कामठाडौं। नेपाल राष्ट्र बैंकले भुक्तानी कारोबार गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९ जारी गरेको छ।
राष्ट्र बैंक बिहीबार भुक्तानी कारोबार गर्ने संस्थालाई प्रदान गरिने अनुमति नीति, २०७९ जारी गर्दै अधिकतम ८० करोडसम्म चुक्ता पुँजी कायम गर्नुपर्ने जनाएको छ।
राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकको लागि ५ करोड पुँजी, भुक्तानी संचालकको हकमा ४० करोड पुँजी कायम गर्नुपर्ने जनाएको छ।
त्यसैगरी, नेपालमा जारी भएका भुक्तानी उपकरणमार्फत नेपाल बाहिरसमेत भुक्तानी कारोबार हुने गरी सञ्चालन हुने भुक्तानी प्रणालीको सञ्चालक संस्थाले ८० करोड पुँजी पुर्याउनु पर्नेछ।
बैंकबाट अनुमति पत्र लिएका संस्थाको हकमा तोकिएको न्यूनतम चुक्ता पुँजी २०८५ असार मसान्तसम्ममा कायम गरी सक्नुपर्ने राष्ट्र बैंकले जनाएको छ।
राष्ट्र बैंकले जारी गरेको सर्कुलरमा ‘बैंक तथा वित्तीय संस्था र विदेशमा स्थापना भई नेपालमा भुक्तानीको कार्य गर्ने संस्थालाई न्यूनतम पुँजी व्यवस्था लागू हुने छैन।’
संस्थाका संस्थापक सेयरधनीले ५ वर्षसम्म संस्थापक सेयर खरिद बिक्री गर्न नपाइने व्यवस्था भएको छ।
बैंक तथा वित्तीय संस्थाको हकमा एउटा संस्थालाई भुक्तानी सेवा प्रदायक वा भुक्तानी प्रणाली सञ्चालकमध्ये कुनै एक प्रकारको मात्र कार्य गर्न पाउने गरी आशयपत्र प्रदान गरिने नीतिमा उल्लेख छ।