अठार वर्षअघि २०६१ जेठ १५ गते बेल्जियम उड्दै गर्दा अर्जुन श्रेष्ठका पछाडि सफलताको कमी थिएन। व्यावसायिक र सामाजिक दुवै दृष्टिले सफलता हात पारेका श्रेष्ठले कल्पनासमेत गरेका थिएनन्, एक दिन परिवारै मुलुक छाडेर विदेशिनुपर्छ भन्ने।
विडम्बना, उनका लागि समय यस्तो बनेर आयो जुन बेला सफलताले शिखर चढिरहेको थियो। सबै त्यागेर विदेशिनुप¥यो। मुलुकमा परिवर्तनको नारा चर्किंदै थियो। तत्कालीन माओवादी जनयुद्धमा होमिएको थियो। गणतन्त्रको नारा घन्काउँदै पवर्तका डाँडाकाँडा गरिएका राँकेजुलुस प्रत्यक्ष देख्थे। विभिन्न ठाउँमा दोहोरो झडप भएको, सुरक्षाकर्मी र द्वन्द्वमा होमिएकाहरू मारिएका समाचार पनि सुन्दा उनको मनमा चिसो पस्थ्यो।
२०२९ सालमा पर्वत फलेवासमा जन्मिएका श्रेष्ठले २०५४ सालबाट व्यावसायिक यात्रा सुरु गरेका थिए। म्याग्दीमा युगल फार्मेसी सञ्चालन गरेर व्यवसाय थालेका उनले छोटो समयमा राम्रो सफलता हात पार्दै गए। म्याग्दी र पर्वतलाई केन्द्रमा राखेर श्रेष्ठले फार्मेसी, हार्डवेयर, केबुल नेटवर्क, रेमिट्यान्स, सहकारी र नर्सिङहोम लगायत क्षेत्रमा लगानी विस्तार गरिसकेका थिए।
जसरी उनको सफलता रफ्तारमा कुदिरहेको थियो, त्यसैगरी द्वन्द्व चर्कैंदै गयो। नेपाल उद्योग वाणिज्य महासंघ पर्वतका महासचिवसमेत रहेका श्रेष्ठले व्यनवसायिक हकहितका लागि द्वन्द्वबाट पीडित भएकाहरूका पक्षमा वकालत गर्नुपर्ने बाध्यकारी थियो। सहज र सरल तरिकाले व्यापार–व्यवसाय गर्न पाउनुपर्छ भन्दै आवाज उठाउने उनै श्रेष्ठको गाडी माओवादीले कब्जामा लियो। जुन गाडी उनले एम्बुलेन्सदेखि औषधी ओसारपसारमा प्रयोग गर्दै आएका थिए।
गाडी नियन्त्रणमा लिएपछि उनीमाथि राज्य संयन्त्रबाट हेरिने दृष्टिकोणसमेत परिवर्तन हुँदै गयो। एकातिर माओवादीले दिने दबाब र अर्कातर्फ सरकारी सुरक्षाकर्मीको दृष्टिकोणमा गाडी दिएको शंकाबीचको चेपमा उनी परे। राज्य र तत्कालीन ‘क्रान्तिकारी’ बीचको चपेटामा परिरहेकै बेला उनलाई माओवादीका नेताहरूले पटकपटक भेट्न बोलाए। एक्लै भेट्ने प्रस्ताव अस्विकार गरेपछि श्रेष्ठलाई धेरै समय गाउँ बस्न हुन्न भन्ने सुझाव धेरैबाट आयो।
जनयुद्धमै रहेका तर उनको भलो चिताउनेहरूले पनि ‘तिम्रो अवस्था राम्रो छैन, कि यतै बस्ने गरी आऊ, कि आफ्नो बाटो लाग्दा राम्रो हुन्छ’ भन्ने सन्देश पठाएपछि अन्ततः उनी सबै सफलतालाई थाँती राख्दै देशै छाड्ने निर्णयमा पुगे।
त्यही समयमा पर्वतमा उनको उमेर समूहका धेरै युवाले जन्मभूमि छाड्न थालिसकेका थिए। द्वन्द्वकै कारण जन्मभूमि छाड्नेको सूचीमा अर्जुनको नाम पनि समावेश भयो। बेल्जियम उड्ने बेला उद्योग वाणिज्य महासंघदेखि जेसिसलगाय सातवटा सामाजिक संस्थाका महासचिव थिए उनी। मिहिनेत र लगनशिलताले दिलाएको सफलताको खुसीले उनलाई आफ्नो जन्मभूमिमा धेरै समय रमाउन भने दिएन।
