काठमाडौं। ‘रेस ग्रुप’ स्टार्टअप कम्पनी हो। जसले व्यक्तिगत र व्यापारिक भवन निर्माणमात्र होइन, नक्सा बनाउने कामसमेत गर्दछ। कास्कीका सन्तोष थापाले याे कम्पनी स्थापना गरेका हुन्।
रेस ग्रुपले व्यक्तिगत र व्यापारिक भवन निर्माण गर्नेदेखि नक्सा निर्माण गरेर घरधनीलाई झन्झटमुक्त राख्ने काम गर्छ।
‘प्रविधि र प्रावधिक जनशक्तिको उच्चतम प्रयोग गर्दै कुनै पनि घरधनीको जीवनभरिको मिहिनेत र परिश्रमबाट आर्जित पैसाको सही सदुपयोग हामी गर्दछौं,’ थापाले भने, ‘उनीहरूको सपनाको घर उचित मूल्य, समय र गुणस्तरमा बनाइदिने काममा हामी प्रतिबद्ध छौं।’
यही काम गर्न रेस ग्रुपले आर्किटेक्ट, इन्जिनियर, प्रोजेक्ट मेनेजर, अकाउन्ट, मार्केटिङ एन्ड सेल्स आदि गरी २० जनाको टिम र २ सयभन्दा बढी कामदारलाई रोजगारी दिएका छन्।
बजारमा घर निर्माणका काम समयमा सम्पन्न नहुने, भइरहेका काममा भनेको जस्तो गुणस्तर नहुने र सोचेको भन्दा बढी मूल्य लाग्ने र खर्च भएको पैसाअनुसार घर नबन्ने जस्ता समस्या पर्याप्त भएको उनले देखे।
साथै, ठेकेदारलाई विस्वाश गर्न नसकिने, सामान रोज्न झन्झट हुने, सामग्री आपूर्तिकर्ता कस्तो छान्ने भन्ने समस्या र अन्य धेरै यस्ता समस्या कायम रहेको देखेपछि उनले यी समस्या समाधान गर्न रेस ग्रुप थालनी गरेका हुन्।
‘हामीले प्रोजेक्ट व्यवस्थापन टुल्स प्रयोगबाट कामलाई तोकिएको समएमा सम्पन्न गर्ने, उचित गुणस्तर कायम गर्दै पारदर्शी हिसाबले काम गर्ने, उचित माध्यमबाट घरधनी र निर्माण कम्पनीबीच पैसा कारोबार गर्ने र नक्सादेखि निर्माणका हरेक पलमा प्रावधिक राखेर काम गरिरहेका छौं,’ उनले भने, ‘प्राविधिक साथमा हुँदा काम नबिग्रिने, पैसा र समय बचत हुने भएकाले हामीले यसैलाई आधार बनाएर काम गरिरहेका छौं।’
उनले हरेक दिन भएका कामका प्रगतिबारे छुट्टै मोबाइल एपको प्रयोग गरेर तथा सामाजिक सञ्जालबाट जानकारी गराउने, घर निर्माणमा संलग्न सबै सराेकारवालालाई एउटै मञ्चमा राखेर सञ्चार गर्नेलगायतका काम पनि गरिरहेका छन्।
नगरपालिकामा हुने नक्सा पासका सम्पूर्ण काम, पानी बिजुली जोड्ने कामदेखि घरलाई पूर्णरूपमा इन्टेरियर डिजाइन गर्ने र निर्माण गर्ने काम पनि उनको रेस ग्रुपले गर्दै आइरहेको छ।
पोखराबाट काम सुरु गरेदेखि उनीहरूले ५२ घर निर्माण सम्झौता गरी २० घर हस्तान्तरण गरिसकेका छन्। रेस ग्रुपसँग १ सयभन्दा बढी सब–कन्ट्र्याक्टर, सप्प्लायर आबद्ध छन्। यो काम अन्य सहर लगेर हजारौंलाई रोजगारी सिर्जना गर्ने लक्ष्य उनकाे छ।
रेस ग्रुप कम्पनी उद्यमी, डिजाइनर, वास्तुकार, इन्जिनियर र घर निर्माण, नवीकरण, आन्तरिक र मर्मतका लागि समाधान प्रदान गर्न समर्पित विशेषज्ञका दक्ष टोलीद्वारा सञ्चालित छ।