काठमाडौं। नेपाल राष्ट्र बैंकले मधेश प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ।
यस प्रतिवेदनमा आर्थिक वर्ष २०७८/७९ को मधेश प्रदेशको समग्र आर्थिक स्थितिको साथसाथै कृषि, उद्योग, सेवा र पूर्वाधार क्षेत्रमा हासिल भएको प्रगति समेत समावेश गरिएको छ।
यस प्रदेशले आर्थिक वर्ष २०७८/७९ मा प्रमुख कृषि उपज (खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी र फलफूल तथा मसला) ले ढाकेको भू–क्षेत्रफलमा ०.३० प्रतिशतले ह्रास आई ११ लाख ६३ हजार २९ हेक्टर पुगेको छ।
कृषि बालीहरू (खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी र फलफूल तथा मसला) को कूल उत्पादनमा ०.५३ प्रतिशतले ह्रास आई ६३ लाख ८२ हजार ६ सय १२ मे.टन पुगेको छ।
यस वर्ष दुधको उत्पादनमा ६.०३ प्रतिशतले ह्रास आएको छ भने मासु, अण्डा र छालाको उत्पादनमा क्रमशः ६.४९, २.३३ र ४.८५ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी माछाको उत्पादनमा ६.४२ प्रतिशतले वृद्धि भएको छ।
बैंक तथा वित्तीय संस्थाबाट यस प्रदेशमा कृषि क्षेत्रमा प्रवाह भएको कर्जा ५३ अर्ब ९५ करोड पुगेको छ। उद्योगहरूको उत्पादन क्षमता औसतमा ६३.९८ प्रतिशत रहेको छ। बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कूल कर्जा २.९५ प्रतिशतले ह्रास आई १ खर्ब २ अर्ब १३ करोड पुगेको छ।
मधेश प्रदेशको उद्योग क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये गैर–खाद्यवस्तु उत्पादन उद्योगतर्फ ५२.३९ प्रतिशत, कृषि–वन तथा पेय पदार्थ उत्पादन उद्योगतर्फ ३०.५७ प्रतिशत, धातुको उत्पादन, मेशिनरी तथा इलेक्ट्रोनिक्स तथा धातुका सामान उत्पादन तर्फ ७.६२ प्रतिशत, निर्माण उद्योगतर्फ ७.२७ प्रतिशत, खानी उद्योगतर्फ १.६६ प्रतिशत र विद्युत, ग्याँस तथा पानी उद्योगतर्फ ०.४८ प्रतिशत कर्जा प्रवाह भएको छ।
यस प्रदेशको पर्यटकस्तरीय होटलमा कार्यरत कर्मचारीहरूको संख्या र पर्यटकको आगमनमा क्रमशः ३६.४३ र २५४.५९ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी घरजग्गा रजिष्ट्रेसन संख्यामा १७.११ प्रतिशतले वृद्धि भएको छ भने घर जग्गा रजिष्ट्रेशनबाट संकलित राजस्वमा ३३.२२ प्रतिशतले ह्रास आएको छ। मधेश प्रदेशबाट श्रम स्वीकृति लिनेको संख्या १ लाख ६९ हजार ५ सय २१ रहेको छ।
यस वर्ष यस प्रदेशमा निर्माणाधिन र निर्माण हुने क्रममा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना, पूर्व–पश्चिम रेलमार्ग आयोजना, हुलाकी राजमार्ग, काठमाडौं तराई मधेश द्रुतमार्ग आयोजना र राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम रहेका छन्।
त्यस्तै, राष्ट्रिय अर्थतन्त्रमा मधेश प्रदेशको योगदान र क्षेत्रगत आर्थिक स्थितिको तुलनात्मक विवरण समेत प्रतिवेदनमा समावेश गरिएको छ। प्रतिवेदनमा कृषि, उद्योग, सेवा र पूर्वाधार क्षेत्रमा देखिएका सम्भावना र समस्या एवम् चुनौतीहरू संक्षिप्त रुपमा प्रस्तुत गरिएको छ।
साथै पर्यटन क्षेत्रमा सर्लाही जिल्लाको भरत ताल, पूर्वाधार क्षेत्रमा जयनगर–जनकपुर–कुर्था रेलवे, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, हुलाकी राजमार्ग र काठमाडौं–तराई मधेश द्रुतमार्गको प्रगतिस्थिति, पुर्व पश्चिम रेलमार्ग, नवीकरणीय उर्जा उत्पादनमा ढल्केबरस्थित मिथिला सोलार प्लाण्ट, राष्ट्रिय जनगणना २०७८ अनुसार मधेश प्रदेशको जनसंख्याकोल विवरण बारेमा समेत यस अध्ययन प्रतिवेदनमा समावेश गरिएको छ।