काठमाडाैं । सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्यटक आवागमन ७० प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनाको तथ्यांकलाई हेर्ने हो भने चालू आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा सगरमाथा क्षेत्र भ्रमण गर्नेको सङ्ख्यामा ७० दशमलव १७ प्रतिशतले वृद्धि भएको पाइन्छ ।
सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेको तथ्याङ्कअनुसार गत आवको पहिलो पाँच महिनामा ७ हजार ४ सय ६४ जना पर्यटकले खुम्बु भ्रमण गरेका थिए भने चालू आवको सोही अवधिमा २५ हजार २९ जनाले भ्रमण गरेका छन् ।
चालू आवको साउनमा तीन सय ८५, भदौमा छ सय ९०, असोजमा ६ हजार ७ सय ३१, कात्तिकमा १३ हजार एक सय ५८ र मङ्सिरमा चार हजार ६५ पर्यटक खुम्बु पुगेको निकुञ्जका सूचना अधिकारी मनोज मण्डलले जानकारी दिए ।
पाँच महिनामा २१ हजार आठ सय ५३ विदेशी र तीन हजार एक सय ७६ जना नेपाली पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेको सूचना अधिकारी मण्डलको भनाइ छ । भ्रमण गर्ने विदेशी पर्यटकमध्ये एक हजार नौ सय ९० सार्क मुलुकका र १० हजार आठ सय ६३ अन्य मुलुकका रहेको निकुञ्जको तथ्यांकमा उल्लेख छ ।
निकुञ्जले पर्यटक प्रवेश शुल्कबाट ५ महिनामा ३ करोड ५५ लाख ७७ हजार एक सय ७६ राजस्व संकलन गरेको छ । विदेशी पर्यटकबाट प्रतिपर्यटक ३ हजार प्रवेश शुल्क लिने गरेको छ भने सार्क मुलुकका नागरिकबाट १ हजार पाँच सय र नेपालीबाट १ सय रूपैयाँ प्रवेश शुल्क लिने गरेको छ ।
अघिल्लो वर्ष कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउन तथा सङ्क्रमण जोखिमका कारण पर्यटक आवागमन न्यून बनेको सगरमाथा क्षेत्रमा यस वर्ष जोखिम हटेसँगै पर्यटक आवागमन बढेको निकुञ्जले जनाएको छ ।
विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ । पू्र्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत रहेका छन् ।