काठमाडौं। सिन्डिकेट गरेर ढुवानी सेवा अवरुद्ध पार्ने व्यवसायीलाई सरकारले कारबाही गर्ने भएको छ । खुला प्रतिस्पर्धा वातावरण बिथोल्ने ट्रक व्यवसायी र यातायात व्यवसायी समितिका पदाधिकारीलाई कारबाही गर्ने जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रष्ट पारेको हो ।
समितिका पदाधिकारी तथा ट्रक चालकले खुला प्रतिस्पर्धालाई निस्तेज पारेर आफूखुसी ढुवानीको व्यवस्था गर्न खोजे पक्राउ गरेर थुन्ने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।
यातायात व्यवसायीका केही शंकास्पद गतिविधि देखिएपछि दुई व्यक्तिलाई नियन्त्रणमा लिएको उनले बताए । रुपन्देही तथा भैरहवा क्षेत्रमा समितिले सिन्डिकेट चलाएको गुनासो बाहिर आएपछि प्रहरी प्रशासन र जिल्ला प्रशासन सक्रिय भएको हो । समितिका केही पदाधिकारी र केही ट्रक चालकले खुला प्रतिस्पर्धालाई रोकेर समितिका पदाधिकारीले भनेअनुसार ट्रक उद्योगमा पठाउन थालेका छन् ।
ट्रक नपाएर एकातिर उद्योगमा उत्पादित सामग्री गोदाममै थन्किने र अर्कोतिर ट्रक लाइनमा हुने गरेपछि उद्योगी व्यवसायीले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा उजुरीसमेत गरेका थिए ।
‘केही उद्योगीले मौखिक र केही उद्योगीले लिखित रूपमै जिल्ला प्रशासन कार्यालयमा उजुरी गर्नु भएको छ,’ पाण्डेले क्यापिटल नेपालसँग भने, ‘यातायात समितिलाई सिन्डिकेट स्वीकार्य नहुने र प्रतिस्पर्धा रोक्न खोजे कानुनी कारबाही गर्ने चेतावनी पनि दिइसकेको छु । केही व्यक्तिलाई नियन्त्रण पनि लिएको छु । उनीहरुमाथि अनुसन्धान भइरहेको छ ।’
पाण्डेका अनुसार शुक्रबार यातायात समितिका पदाधिकारी र उद्योगीलाई यस बारमा छलफलका लागि बोलाएको बताए । ‘दुवै पक्षलाई छलफलका लागि बोलाएको छु’ उनले भने, ‘उद्योगीका गुनासा के हुन् । यातायात व्यवसायीले गरेको के हो ? त्यही बेला थाहा हुन्छ । यदि यातायात व्यवसायीले सिन्डिकेट चलाएको पुष्टि भए उनीहरु कानुनी कारबाहीको भागिदार बन्छन् ।’
समितिले खुला प्रतिस्पर्धा रोकेसँगै सिमेन्टको मूल्य बोरामा ३० रुपैयाँ बढी भाडा तिर्नुपरेको उद्योगीहरुको गुनासो छ । ‘ट्रक चालकबीच प्रतिस्पर्धा हुँदा प्रतिबोरा १० रुपैयाँ ढुवानी खर्च लाग्थ्यो,’ एक उद्योगीले भने, ‘अहिले प्रतिबोरा २० रुपैयाँ बढेको छ । त्यो समितिले सिन्डिकेट लगाए पछि हो ।’
अहिले निर्माण सामग्री खपत बढ्ने सिजन हो ।
लामो समयदेखि सुस्त रहेको निर्माणजन्य उद्योग विस्तारै गति लिन थालेका बेला ढुवानीकर्ताले अबरोध खडा गर्दा अर्को समस्या निम्तिएको उनीहरुको भनाइ छ ।