काठमाडौं। विद्युत व्यापार गर्न ४०० केभी क्षमताका थप दुई अन्तरदेशीय (क्रस बोर्डर) प्रशारण लाइन बन्ने भएको छ। नेपाल र भारतले पूर्व सुनसरी इनरूवादेखि पूर्णिया र पश्चिममा कैलाली लम्कीदेखि भारत बरेलीसम्म जोड्ने गरी डबल सर्किट भएका दुई ठूला प्रशारण लाइन निर्माण गर्न लागेका हुन्।
आगामी माघ दोस्रो साताभित्र नेपाल–भारत संयुक्त स्थायी समितिको सचिवस्तरिय बैठकले दुई प्रशारण लाइन बनाउन सम्भाव्यता अध्ययन गर्ने विषयमा सहमति गर्ने भएको छ।
सचिवस्तरिय संयुक्त स्थायी समिति बैठक यसपटक भारतमा हुनेछ। दुई स्थानमा अन्तरदेशीय प्रशारण लाइन बनाउन सम्भाव्यता अध्ययन थाल्ने बैठकको मूल अजेन्डा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ।
बैठकको मिति टुंगाे नलागे पनि माघ ७ देखि १० सम्म भारतमा सचिवस्तरीय बैठक गर्ने मोटामोटी सहमति भएको छ। तै पनि, भारतले मिति प्रस्ताव गर्न बाँकी छ। सम्भाव्यता अध्ययनपछि लगानी जुटाएर प्रशारण लाइन बनाउने काम सुरु हुनेछ। बन्दै गरेका र बन्ने तयारीमा रहेका आयोजनाबाट उत्पादन हुने बिजुली निर्यातका लागि प्रशारण लाइन निर्माण हुन लागेको हो।
अहिले ढल्केबर-मुज्जफरपुर ४०० केभी अन्तरदेशीय प्रशारण लाइन सञ्चालनमा छ। यो लाइनबाट ९ सय मेगावाटसम्म बिजुली प्रवाह हुन्छ। भारतले ६ सय मेगावाटसम्म प्रवाह गर्न स्वीकृति दिइसकेको छ। नेपाल विद्युत प्राधिकरणले यही लाइनबाट भारतमा बिजुली निर्यात गर्दै आएको छ।
यस्तै दुई देशको संयुक्त लगानीमा बुटवल–गोरखपुर अन्तरदेशीय प्रशारण लाइनको काम सुरु हुन लागेको छ। बुटवल–गोरखपुर लाइनको काम पनि छिट्टै सक्ने तयारी छ। भारतीय पक्षले पनि प्रशारण लाइन बनाउन बोलपत्र आह्वान गरेको छ।
यस्तै नेपालको मिलेनियम च्यालेन्ज एकाउन्ट विकास समिति (एमसिए) ले पनि नेपालतर्फको लाइन बनाउन बोलपत्र आह्वान गरिसकेको छ। प्रशारण लाइन बनाउने संयुक्त कम्पनी गठन भइसकेको छ।
न्यु बुटवल–गोरखपुर ४०० केभी प्रशारण लाइनअन्तर्गत भारततर्फ पर्ने लाइन निर्माण गर्न विद्युत प्राधिकरण र भारत सरकारको स्वामित्वको पावर ग्रिड कर्पोरेसन अफ इन्डियाको आधा-आधा सेयर स्वामित्व रहने गरी संयुक्त कम्पनी स्थापना भएको छ। नेपालतर्फ एमसिएले लाइन बनाउने छ।
नवलपरासी सुनवल नगरपालिका–१३ स्थित न्यु बुटवल सबस्टेसनबाट सुरू भई गोरखपुर सबस्टेसनसम्म पुग्ने ४०० केभी डबल सर्किट प्रशारण लाइनको लम्बाइ करिब १ सय २० किलोमिटर छ। त्यसमध्ये नेपालतर्फ करिब २० किलोमिटर र बाँकी भारततर्फ पर्दछ।
कम्पनीको ५० प्रतिशत स्वपुँजी (इक्विटी) को हुन आउने ४६ करोड भारु (७३ करोड ६० लाख रुपैयाँ) भारतमा स्थापना हुने संयुक्त कम्पनीमा वैदेशिक लगानी गर्न प्राधिकरणले स्वीकृति पाएको हो।
नेपाल–भारत ऊर्जा सचिव तथा सहसचिवस्तरीय संयन्त्रको २०७६ असोजमा भएको सातौं बैठकले प्रशारण लाइन निर्माणको लगानी स्वरूप टुंगाे लगाएको थियो।
अनुमानित लागत ४ अर्ब ६२ करोड भारु (७ अर्ब ३९ करोड रुपैयाँ) रहेको आयोजनाको वित्तीय व्यवस्थापन ८० प्रतिशत ऋण र २० प्रतिशत इक्विटीबाट जुटाइने छ। प्राधिकरण र पावर ग्रिडबीच २०७८ भदौमा कम्पनी स्थापनाका लागि संयुक्त लगानी तथा लगानीकर्ता सम्झौतामा हस्ताक्षर भएको थियो।
२ हजार मेगावाट विद्युत प्रवाह गर्नसक्ने क्षमताको प्रशारण लाइन निर्माण गर्न लागिएको हो। हाल सञ्चालनमा रहेको ढल्केबर–मुजफ्फरपुर पहिलो अन्तरदेशीय ४०० केभी प्रशारण लाइनभन्दा बुटवल–गोरखपुर प्रशारण लाइनले झन्डै दाेब्बर क्षमतामा विद्युत प्रवाह गर्नसक्ने छ।
उक्त प्रशारण लाइन अमेरिकी सहयोग परियोजना एमसिसीसँग पनि जोडिन पुगेको छ। काठमाडौं नाङ्लेभारेबाट सुरू हुने ४०० केभी क्षमताको प्रशारण लाइन बुटवलसम्म पुग्ने छ।
बूढीगण्डकी र मर्स्याङ्दी करिडोरलगायत स्थानमा उत्पादन भएका विद्युत् बढी हुँदा भारत निर्यात गर्न उक्त प्रशारण लाइन सहज हुने विश्वाससाथ दुवै देशले उक्त परियोजना प्राथमिकतामा राखेका हुन्।