काठमाडौं। नेपालमा गाडी एसेम्बल उद्योग दर्ता हुन सुरू भएको लामो समय बित्दा पनि निकै कम उद्योगको उपस्थिति रहेको छ। उद्योग विभागका अनुसार एसेम्बल उद्योग स्थापना भएको २६ वर्षमा २५ एसेम्बल उद्योग दर्ता भएका छन्।
२०५३ सालमा नेपाल इलेक्ट्रिक भेहिकल इन्डस्ट्री नामक कम्पनी पहिलोपटक उद्योग विभागमा दर्ता भएको थियो। त्यसको एकवर्षपछि २०५४ सालमा हुलास मोटर्स प्रालि दोस्रो एसेम्बल उद्योगका रूपमा दर्ता भयो।
त्यसयता विभिन्न समयमा यस्ता उद्योग निकै पातलो ढंगमा स्थापना हुँदै आएको पाइन्छ। पछिल्लोपटक गत जेठ १७ मा एसजी अटोक्राफ्ट प्रालि दर्ता भएको थियो। त्यसबेलादेखि हालसम्म भने कुनै उद्योग दर्ता नभएको उद्योग विभागले जनाएको छ।
हालसम्म दर्ता भएका २५ उद्योगमा १३ उद्योग पूर्णस्वदेशी लगानी, सात पूर्णविदेशी लगानी र पाँच अर्ध स्वदेशी–विदेशी लगानीका छन्। गत जेठमा दर्ता भएका दुई उद्योग स्वदेशी लगानीका छन् भने त्यसअघि २०७८ सालमा दर्ता भएका दुई उद्योग पनि स्वदेशी लगानीका थिए।
विदेशी लगानीको एसेम्बल उद्योग भने २०७६ साल पुसयता दर्ता भएका छैनन्। त्यसबेला नेपाल हुचाङ इन्टरनेसनल प्रालि नामक विदेशी लगानीको उद्योग दर्ता भएको थियो। पछिल्लो पटक दर्ता भएको एसजी अटोक्राफ्ट प्रालि हो।
यसरी लामो समय विदेशी लगानीका उद्योग स्थापना नहुनुले उद्योगमा आकर्षण नभएको देखिन्छ भने नेपाली लगानीबाट नै यो आर्थिक वर्ष पाँच महिनासम्म उद्योग स्थापना नहुनुले यस क्षेत्रप्रतिको आकर्षण घट्दो मात्रामा रहेको देखिन्छ।
२०७५/७६ मा एसेम्बल उद्योग स्थापना लहर
उद्योग विभागका अनुसार गत वैशाखदेखि हालसम्म दुईमात्र एसेम्बल उद्योग दर्ता भएका छन्। जसमा एसजी अटोक्राफ्ट प्रालि र दुगड अटो क्लिनिक प्रालि छन्। पछिल्लोपटक गत जेठमा दर्ता भएको एसजी अटोक्राफ्ट प्रालिको उद्योग बारा जितपुरसिमरा उपमहानगरपालिका–११ मा छ।
दुई, तीन र चारपांग्रेका पुर्जा एसेम्बल गरी गाडी उत्पादन गर्न भन्दै उक्त उद्यागेमा ३ अर्ब रुपैयाँ लगानी गरिएको छ। पूरै नेपाली लगानी रहेको उद्योगमा ४ सय ३१ जनाले रोजगारी पाएको उद्योग विभागसँग तथ्यांक छ।
त्यस्तै जेठमै दर्ता भएको दुगड अटो क्लिनिक प्रालि मकवानपुर हेटौंडा औद्योगिक क्षेत्रमा छ। दुई र तीन पांग्रेका पुर्जा एसेम्बल गरी गाडी उत्पादन गर्न भन्दै उद्योगमा ३० करोड लगानी गरिएको छ। पूरै लगाी नेपालीको रहेको उद्योगमा १ सय ४५ जनाले रोजगारी पाएका छन्।
त्यस्तै २०७८ मा पनि दुई एसेम्बल उद्योग दर्ता भएका थिए। जसमा सिजी अटोमोटिभ इन्डस्ट्री र ग्लोबल अटोमोबाइल्स प्रालि छन्। गत वर्ष साउनमा दर्ता भएको सिजी अटोमोटिभ बारा परवानीपुर गाउँपालिका–४ मा छ।
दुई, तीन र चार पांग्रेका पुर्जा एसेम्बल गरी गाडी उत्पादन गर्ने भन्दै उद्योगमा १ अर्ब ३१ करोड ६९ लाख रुपैयाँ लगानी भएको छ। पूरै नेपाली लगानीमा रहेको यस उद्योगमा १ सय १३ जनाले रोजगारी पाएका छन्।
त्यस्तै गत वर्ष माघमा दर्ता भएको ग्लोबल अटोमोबाइल्स पर्सा बिन्द्यवासिनी गाउँपालिका–९ मा छ। दुई र तीन पांग्रेका पुर्जा एसेम्बल गरी उत्पादन गर्ने भन्दै उद्योगमा ४६ करोड ४५ लाख ९२ हजार ६ सय १० रूपैयाँ लगानी गरिएको छ। पूर्णनेपाली लगानी रहेको उद्योगमा १ सय ५० ले रोजगारी पाएका छन्।
