काठमाडौं। सेयर ब्रोकरहरूले शाखा विस्तार गर्न नेपाल धितोपत्र बोर्डको अनुमति लिनु नपर्ने भएको छ। ब्रोकरले नयाँ शाखा विस्तार गर्न बोर्डको स्वीकृती आवश्यक नपर्ने गरी नियमावली संशोधन गर्न लागेको हो।
अहिलेसम्म ब्रोकर कम्पनीले शाखा विस्तार गर्न बोर्डबाट अनुमति लिनुपर्ने प्रावधान छ। ब्रोकर कम्पनीलाई शाखा विस्तार गर्न बोर्डको अनुमति नचाहिने व्यवस्था गरिने धितोपत्र बोर्डका एक उच्च अधिकारीले क्यापिटल नेपाललाई बताए। ती अधिकारीका अनुसार ब्रोकरलाई लाइसेन्स दिइसकेपछि सहजै शाखा विस्तार गर्न दिनुपर्छ।
‘ब्रोकर लाइसेन्स भएका कम्पनीलाई शाखा विस्तार गर्न दिनुपर्छ,’ ती अधिकारीले भने, ‘लाइसेन्सको अनुमति पाइसेपछि शाखा विस्तार गर्न किन पुनः अनुमति चाहियो।’ कम्पनीलाई अनुमति विनै शाखा विस्तार गर्न पाउने गरि नियमावली संशोधन गर्दैछौं, ती अधिकारीले भने।
उनका अनुसार नियमावली संशोधन पश्चात ब्रोकर कम्पनीले आफ्नो इच्छाअनुसार शाखा खोल्न पाउनेछन्। ‘ब्रोकर कम्पनीले आफ्नो इच्छाअनुसार शाखा विस्तार गर्न पाउनेछन,’ उनले भने, ‘शाखा विस्तार गरेको बोर्डलाई जानकारी गराए मात्र हुन्छ।’बोर्डको अधिकार कम गर्न लागेको ती अधिकारीको भनाई छ।
सरकारका नियमन निकायको स्वीकृती लिइ सञ्चालनमा आएका कम्पनीहरुले शाखा विस्तार गर्न पाउनुपर्ने बताउँछन्। ‘कुनै पनि कम्पनीले व्यवसाय विस्तार गर्न पाउनुपर्छ,’ उनले भने, ‘सरकार र नियमनकारी निकायले आफ्नो हातमा पावर राख्न पुन अनुमति माग्नपुर्ने बनाए।’
बोर्ड र सरकारी निकायको पावर कम गरी ब्रोकरलाई निसर्त शाखा खोल्ने गरी नियमावली संशोधन गदैछौं, ती अधिकारीले भने। हालसम्म बोर्डको स्वीकृती बिना ब्रोकर कम्पनीले शाखा विस्तार गर्न नपाउने व्यवस्था छ।
नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जिवि नेपालले ब्रोकर कम्पनीलाई स्वीकृती विना शाखा खोल्न दिनु सेयरबजारको लागि राम्रो हुने बताए। ब्रोकर कम्पनीलाई सहजै शाखा विस्तार गर्न दिँदा सेयर बजार बढ्दै जाने नेपाल बताउँछन्।
बोर्डले स्वीकृती नदिई सञ्चालन गरे धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४० को उपनियम (१) मा ‘धितोपत्र दलाल र धितोपत्र व्यापारीले बोर्डको स्वीकृति लिई शाखा कार्यालय खोल्न सक्नेछ’ भन्ने व्यवस्था रहेको छ।
गत वर्ष बोर्डको स्वीकृती नलिई शाखा विस्तार गर्ने दुई ब्रोकर कम्पनीलाई कारबाहीसमेत गरेको थियो। बोर्डले थ्राइभ ब्रोकरेज हाउस प्राइभेट लिमिटेडलाई (ब्रोकर नम्बर १३)लाई नगद जरिवानासमेत गराएको थियो।
बोर्डले कम्पनीलाई ५० हजार रुपैयाँ नगद जरिवाना गरेको हो। बोर्डका अनुसार ब्रोकर कम्पनीले तनहुँमा बिना अनुमति शाखा सञ्चालनमा ल्याएको थियो।
त्यसैगरी बोर्डले बैशाख १६ गते अनुमतिबिना डिम्याट खोल्ने लगायतका कार्य गरेको नासा इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडलाई पत्राचार गरी स्पष्टिकरण मागेको थियो ।