काठमाडौं। बिमा कम्पनीहरू पूर्वाधार तथा कृषि क्षेत्रमा लगानी गर्न इच्छुक देखिँदैनन्। कारण के होलान्? कम्पनीहरू इच्छुक नदेखिए पनि बिमा प्राधिकरणले भने पूर्वाधार क्षेत्रमा लगानीको दायरा फराकिलो बनाउँदै गइरहेको छ।
चालू अर्थिक वर्ष पहिलो त्रैमाससम्म कूल लगानीको करिब एक प्रतिशतमात्र पूर्वाधार क्षेत्रमा लगानी गरेका बिमा कम्पनीले कूल लगानीको १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ।
गत असोजसम्म बिमा कम्पनीले कूल लगानीको एक प्रतिशतहाराहारी मात्र कृषि, पूर्वाधार क्षेत्रमा लगानी गरेको बिमा प्राधिकरणले जनाएको छ।
विगतमा पनि बिमा कम्पनीले पूर्वाधार क्षेत्रमा न्यून लगानी गरेको देखिन्छ। विदेशमा भने बिमा कम्पनीले कृषि र पूर्वाधार क्षेत्रमा राम्रो लगानी गर्ने गरेको जानकार बताउँछन्।
नेपालमा बिमा लगानी निर्देशिका स्पष्ट नहुँदा कम्पनीको लगानी कृषि तथा पूर्वाधार क्षेत्रमा नहुने विज्ञहरू बताउँछन्। प्राधिकरणले लगानीको दायरा र सीमा बढाउँदै जाने तर निर्देशिका प्रष्ट नबानाउँदा कम्पनीहरूले यो क्षेत्रमा खासै लगानी गरेका छैनन्।
अघिल्लो वर्ष बिमा कम्पनीले केही कम्पनीका अग्राधिकार सेयरमा लगानी बढाएका थिए। यो वर्ष भने अग्राधिकार सेयरमा खासै लगानी देखिँदैन।
यो वर्ष बिमा कम्पनीको ठूलो हिस्सा बैंक तथा वित्तीय क्षेत्रका मुद्दती निक्षेपमा छ। तरलता चाप बढ्दै गइरहेका बेला मुद्दतीमा राम्रो ब्याजदर पाउन थालेपछि अन्य क्षेत्र छाडेर कम्पनीहरू यता होमिएका हुन्।
असोज मसान्तमा बिमा कम्पनीको कूल लगानीको ८० प्रतिशत मुद्दती निक्षेपमा हुनेले पनि यसलाई पुष्टि गर्छ। अघिल्लो वर्ष कूल लगानीको ६५ देखि ७० प्रतिशतहाराहारी कम्पनीले बैंक तथा वित्तीय क्षेत्रका मुद्दतीमा लगानी गरेको देखिन्छ।
बिमा प्राधिकरणले लगानी निर्देशिका २०७९ जारी गरी बिमा कम्पनीलाई कूल लगानीको १० प्रतिशत कृषि उत्पादन तथा वितरण, शीत भण्डार गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य ऊर्जा, केबुलकार, सडक, विद्युत प्रशारण लाइन, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गर्न पाउने जनाएको छ।
तर, कम्पनीहरूले एउटै परियोजनामा कूल लगानीको पाँच प्रतिशत बढी लगानी गर्न नपाउने व्यवस्था छ। लगानी भने पब्लिक कम्पनीमा मात्र गर्न पाइने उल्लेख छ।
प्राधिकरणले निर्देशिका संशोधन गर्दै लगानीको क्षेत्र विस्तार गर्न ११ क्षेत्रमा लगानीका क्षेत्र तय गरेको छ। यसअघि बिमा कम्पनीले आठ क्षेत्रमा लगानीको क्षेत्र तोकेको थियो। बिमा प्राधिकरणले लगानीको न्यूनतम सीमा नतोकेसम्म बिमा कम्पनीले पूर्वाधार र कृषिमा लगानी बढ्ने देखिँदैन।
कम्पनीले जोखिम र सुरक्षित ठाँउमा लगानी गर्नु नराम्रो पनि होइन। तर, पूर्वाधारमा पनि बिमा कम्पनीले योगदान पु¥याउनेपर्ने देखिन्छ। यसअघि बिमा कम्पनीले कृषि, पर्यटन र जलस्रोतलगायत पूर्वाधारमा गरिएको कूल ‘टेक्निकल रिजर्भ’ को २० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था थियो।
प्राधिकरणले टेक्निकल रिजर्भ हटाएर कूल लगानीको १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था गरेको छ। टेक्निकल रिजर्भ कूल २० प्रतिशत गर्दा एक कम्पनीलाई पूर्वाधारमा ८ करोडसम्म लगानी गर्नुपर्ने अवस्था थियो भने अहिले त्यसको सीमा बढेको छ। तर, सीमा बढाएर लगानी नबढे निर्देशिका संशोधन गरिनुले खासै अर्थ राख्दैन।
बिमा कम्पनीले प्राधिकरणको निर्देशिकाअनुसार पूर्वाधारमा लगानी गरिरहेको मेट लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) ले निर्मलकाजी श्रेष्ठले बताए।
उनका अनुसार बिमा कम्पनीलाई बिमक लगानी निर्देशिका २०७५ मा कूल टेक्निकल रिजर्भको २० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था थियो। बिमा कम्पनीले पूर्वाधारमा लगानी नै गर्न नखोजेको भन्न नमिल्ने श्रेष्ठ दाबी गर्छन्।
