काठमाडौं। गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई निराश बनाएका दुई वाणिज्य बैंक (लक्ष्मी बैंक र सनराइज बैंक) एकापसमा मर्ज (एकीकृत) हुने भएका छन्।
नियामक नेपाल राष्ट्र बैंकको निरन्तर ताकेतापछि दुवै बैंक मर्जमा जान सहमत देखिएका हुन्। लामो समयदेखि सञ्चालक विवादमा फसेको सनराइजलाई राष्ट्र बैंकले मर्जमा जान ताकेता गर्दै आएको थियो। दुई बैंकबीच अर्को साता गाभ्ने/गाभिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने तयारी छ।
केन्द्रीय बैंकले मौद्रिक नीतिमार्फत पुसभित्र मर्ज गरी एकीकृत कारोबार गरेमा विभिन्न सुविधा दिने उल्लेख छ। तर, अब मर्ज हुने संस्थाले मौद्रिक नीतिमा उल्लेखित सुविधा पाउने कि नपाउने भन्ने अन्योल रहेपछि दुवै बैंकका सञ्चालकहरू केन्द्रीय बैंकको शरणमा परेका थिए। ‘गभर्नर महाप्रसाद अधिकारले तत्काल मर्ज गर्ने सहमति गरेर आउनुस् त्यसपछि हेरौंला’ भनेपछि दुवै बैंक मर्जमा जान तयार भएका हुन्।
प्रभु बैंक र सेञ्चुरी कर्मसियल बैंक मर्ज भएर प्रभु बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक मर्ज भएर नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्ज भएर ग्लोबल आइएमई बैंकका रूपमा पुसभित्र एकीकृत कारोबार गर्ने कार्यसूची सार्वजनिक गरिसकेका छन्।
उता, हिमालयन बैंक र सिभिल बैंकले पनि मर्ज भएर माघ तेस्रो साता एकीकृत कारोबार गर्ने गरी तयारी गरिरहेका छन्। अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को दबाबपछि केन्द्रीय बैंकले नेपालमा बैंक मर्जरको अभियान चलाएको छ र त्यसका लागि विभिन्न सुविधाहरू दिँदै आएको छ। केन्द्रीय बैंकले दिएको सुविधा समयमा लिएर सकारात्मक कदम नचाले राष्ट्र बैंकले हस्तक्षेप गरी मर्जमा जान बाध्य पारिने बताउँदै आएको छ।
नियमित लाभांश दिँदै आएको र विवेकपूर्ण (प्रुडेन्सियल) बैंकिङ गर्ने उपमा पाएको लक्ष्मी बैंकले समेत गत वर्षको नाफाबाट लगानीकर्तालाई निरास बनाएकाे थियो। उता, सनराइज भने लामो समयदेखी सञ्चालक विवादका कारण समस्यामा फस्दै आएको छ। उसले पनि गत वर्षको नाफाबाट लगानीकर्तालाई निरास बनायो।
प्राप्त जानकारीअनुसार लक्ष्मी र सनराइज एक बराबर एकको अनुपातमा मर्ज हुनेछन्। मर्जपछि बन्ने बैंकको अध्यक्ष लक्ष्मीले पाउनेछ भने प्रमुख कार्यकारी अधिकृत (सिइओ) छान्ने जिम्मेवारी सम्बन्धित सिइओलाई नै दिइएको छ। दुवै बैंकका सिइओमध्ये एक जना सिइओ बन्ने सहमति भएमा कुनै समस्या नरहेको राष्ट्र बैंकले संकेत गरेको छ।
लक्ष्मीमा हाल नागरिक लगानी कोष (सिआइटी)का सिइओ रमण नेपाल अध्यक्ष छन्। नेपाल राष्ट्र बैंकका पूर्वकर्मचारी पनि हुन्। उता, सनराइजमा जलविद्युत प्रवर्धक मोतीलाल दुगड अध्यक्ष छन्। त्यसैगरी हाल लक्ष्मीमा अजयविक्रम शाह र सनराइजमा सुमन शर्मा सिइओ छन्।
मर्जपछि बन्ने बैंकको नाम लक्ष्मी सनराइज वा सनराइज/लक्ष्मी वा लक्ष्मी मात्रै पनि रहन सक्ने छ। अहिले नामकाे टुंगो लागिसकेको छैन। मर्जपछि बैंकमा लक्ष्मी र सनराइजका तर्फबाट दुई/दुई जना सञ्चालक रहनेछन्।
सनराइज सञ्चालक समितिका कारण भद्रगोल अवस्थामा छ। केन्द्रीय बैंकले आफ्नो ‘स्पिरिट’ अनुसार मर्जमा नगए देखिने गरी हस्तक्षेप गरेर मर्जमा जान निर्देशन दिने बताएपछि सनराइज केही हच्केको हो।
खासगरी सञ्चालकहरूले पदीय मर्यादा कायम नराखी आफूअनूकल बैंक चलाउन खोजेपछि समस्यामा फसेको हो। सनराइजका केही सञ्चालक अझै बैंकलाई मर्जमा लैजान सहमत नभएको स्राेतकाे दाबी छ।
‘केन्द्रीय बैंकले सनराइजको सञ्चालक समितिबाट मर्जमा जाने सहमति गरेर आउनुस्, बाँकी म गरौला भने पछि दुई बैंक मर्जका लागि अघि बढेका हुन्। सनराइजका बहुमत सञ्चालकले मर्जमा जान अस्विकार गरे केन्द्रीय बैंकले हस्तक्षेप गर्नेछ,’ सनराइजका एक सञ्चालकले भने।