काठमाडौं। आठ महिना लामो आयात प्रतिबन्ध फुकुवा भएपछि पनि सरकारसँग रुष्ट देखिएका अटोमोबाइल (गाडी) व्यवसायी नयाँ सरकार आउनासाथ एकाएक आन्दोलका कार्यक्रम स्थगित गरेर भेटघाट र लबिङमा व्यस्त हुन थालेका छन्।
सरकारले विदेशी मुद्रा सञ्चितिमा समस्या आएको भन्दै गत वैशाख १३ देखि पुस १ सम्म सवारीसाधन आयातमा प्रतिबन्ध लगाएको थियो। पटक–पटक आन्दोलन र सरकारलाई ध्यानाकर्षण गराउँदै आएका अटोमोबाइल व्यवसायीले आयात खुले पनि व्यापार गर्ने वातावरण नभएको भन्दै आन्दोलनका कार्यक्रम जारी राखेका थिए।
तर, नयाँ सरकार गठनसँगै अर्थमन्त्रीमा नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेल आएपछि आन्दोलन स्थगित गरेर व्यवसायी भेटघाट र लबिङमा व्यस्त हुन थालेका हुन्।
आयात प्रतिबन्ध फुकुवाको मागका साथमा अन्य माग राख्दै गाडी आयातकर्ता तथा व्यवसायीहरूको छाता संगठन नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले गत मंसिर २२ सम्म पहिलोे चरणको आन्दोलन गरेको थियो।
त्यसपछि तत्कालीन मन्त्रिपरिषदले पुस १ बाट गाडी आयातमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको थियो। तर, व्यवसायीले आयात खोल्नु स्वागतयोग्य भए पनि व्यवसाय गर्ने वातावरण नभएको भन्दै दोस्रो चरणको आन्दोलको घोषणा गरेका थिए।
बैंकको ब्याजदर उच्च भएको, राष्ट्र बैंकले ल्याएको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन सुधार गर्नुपर्ने, सवारीसाधन कर्जामा कायम गरिएको जोखिम भार र प्रतितपत्र (एलसी) खोल्नुअघि नै आयातका लागि मार्जिन राख्नुपर्ने लगायत माग राख्दै नाडाका अध्यक्ष ध्रुव थापाको अध्यक्षतामा पुस ८ र ९ मा सम्पन्न अटोमोबाइल व्यवसायीहरुको वृहत भेला तथा केन्द्रीय कार्यसमिति बैठकले दोस्रो चरणको आन्दोलनमा जाने निर्णय गरेको थियो। तर, हाल अटोमोबाइल व्यवसायी ‘पर्ख र हेर’ को अवस्थामा छन्।
नयाँ सरकारलाई एक महिना समय: नाडा अध्यक्ष थापा
नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापा नयाँ सरकार भर्खरै गठन भएको र समस्या समाधान गर्छौं भन्ने वचन दिएका कारण आफूहरू पर्ख र हेरको अवस्थामा रहेको बताउँछन्।
भर्खरै अर्थमन्त्रीसँग भेटवार्ता गरेर आफ्ना समस्या राखेको र अर्थमन्त्रीले समस्या समाधानका लागि सरकार सकारात्मक रहेको बताएपछि नयाँ सरकारलाई केही समय हेरौं भनेर आन्दोलनमा नगएको उनको भनाइ छ।
‘हाम्रा समस्या समाधानको बाटोमा लैजान्छु भनेर अर्थमन्त्रीले भन्नुभएको छ। तर, अहिलेसम्म केही भएको चाहिँ छैन,’ थापाले क्यापिटल नेपालसँग भने, ‘हामी अहिले पर्ख र हेरको अवस्थामा नै छौं। भर्खरै भेटेको हुनाले केही दिन कुरौं भनेर हामी अहिले शान्त बसेका छौं।’
उनले आयात प्रतिबन्ध खुले पनि बिक्री हुने वातावरण नभएका कारण समस्यामा रहेको बताए। सरकारले भनेबमोजिम समस्या समाधान हुनेमा आसावादी रहेको उनको भनाइ छ।