सन् १९९९ देखि नै जेसिस, उद्योग वाणिज्य संघ लगायत संघसंस्थाका कार्यक्रममा विदेश गइरहने भएकाले पनि उनलाई विदेश यात्राका लागि कुनै असहज थिएन। त्यो बेला उनको जेठो छोरा साढे दुई वर्षका थिए। त्यही सयम उनको एपेन्डिक्सको अप्रेसन गरेको दुई सातामै आलो घाउ लिएर दूधेबालक सहित नेपाल छाडेर बेल्जियम उडे।
नेपालमै प्रचुर सम्भावना हुँदाहुँदै र प्रगतिको एक तह पूरा भइसकेको व्यक्तिले एक्कासि सबै छाडेर विदेशी भूमि जानुपर्दा उनको मनमा कुनै उत्साह भने थिएन।
बेल्जियम गएलगत्तै व्यवसाय गर्न पुँजी नभएको र नेपालबाट पैसा लैजान नमिल्ने भएपछि केही समय रोजगारीसमेत गरे। र, गएको एक वर्षमै साथीहरूसँग मिलेर सुपरमार्केटबाट व्यावसायिक यात्रा थाले। बेल्जियममा फ्रान्स र नेदरल्यान्डको भाषा सरकारी कामकाजको भाषा हुने भएकाले पनि भाषागत समस्याका कारण उनले त्यहाँ औषधी क्षेत्रमा काम गर्न भने सकेनन्।
जसले गर्दा उनले केही समय जापानी रेस्टुरेन्टमा काम गरे। काम गरेको एक सातामै त्यही रेस्टुरेन्टको म्यानेजर भएर काम गरे। त्यहीँबाट सिकेको अनुभवका आधारमा आफंैले जापानी सुसी बार भन्ने रेस्टुरेन्ट सञ्चालन गरे। ओसियन सुसी बारको नाममा चार रेस्टुरेन्ट सञ्चालनमा ल्याए। रेस्टुरेन्ट र सुपरमार्केट सञ्चालनपछि भने उनको व्यावसायिक यात्रा जम्न सुरु भयो।
नेपाल हुँदा औषधीसहित अन्य क्षेत्रमा लगानी विस्तार गरेका श्रेष्ठले बेल्जियममा भने सेवा (पर्यटन) क्षेत्रमा हात हाले। २०१४ बाट होटल क्षेत्रमा लगानी विस्तार गरेर अहिले विभिन्न ठाउँमा तारे होटल सञ्चालन गर्दै आएका छन्।
त्यहाँ रहँदा पनि उनले सामाजिक काम र सामाजिक संस्थाको नेतृत्व गर्न भने छाडेनन्। २००९ देखि ३० महिनासम्म नेपाली व्यवसायी संघ बेल्जियमको अध्यक्ष भएर काम गरेका थिए। उनले गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसिसिमा २००९देखि २०२२ मार्चसम्म केन्द्रिय सदस्य हुँदै उपाध्यक्ष समेत भएर महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका थिए।मा समेत महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।
उनले त्यहाँ व्यावसायिक सफलतामात्र हात पारेनन्, युरोपेलीले नेपालीप्रति हेर्ने र बुझ्ने दृष्टिकोणमा समेत परिवर्तन ल्याइदिए। युरोपेलीका नजरमा नेपाली भनेको मिहिनेती र इमानदार हुन्छन् भन्ने पहिचान थियो। यसको मतलब नेपाली कामदारमात्र हुन् भन्ने थियो। तर, अर्जुनको सफलताले युरोपेलीका नजरमा सफल उद्यमी–व्यवसायी पनि नेपाली हुन सक्छन् र हुँदारहेछन् भन्ने परिचयसमेत दिलाउन सफल भए।