समग्रमा २०५३, २०५४, २०६३, २०६५, २०६६ र २०६८ सालमा एक–एक एसेम्बल उद्योग दर्ता भएका छन्। त्यसपछि २०७३ सालमा चार, २०७४ मा एक, २०७५ मा ६, २०७६ मा तीन, २०७७ मा एक तथा २०७८ र २०७९ मा दुई–दुई उद्योग दर्ता भएका छन्। २०७५ र २०७६ सालमा नौ उद्योग दर्ता भएछि भने एसेम्बल उद्योग कम मात्रामा स्थापना भएको पाइन्छ।
नेपालमै सवारी उत्पादन गरी बिक्री गर्ने उद्योगलाई राज्यले छुट तथा सहुलियत दिने नीति लिएसँगै सवारी उत्पादन उद्योग दर्तामा त्यसबेला लहर चलेको थियो।
पूर्णविदेशी लगानीका उद्योग सातमात्रै
नेपालमा पहिलोपटक पूर्णविदेशी लगानीको गाडी एसेम्बल उद्योगका रूपमा २०७३ भदौ २४ मा एकैचोटि दुई उद्योग दर्ता भएका थिए। ललितपुरमा उद्योग रहने गरी नेपाल इभी कम्पनी प्रालि र सिइसी भेहिकल्स कम्पनी प्रालि एकैपटक दर्ता भएका थिए।
४ करोड लगानी रहेका ती दुवै उद्योगले ३१ जनालाई रोजगारी दिएका छन्। त्यसपछि २०७३ सालकै चैतमा ललिलपुरमै रहने गरी १ करोड लगानीमा हि डोङ्ग न्यु इनर्जी इन्डस्ट्रिज प्रालि दर्ता भएको उद्योग विभागले जनाएको छ।
२०७५ मा ४ करोडको बेङ्लिङ मोटर टेक्नोलोजी कम्पनी प्रालि, साढे ३ करोडमा ग्रेटवाल इलेक्ट्रिक भेहिकल प्रालि र ४ करोड ९० लाख विदेशी लगानीमा नेपाल जिआन्ट कार इन्डस्ट्री ग्रुप दर्ता भएका थिए।
२०७६ मा ५ करोड विदेशी लगानीमा नेपाल हुचाङ इन्टरनेसनल कम्पनी प्रालि खुलेको थियो। त्यसयता पूर्णविदेशी लगानीमा कुनै उद्योग खुलेका छैनन्।
तथ्यांक केलाउँदा गएका केही वर्षदेखि विदेशी लगानीमा यस्ता उद्योग स्थापना हुन छाडेको देखिन्छ भने नेपाली लगानीमै पनि निकै कममात्रामा उद्योग स्थापना भएको पाइन्छ।
सीमित उद्योग सञ्चालन, नीतिगत सुधार आवश्यक
गाडी विक्रेताहरूको छाता संगठन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाकाअनुसार नेपालमा दर्ता भएका गाडी एसेम्बल उद्योग संख्या २५ भए पनि सञ्चालनमा भने एकदम कम छन्।
‘सरकारले केही समय अघिबाट सहुलियतको व्यवस्था गरेदेखि नेपालमा सवारी एसेम्बल उद्योगमा आकर्षण बढेर गएको देखिन्छ,’ थापाले क्यापिटल नेपालसँग भने, ‘नेपालमा चार पांग्रे, तीन पांग्रे तथा दुई पांग्रे सवारी एसेम्बल उद्योग संख्या हेर्ने हो भने यसलाई बढी मान्न सकिँदैन।’ उनले बजेटभन्दा पनि नीतिगतरूपमै यस क्षेत्रलाई केही प्रोत्साहन गर्न सके थप गति लिने बताए।
थापाका अनुसार नेपालमा हाल लगभग पाँचदेखि सातवटा तीन पांग्रे तथा तीनदेखि चारवटा दुई पांग्रे गाडी एसेम्बल उद्योग सञ्चालमा छन्। यस्तै दुईदेखि तीनवटा दुई पांग्रे एसेम्बल उद्योग भने आउने तयारीमा छन्। लगानी बढी लाग्ने र नितिगत प्रोत्साहन अभावमा डुबिन्छ कि भन्ने त्रासले चार पांग्रे गाडी उद्योग भने एउटा पनि सञ्चालनमा नभएको उनले बताए।
उनले चार पांग्रे गाडी एसेम्बल उद्योग दर्ता भए पनि सञ्चालनमा भने नआएको बताए। दुई पांग्रेका पुर्जा एसेम्बल गरी सवारी उत्पादन गर्न कम लागत लाग्ने र जोखिम कम हुने हुनाले केही मात्रामा भए पनि उद्योग सञ्चालनमा छन्।
त्यस्तै तीन पांग्रे उद्योग पनि तुलनात्मकरूपमा सन्तोषजनक देखिन्छ। तर, चार पांग्रेका पुर्जा एसेम्बल गरी सवारी उत्पादन गर्न भने बढी लगानी गर्नुपर्ने भएकाले उद्योगी–व्यवसायीले जोखिम उठाउन नचाहेको देखिन्छ।
नेपालमै उत्पादन भए आर्थिकरूपमा नेपाललाई नै फाइदा हुने भएकाले यसमा नीतिगत सुधार गर्नुपर्ने अध्यक्ष थापाको भनाइ छ।