‘पूर्वाधार क्षेत्रमा २० प्रतिशतसम्म लगानी गर्न भनेको थियो,’ उनले भने, ‘त्योभन्दा बढी गर्न नपाइने हो। न्यूनतम जति गर्दा पनि हुन्थ्यो।’
सोहीअनुसार बिमा कम्पनीहरूले पूर्वाधारमा लगानी गरिरहेको श्रेष्ठले बताए। पूर्वाधारमा गरेको लगानी लामो अवधिको हुने हुँदा बिमा कम्पनीहरूको यस क्षेत्रमा लगानी न्यून हुने एक बिमा कम्पनीका सिइओले बताए। बिमा उद्योगलाई सुरक्षित राख्नुपर्ने उनको भनाइ छ।
‘एक्कासि दैविप्रकोप आयो, कम्पनीको लगानी हाइड्रोपावरमा छ भने त्यसको सेयर बिक्री गरेर पैसा फिर्ता दिन्छु भन्यो भने त्यसका अर्थ नै हुँदैन,’ ती सिइओले भने, ‘चाँडो भुक्तानी गर्नुपर्छ, त्यसैले कम जोखिम र सुरक्षित ठाँउमा लगानी गरिन्छ। त्यसैले बिमा कम्पनीको लगानी पूर्वाधार र कृषिमा कम देखिएको हो।’
इन्स्योरेन्स कम्पनी सुरक्षित क्षेत्रमा लगानी गरी कम जोखिम लिन खोज्ने भएकाले यस्ता क्षेत्रमा लगानी कम देखिएको उनको भनाइ छ। उनका अनुसार बिमक लगानी निर्देशिका २०७९ मा बिमा कम्पनीले यस क्षेत्रमा कूल लगानीको १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ।
‘बिमा कम्पनीले आफ्नो रणनीतिअनुसार लगानी गर्ने गर्दछन्,’ उनले भने, ‘कुनै कम्पनीको जोखिम लिने रणनीति हुन्छ भने कुनैको हुँदैन।
धेरै जोखिम लिन नचाहने कम्पनीले सुरक्षित क्षेत्रमा लगानी गर्न खोज्दछन्।’ जीवन बिमा कम्पनीलाई जस्तै पूर्वाधारमा निर्जीवन बिमा कम्पनीलाई लगानी गर्न सहज नहुने बिमक संघका अध्यक्ष चंकी क्षेत्री बताउँछन्।
‘पहिले टेक्निकल रिर्जभको २० प्रतिशत गर्दा ८/१० करोड हुन्थ्यो,’ उनले भने, ‘त्यो सबै कम्पनीले गरिरहेका थिए। अहिले कूल लगानीको १० प्रतिशत लगानी पूर्वाधार क्षेत्रमा गर्नुपर्ने व्यवस्था गरिएको छ।’ बिमा कम्पनीले पूर्वाधारमा लगानी बढाउनु आवश्यक रहेको क्षेत्रीको भनाइ छ।
‘जीवन बिमा कम्पनीको दिर्घकालीन नीति हुन्छ,’ उनले भने, ‘निर्जीवन बिमा कम्पनीलाई नगद तरलता चाहिन्छ।’ निर्जीवन बिमा कम्पनीमा दाबी पर्ने बित्तिकै दायित्व भुक्तानी गर्नुपर्ने क्षेत्रीले बताए। विदेशमा बिमा कम्पनीले पूर्वाधारमा लगानी गर्ने गरेको क्षेत्री बताउँछन्।
बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेल बिमक निर्देशिकाले पूर्वाधारमा लगानीको सीमा र क्षेत्र र दुवै बढाइएको बताए। ‘बजेटमा भौतिक पूर्वाधारमा लगानी गर्न प्रोत्साहन गरिने भनिएको छ,’ उनले भने, ‘ भैतिक पूर्वाधारमा लगानी प्रोत्साहन गर्न बिमा कम्पनीलाई निर्देशिकामा इन्भेस्टमेन्ट कम्पनी खोलेर लगानी गर्न सक्ने व्यवस्था मिलाएका छौं।’
बिमा कम्पनीले इन्भेस्टमेन्ट कम्पनी खोलेर पूर्वाधार क्षेत्रमा लगानी गर्न सक्ने पौडेलले बताए। उनका अनुसार इन्भेस्टमेन्ट कम्पनी सञ्चालन नगरी पूर्वाधार क्षेत्रमा लगानी गर्न नपाइने हुँदा इन्भेस्टमेन्ट कम्पनीमार्फत लगानी गर्न पाउने व्यवस्था गरेका हौं।
‘यसअघि बिमा कम्पनीले सिधै पूर्वाधार क्षेत्रमा लगानी गर्न पाउने व्यवस्था थिएन,’ उनले भने, ‘सडकमा लगानी गर्न त बिमा कम्पनी आफैं गएर लगानी गर्ने होइन, त्यसका लागि दायरा बनाइदिएका छौं।’
बिमा कम्पनीलाई सहवित्तीयकरण (कन्सोर्टियम) मा जान भनेको पौडेल बताउँछन्। ‘कुनै हाइड्रोपावर बनाउन दुई–तीन बिमा कम्पनी मिलेर लगानी गरे हाइड्रोपावर बनाउन पाउनेछन्।’
बिमा कम्पनीले घरजग्गामा लगानी गर्न छाडिदिएको पौडेलले बताए। बिमा कम्पनीले काम गर्न सक्ने गरी दायरा फराकिलो बनाइदिएको उनले बताए।
‘बिमा कम्पनीलाई पूर्वाधार, कृषिलगायत क्षेत्रमा जाऊ भनेका छौं,’ उनले भने, ‘अहिलेको निर्देशिकाले लगानीका लागि प्रोत्साहन गरेको छ।’