काठमाडौं। भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापना गर्न थप सात कम्पनी तथा लगानीकर्ताले सम्झौता गरेका छन्।
भैरहवा सेजमा उद्योग स्थापना गर्न पछिल्लोपटक सात कम्पनीले सम्झौता गरेको विशेष आर्थिक क्षेत्र विकास प्राधिकरण (सेजा) ले जनाएको छ।
सेजाका अनुसार उद्योग सञ्चालन गर्न सार्वजनिक प्रस्ताव आह्वान गरिएको थियो। त्यसपछि विभिन्न मितिमा सात उद्योगी तथा लगानीकर्ताले सम्झौता गरेका हुन्। सेजासँग सैद्धान्तिक सहमति गरेका २४ मध्ये सात कम्पनीले उद्योग स्थापना गर्न सम्झौता गरेको उपसचिव तुल्सीराम मरासिनीले जानकारी दिए।
भैरहवा सेजमा अनुमति प्राप्त गरी सम्झौता गरेका सात कम्पनीमा बबई एग्रो ट्रेड कन्सर्न प्रालि, ह्वाइट माउन्टेन माइनिङ इन्डस्ट्री प्रालि, आरुङ खोला बहुउद्देश्यीय उद्योग प्रालि, मिशाअ शेख, हिमालयन ग्रेनाइट प्रालि, लार्के हिमाल जडीबुटी प्रालि र मेटल रिसाइक्लिङ इन्डस्ट्री प्रालि छन्। यी सात कम्पनीले १ अर्ब ३० करोड ८३ लाख रुपैयाँबराबरको लगानी सम्झौता गरेका छन्।
आरुङ खोला बहुउद्देश्यीयले ४४ करोड, लार्के हिमाल जडीबुटी ९ करोड ५० लाख, ह्वाइट माउन्टेन माइनिङ २२ करोड ५० लाख, बबई एग्रो ११ करोड ४२ लाख, मिशाअ शेख १४ करोड, मेटल रिसाइक्लिङ १० करोड ४१ लाख र हिमालयन ग्रेनाइटले १९ करोडबराबरको सम्झौता गरेका छन्।उपसचिव मरासिनीका अनुसार अनुमति प्राप्त गरी सम्झौता गर्न नआएका १७ कम्पनी तथा लगानीकर्ता खारेजीमा परेका छन्।
सात उद्योग सञ्चालनमा
भैरहवा सेजमा हालै सम्झौता भएका बाहेक सात उद्योग सञ्चालनमा छन्। जसमा एस प्लास्टिक प्रडक्ट, तिरुपाती मेटल्स प्रालि, भिस्टार ग्लोबल, शक्ति माइनर्स, ब्रिलियन्ट लाइटिङ इन्डस्ट्रिज, पञ्चकन्या एसएस एक्सपोर्ट प्रालि र जयबुद्ध मेटल क्राफ्ट छन्।
हाल भैरहवा सेजमा २९ वटा प्लट खाली रहेको सेजाले जनाएको छ। उक्त खाली भएका प्लटमा पनि उद्योग स्थापना गर्न पुस ५ मा सार्वजनिक सूचनामार्फत् प्रस्ताव आह्वान गरिएको प्राधिकरणले जनाएको छ।