रेसुंगा । गुल्मीमा एक दम्पतीले ६५ लाख रूपैयाँ लगानीमा बाख्रापालन व्यवसाय सुरु गरेका छन् । छत्रकोट गाउँपालिका–३ काउलीका नारायणप्रसाद पन्थ र पार्वती थापा पन्थले आधुनिक खोरसहित बाख्रापालन गरिरहेका छन् । पन्थ दम्पतीले बाख्रापालनसँगै, घाँसखेती र सुन्तलाखेतीसमेत गरेका छन् ।
पन्थ दम्पतीकाे खाेरमा ४० माउ बाख्रा छन् । उनीहरुले ४० रोपनी जग्गामा घाँसखेती र आठ रोपनी जग्गामा सुन्तलाखेती पनि गरेका छन् । विदेशमा गएर १० वर्षसम्म कमाएको रकम आफ्नै गाउँठाउँमा केही व्यवसाय गर्ने उद्देश्यसहित बाख्रापालन सुरु गरेको नारायणप्रसादले बताए ।
विश्वभर फैलिएको पहिलो चरणको कोरोना महामारीको समयमा कतारबाट फर्किएर कृषि र पशुपालनबाटै दिगो आर्थिक उपार्जन हुने अपेक्षासहित पन्थ दम्पतीले छत्रदेवी कृषि तथा पशुपन्छी फर्म दर्ता गरेर व्यवसाय सुरु गरेका हुन् । घाँस र सुन्तला खेतीबाट वार्षिक रु छ लाख आम्दानी हुँदै आएको नारायणप्रसाद बताए।
पन्थ दम्पतीले घाँस खेतीअन्तर्गत किम्बु, राईखन्यु, नेपियर, ग्वाटेमाला, मूलाटोलगायत बिरुवा रोपण गरेका छन् । “घरपरिवारसँगै बसेर कृषि र पशुपालन गर्दा समय वितेको पत्तै नलाग्दो रहेछ”, उनले भने । यसअघि कतारमा मासिक १ लाख २० हजारसम्म कमाउने गरेको नारायणप्रसादको भनाइ छ । त्यो सबै त्यागेर उनले गाउँघरमै व्यवसाय सुरु गरेका हुन्।
श्रीमानले विदेशमा भन्दा गाउँमै जीविकोपार्जनको नयाँ बाटो रोजेकामा पार्वती सन्तुष्ट छिन् । श्रीमानकाे १० वर्षे वैदेशिक अनुभवले गाउँमै व्यवसाय गर्न सहज भएको उनको भनाइ छ । आधुनिक खोर, घाँस काट्नका लागि च्याँपकटर, दानाका लागि कुटानीपिसानी मिल, मूत्र व्यवस्थापन र सानाठूला बाख्राका लागि छुट्टाछुट्टै खोर बनाएर पन्थ दम्पती व्यवसायमा होमिएका छन् । उनीहरुसँग जमुना पारी र खरी जातका स्थानीय बाख्रा छन् ।
फार्मलाई छत्रकोट गाउँपालिकाले २ लाख, कृषि ज्ञान केन्द्रले १ लाख र भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तम्घास गुल्मीले १ लाख अनुदान सहयोग गरेको छ । कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले कृषि र पशुपालनमा समर्पित किसानको साथमा रहेको बताए ।
छत्रकोट गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले कृषि र पशुपालनमा लामो समयसम्म टिकाइ राख्नका लागि योजना बनाइरहेको बताए ।