अर्जुनले उनीमात्र होइन, अरू नेपालीलाई पनि उद्यमी–व्यवसायी बन्नुपर्छ भन्ने उत्प्रेरणा दिलाउन अग्रसर भए। त्यहाँका सरकारी निकायसँगका सहकार्यमा उनले विभिन्न सेमिनार आयोजना गरे। जसका फलस्वरूप अहिले बेल्जियममा ४ सयभन्दा बढी जापानी रेस्टुरेन्ट नेपालीले सञ्चालन गर्दै आएका छन्।व्यवसाय विस्तार गरिरहँदा उनले एनआरएनएका पूर्वअध्यक्ष शेष घलेसँग मिलेर एउटा र अर्का पूर्वअध्यक्ष भवन भट्टसँग मिलेर बेल्जियममै तीनवटा होटल सञ्चालनमा ल्याएका छन्।
विज्ञान संकायमा स्नातकसम्म अध्ययन गरेका अर्जुनले १८ वर्षमा त्यहाँका २६ ठाउँमा व्यवसाय विस्तार गरेका छन्। उनको अर्को महत्वपूर्ण पाटो भनेको अहिलेसम्म जति पनि व्यवसाय गरेका छन्, ती सबै साझेदारीमा मात्र छ। एक्लै व्पापार उनले अहिलेसम्म कुनै पनि गरेका छैनन्। २०५४ सालदेखि नै साझेदारीकै व्यापार फाप्दै आएको छ उनलाई।
बेल्जियममा स्थापित व्यवसायी भइसक्दा लगानीका लागि अन्य मुलुकमा समेत अवसर मिल्थ्यो। तर, अर्जुनको मनमा भने आफ्नो जन्मभूमिप्रतिको माया र आस्था कहिल्यै पनि भुल्न नसक्ने गरी बसेको थियो। त्यतिमात्र होइन, आफूले सुरुमा गरेको औषधी व्यवसाय र अध्ययनलाई पनि कार्यान्वयन गर्ने उद्देश्यले नेपालमा औषधीसम्बन्धी उद्योग खोल्ने निधोमा पुगे। रक्सी–चुरोटको उद्योग खोलेर लखपती बन्नुभन्दा स्वास्थ्य सेवामा लागेर गुजारा चल्नु नै उपयुक्त हो भन्ने निर्णयसाथ उनले चितवनमा ओमेगाश्री फर्मास्युटिकल्स सञ्चालन गरे।
२०७३ सालदेखि उनी निरन्तर नेपाल आउजाउ गरिरहेका छन्। अहिले पनि यो क्रम जारी छ। आफ्नै मुलुकमा अनेकौं सम्भावना हुँदाहुँदै विशेष परिस्थितिले बाहिरिनुपरेको तीतो अनुभव बिर्सिंदै बिस्तारै आफ्ना परिवारलाई नेपाल फर्काउने अभियानमा लागेका छन्।
बेल्जियममा उनी अहिले सातवटा व्यापारमा मात्र आबद्ध छन्। त्यसबीच सातवटा तारे होटल नै सञ्चालन गरेका थिए। अब बिस्तारै विदेशमा रहेको व्यापार छोराछोरीलाई जिम्मा लगाउँदै आफू भने नेपालमै व्यवसाय विस्तार गरी यतै बस्ने सोचमा छन्।
‘म कमाउनभन्दा पनि विशेष परिस्थिीतका कारण विदेशिएको थिएँ,’ अर्जुन भन्छन्, ‘त्यही भएर अब नेपालै फर्किन चाहन्छु र त्यसैका लागि लगानी विस्तार गरिरहेको छु।’ विदेशमा सफलता हात पारेर स्वदेश फर्किनेको सूचीमा कमैको मात्र नाम हुने गरेको छ। तर, अर्जुन भने नेपाल लगानीका लागि उर्वरभूमि रहेको बताउँछन्। रोजगारी नपाएकै कारण दिनहुँ मुलुक छाडेर विदेशी भूमि जाने युवापुस्ता रोक्न ठूला लगानीकर्ता भित्र्याएर लगानी विस्तार गर्नुपर्ने धारणा उनको छ।
उनले औषधी उद्योगसँगै नवलपरासी कावासोतीमा १ सय बेडको मेडिटेक अस्पताल सञ्चालन गर्ने तयारीमा छन्। स्विजरल्यान्डका केही साथीसँग मिलेर उनले पोखरामा स्वीस नेपाल क्यान्सर अस्पताल सञ्चालनको तयारी गरिरहेका छन्। योसँगै उनले केही केबुलकार र सञ्चारमाध्यममा समेत लगानी विस्तार गरेका छन्।कोभिडको जर्जर अवस्थामा टर्किबाट विमान चार्टड गरेर १२ वटा अक्सिन प्लान्ट ल्याएर नेपालका महत्वपूर्ण अस्पतालमा सञ्चालनमा ल्याएका छन्।