‘नयाँ सरकारलाई कुरै नराखी आन्दोलनमा जानु हुँदैन भनेर आन्दोलनमा नगएका हौं,’ थापाले भने, ‘आन्दोलका कार्यक्रम घोषणा गरिसकेका छौं तर अहिले आन्दोलन स्थगित गरेका पनि छैनौं र आन्दोलन सुरु पनि गरेका छैनौं।’
उनले १ सय ५० प्रतिशतमा पुर्याइएको जोखिमभार पहिलेकै अवस्थामा ल्याउनुपर्ने तथा ऋण प्रवाह र ब्याजदरलगायत विषयमा आफूहरूको माग सम्बोधन गरेको खण्डमा व्यवसाय पुरानै अवस्थामा आउने बताए। यी विषय सरकारले ध्यान दिए गाडी बिक्री हुने वातावरण बन्ने उनको भनाइ छ।
अर्थमन्त्री र भन्सार महानिर्देशकसँग भेट, समाधानको आश्वासन
नयाँ अर्थमन्त्री बनेपछि नाडाले भेटवार्तालाई केही प्राथमिकतामा राखेको छ। उपप्रधान तथा अर्थमन्त्रीमा पौडेल नियुक्त भएपछि पुस १४ मा नाडा अध्यक्ष थापाको नेतृत्वमा अटोमोबाइल व्यवसायीले भेटघाट तथा छलफल गरे।
छलफल क्रममा अटोमोबाइल व्यवसायीले समस्या राखेपछि अर्थमन्त्री पौडेलले अटोमोबाइल क्षेत्रलाई नजिकबाट चिनेको र अटोमोबाइल व्यवसायीले हाल भोगिरहेका समस्या समाधान गर्ने विषयमा सरकार सकारात्मक रहेको बताएका थिए।
पौडेलले जारी आन्दोलन स्थगित गर्न व्यवसायीसँग आग्रह पनि गरेका थिए। त्यस्तै पुस २० मा नाडा उपाध्यक्ष राजनबाबु श्रेष्ठको नेतृत्वमा अटोमोबाइल व्यवसायीले भन्सार विभागका महानिर्देशक चक्रबहादुर बुढासँग पनि भेटेका थिए।
भेटका क्रममा नाडा टोलीले भन्सार नाकामा जम्मा भएका सवारीसाधनका भन्सार जाँचपास सम्बन्धमा छलफल गरे। सरकारले विभिन्न चरणमा ल्याएका नीतिका कारण अटोमोबाइल व्यवसाय धराशयी हुने अवस्थामा पुगेको व्यवसायीले बताएका थिए।
बैंक तथा वित्तीय संस्थाले लगाएका उच्च ब्याजदर, अटोलोन, हायरपर्चेज कर्जामा जोखिमभार १ सय ५० प्रतिशतसम्म पुर्याइएको, बैंकहरूबाट निजी सवारीसाधनको हायरपर्चेज कर्जा प्रवाह गर्ने प्रक्रियामा ‘लोन टु भ्यालु रेसियो’ को सीमा ५० प्रतिशत पुर्याइएको लगायत विभिन्न कारण बजारमा गाडी बिक्री हुन नसक्ने अवस्था रहेको नाडाले जनाएको छ।
साथै, गाडी आयातकर्ताले भन्सार आइपुगेका गाडीका भन्सार जाँचपास गर्न नसकेको समस्या पनि उनीहरूले राखेका थिए। छलफलमा महानिर्देशक बुढाले सरकारलाई राजस्व संकलनको दबाब परिरहेको बताउँदै विभागले व्यवसायीका माग यथासम्भव सम्बोधन गर्ने बताए।
अर्थमन्त्री र भन्सार विभागका महानिर्देशकसँगको भेटमा ‘ग्रिन सिग्नल’ पाएपछि अटोमोबाइल व्यवसायी हाल मौन छन्। तर, आफूहरूले पाएको आश्वासन कार्यान्वयन एक महिनामा पनि अगाडि बढ्न नसके पुनः आन्दोलनमा जाने अध्यक्ष थापा बताउँछन्।
हाल आन्दोलन स्थगित अवस्थामा भए पनि फेसबुकका प्रोफाइल र गाडी शोरुमहरुमा ‘गरी खान देऊ’, ‘सतप्रतिशत नगद मार्जिन व्यवस्था खारेज गर’, ‘देशमा सरकार छ त?’, ‘मौद्रिक नीति परिमार्जन गर’ लगायत नारा लेखिएका ब्यानर टाँगिएका छन्।