौडेलका अनुसार पहाडी र शहरी क्षेत्रमा बिक्री गरिने सामानमा फरक कच्चा पदार्थ प्रयोग गरिन्छ। गोल्डस्टारले रु एक हजार देखि ११ हजारसम्मका जुत्ता महिला, बालबालिका, पुरुष सबैका लागि उत्पादन गर्दै आएको छ। विदेशी ब्रान्ड हेर्दा राम्रो भए पनि जुत्ताको गुणस्तर बलियो भने नेपाली उत्पादन नै हुने उनको दाबी छ। रासस