काठमाडाैं । ग्लोबल आइएमई बैंकले आफ्नो स्थापनाको १६औं वर्षमा प्रवेशको अवसरमा बैंकमा १५ वर्षदेखि बैंकमा निरन्तर सेवारत ५९ कर्मचारीलाई सम्मान गरेको छ ।
सोमबार बैंकमा आयोजित एक कार्यक्रमकाबीच बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकमा १५ वर्षदेखि निरन्तर सेवारत कर्मचारीहरुलाई सम्मान गरेका हुन् ।
अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले 'उत्कृष्ट बैंकिङ सबैका लागि' भन्ने नाराका साथ आफ्नो स्थापनाको १६ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको बताए ।
उनले उत्कृष्ट बैंक बनाउन आफ्नो तर्फबाट गरेको विशेष योगदानका लागि सबै कर्मचारीहरुलाई धन्यवाद प्रकट गर्दै अझ उत्कृष्ट र ग्राहकमैत्री सेवा उपलब्ध गराउन आग्रह समेत गरे ।
यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले बैंकले आफ्नो सेवालाई ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिने गरी आफ्नो लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।
बैंकले २ सय ९२ शाखा, २ सय ७१ एटिएम, २ सय ८३ शाखा रहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरबाट सेवा प्रदान गर्दैआएको छ ।