काठमाडौं। नेपाल राष्ट्र बैंकले पुनर्कर्जा नवीकरण नगर्दा पर्यटन व्यवसायी त्रासमा परेका छन्। कोरोना महामारीका कारण दुई वर्षभन्दा बढी समयदेखि व्यापार–व्यवसाय नभएको र अहिले केही सुध्रिए पनि सबै रकम तिर्न नसक्ने अवस्था रहेको भन्दै ६ महिनादेखि एक वर्षसम्मका लागि सोही सुविधा नवीकरण गरिदिन होटल व्यवसायीहरूको छाता संगठन होटल एसोसिएसन नेपाल (हान) ले लामो समयदेखि माग गर्दै आएको छ।
नेपालमा कोरोना संक्रमण न्यून भएको र व्यावसायिक वातावरण सुध्रिसकेको निष्कर्ष निकाल्दै राष्ट्र बैंकले पुनर्कर्जाको अन्तिम म्याद पुस मसान्तसम्म मात्र कायम गरेको छ।
कोभिडका कारण व्यापार–व्यवसाय ठप्प भएपछि राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट सस्तो ब्याजदरमा कर्जा प्रवाह गरेको थियो।
सरकार गठन भएसँगै अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरी हान पदाधिकारीले जुनसुकै हालतमा एक वर्षसम्मलाई अवधि थप गर्न अनुरोध गरेका थिए।
होटल उद्योगले लिएको साँवाको किस्ता र त्यसमा बहन गर्नुपर्ने ब्याज तिर्ने–बुझाउने जिम्मेवारी रहँदा रहँदै अहिलेको परिस्थितिमा अतिप्रभावित तथा पुनरुत्थानकै क्रममा रहेकाले कुनै पनि हालतमा बैंकलाई साँवा र ब्याज बुझाउन सक्षम नरहेको जानकारी गराएका थिए।
अहिले पनि बैंक तथा वित्तीय संस्थाले सीमाभित्र साँवा ब्याज बुझाउन दिनहुँ ताकेता रहेको व्यवसायीको भनाइ छ।
हानका प्रथम उपाध्यक्ष विनायक शाहले राष्ट्र बैंकले बुधबार चालू पुँजी कर्जासम्बन्धी संशोधनले होटल व्यवसायीलाई केही हदसम्म राहत मिले पनि पुनर्कर्जाबारे सम्बोधन नभएको बताए।
पर्यटन व्यवसायीको तत्कालको आवश्यकता भनेको पुनर्कर्जा अवधि नवीकरण नै रहेकाले तुरुन्त सम्बोधन नभए धेरै होटल व्यवसायी कालोसूचीमा पर्ने अवस्था आउन लागेको शाहले बताए।
‘राष्ट्र बैंकले देखेको जस्तो अहिले हाम्रो व्यवसाय पूर्णरूपमा सुध्रिसकेको छैन,’ शाहले क्यापिटल नेपालसँग भने, ‘ब्याज र किस्ता नतिर्ने भनेका छैनौं तर अहिले तिर्न सक्दैनौं।’
काठमाडौं मेरिअट होटलका सञ्चालक शशिकान्त अग्रवालले पुनर्कर्जा अवधि नवीकरण नहुने हो भने अहिले लिँदै आएको ब्याजदर सुविधामा थप हुनुपर्ने बताए।
यसले धेरै व्यवसायीलाई एक्कासि महँगो ब्याज तिर्दा केहीमात्रामा समस्या हुने भएकाले पर्यटन क्षेत्रको अवस्था सामान्य नभएसम्म नवीकरण गरिदिए धेरै राहत मिल्ने उनको भनाइ छ।
हानका केन्द्रीय सदस्य युवराज श्रेष्ठले अर्थमन्त्री पौडेलसहित राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई पर्यटन व्यवसायीको तत्कालको अवस्थाबारे जानकारी भएकाले अन्तिमसम्म भए पनि नयाँ निर्णय आउन सक्ने विश्वास व्यक्त गरे।
राष्ट्र बैंकले पछिल्लो समय व्यवसायीप्रति लचक देखाएका कारण पर्यटन क्षेत्रको समस्याबारे पनि सम्बोधन हुने अपेक्षामा आफूहरू रहेको श्रेष्ठले बताए।
यसैगरी पर्यटन क्षेत्रलाई प्राप्त पुनर्कर्जा सुविधा निरन्तरता दिन नेपाल उद्योग वाणिज्य महासंघले आग्रह गरेको छ। अर्थतन्त्र चलायमान बनाउनका लागि उच्च ब्याजदर कम गर्न केन्द्रीय बैंकले सम्पूर्ण वित्तीय एवं मौद्रिक उपकरण प्रयोग गर्न महासंघले सुझाएको छ।
राष्ट्र बैंकको समयसिमा नजिकिएसँगै अहिले व्यवसायीलाई बैंकले दैनिकरूपमा ताकेता गरिरहेका छन्। पुसदेखि पर्यटन व्यवसायीले लिँदै आएको पुनर्कर्जाको ब्याज साबिकअनुसार नै तिर्नुपर्छ। पुनर्कर्जाको अधिकतम सीमा २० करोड रुपैयाँ राखेको थियो।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कोरोना प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यमलगायत व्यवसाय सञ्चालन एवं निरन्तरता, ती क्षेत्रका श्रमिक तथा कर्मचारीका पारिश्रमिक भुक्तानी र अतिप्रभावित क्षेत्रका रोजगारी गुमाउनेलाई उद्यमशिलता विकास अवसर दिन बैंक तथा वित्तीय संस्थाबाट पाँच प्रतिशत ब्याजमा कर्जा उपलब्ध गराएको थियो।