काठमाडौं। नेपालमा सिमेन्ट व्यापारमा एकछत्र राज गरिरहेको होङ्सी सिमेन्ट प्रालिले कर्मचारी र ट्रक चालकलाई ६ महिनादेखि तलब नदिएर बिचल्ली बनाएको छ। गत वर्ष होङ्सीले १७ अर्ब ४ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको उसैले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ।
बजारमा होङ्सीको मात्रै सिमेन्ट बिक्री हुँद पनि त्यहाँ कार्यरत कर्मचारी, कारखानामा काम गर्ने मजदुर, ट्रक चालकले ६ महिनादेखि तलब पाएका छैनन्।
३० प्रतिशत नेपाली साझेदार शिवम् र हङकङ रेडलाइन सिमेन्ट नम्बर–३ लिमिटेडको ७० प्रतिशत लगानीमा खुलेको होङ्सीले दिनुपर्ने सुविधा माग गर्दा उनीहरूमाथि उल्टै धम्कीपूर्ण भाषा प्रयोग गर्ने गरेको त्यहाँ कार्यरत एक कर्मचारीले बताए।
‘नेपाली बजारमा होङ्सीका उत्पादनको बजार हिस्सा २५ प्रतिशतमाथि छ। तर, मजदुर तथा कर्मचारी र चालकलाई ६ महिनादेखि तलब दिएकाे छैन,’ ती कर्मचारीले भने, ‘तलब चाहियो भनेर माग्दा जागिर छाड्न भनिन्छ।’
उद्योगको व्यवस्थापकीय नेतृत्व सबै चिनियाँले लिएका छन्। चीनबाटै आएका व्यक्तिलाई महाप्रबन्धकको जिम्मेवारी दिइएको छ। तर, उनी नेपाली भाषा बुझ्दैनन् र कर्मचारीका कुरा सुन्न पनि चाहँदैनन्।
नवलपरासी पूर्वनवलपुरको सर्दीमा रहेको होङ्सी सिमेन्ट उद्योगमा ढुवानी काम गर्ने व्यवसायीले ६ महिनादेखि आफूहरूले पाउनुपर्ने रकम भुक्तानी पाउन नसकेपछि आन्दोलनमा उत्रिएकाे बताए।
स्थानीयसहित व्यवसायीले उद्योग परिसर अगाडि प्रदर्शन गरी ढुवानीका सबै काम रोकेका छन्। अत्यावश्यकबाहेक सबै ढुवानीका काम रोकेर आफूहरू आन्दोलित भएको व्यवसायी यादव पौडेलले बताए।
'अहिले होङ्सीको मात्रै व्यापार देखिन्छ। तर, भुक्तानी दिनेबेला अनेकन बहाना बनाइन्छ। व्यापार नभए पनि ठीकै थियो,' उनले क्यापिटल नेपालसँग भने, ‘अन्य सबै सिमेन्ट उद्योग आर्थिक संकटमा फसिरहँदा होङ्सी उत्पादन दिएर भ्याइनभ्याइ छ। अनि भुक्तानी दिने बेलामा नोक्सान छ भन्ने र कर्मचारीलाई नदिने काम भइरहेको छ।’
बैंकहरूले किस्ता नतिरेको भनेर गाडी तानेको र चिठी काटेर तनाव दिइरहेको पौडेलले बताए। तर, उद्योगले भुक्तानीका लागि आलटाल गरिरहेको उनकाे भनाइ छ। उद्योगमा आवश्यक खाद्यान्न लैजाने, ढुवानीका काम गर्नेदेखि सबै होटल व्यवसायीको उधारो रकम भुक्तानी नहुँदा समस्या परेकाले आन्दोलनमा उत्रिनुपरेको उनको भनाइ छ।
उद्योगले स्थापना ताका स्थानीयरूपमा गर्ने भनेको कामसमेत नगरको स्थानीयको भनाइ छ। वरपरको वातावरण स्वास्थ्यमा प्रतिकूल हुन नदिने, स्वास्थ्य, कृषिमा आवश्यक लगानी गरी सुविधा दिने भन्ने उद्योग स्थापनाका विषयमा कुरा भएको भए पनि हाल त्यसप्रति उद्योग प्रशासन गम्भीर नबनेको पौडेलले बताए।
चिनियाँ र नेपाली लगानीकर्ताको संयुक्त लगानीमा स्थापित उद्योगको कूल उत्पादन क्षमता भने दैनिक १२ हजार टन छ। उद्योगले सन् २०१८ मार्चदेखि सिमेन्ट र सोही वर्ष मेदेखि क्लिंकर उत्पादन थालेको थियाे। होङ्सी सिमेन्टको मुख्य लगानी रहेको यस उद्योगमा नेपालको शिवम् सिमेन्टको व्यवस्थापन छ। कम्पनीको चुक्ता पुँजी साढे ३६ अर्ब रुपैयाँबराबर छ।
उद्योगले ६ अर्ब ५० करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ। होङ्सीले सिमेन्ट र कच्चा वस्तु क्लिंकर उत्पादन गर्दै आएको छ।