काठमाडौं। विवाह र पार्टीका कारण ‘वेडिङ डेस्टिनेसन’ बनिरहेको झापा भद्रपुरस्थित डिलक्स पाँचतारे होटल मेचि क्राउनले लगानी विस्तार गरेको छ।
सञ्चालनमा आएको छोटो समयमै वेडिङ डेस्टिनेसन र क्यासिनोका लागि रोजाइमा पर्दै आएपछि मेची क्राउनले ६० करोड रुपैयाँ लगानीमा १ सय कोठा थप्न सुरू गरेको हो।
पर्यटक आगमनमा घटेपछि अधिकांश होटलले सञ्चालन खर्चसमेत जुटाउन धौधौ भएको गुनासो गरिरहेका बेला मेची क्राउनले भने लगानी विस्तार गर्दै कोठा थप्न सुरू गरेको हो।
होटल सञ्चालक पवित्रकुमार कार्कीले आगामी डेढ वर्षभित्र सञ्चालनमा ल्याइसक्ने गरी थप सय कोठा निर्माण सुरू गरिएको जानकारी दिए।
जग्गा पहिलाकै रहेकाले अहिले कोठामात्र थप गरिएको छ। सात तलाको भवनमा १ सय कोठा रहनेछन्। भवन निर्माण कार्य भने सुरू भएको छ।
हाल १ सय ५ कोठा रहेकोज मेची क्राउनमा पछिल्लो समय भारतका अधिकांश गन्तव्यबाट विवाह तथा पार्टीका लागि आउने क्रम बढेसँगै कोठा थप गर्न लागेको कार्कीले बताए।
‘विवाहका लागि आउँदा एकसाथ तीन/चार सयभन्दा बढी पाहुना आउने गरेका छन्,’ कार्कीले क्यापिटल नेपालसँग भने, ‘उनीहरुलाई राख्नकै लागि समस्या हुने भएकाले तत्कालै कोठा थप गर्न लागेका हौं।’
भारतभन्दा सस्तो मूल्यमै नेपालमा विवाह सकिने भएकाले पनि धेरैको रोजाइ नेपाल पर्दै आएको छ। भारतीय सीमा नजिकै रहेकाले पनि धेरैले मेची क्राउनलाई वेडिङ डेस्टिनेसन बनाइरहेका छन्।
त्यतिमात्र होइन, मेची क्राउनमा नेपालकै सबैभन्दा ठूलो क्यासिनो ‘भेगास’ रहेको छ। भेगास सञ्चालक कम्पनीको भारत गोवामा पनि सञ्जाल रहेकाले धेरै भारतीय मेची क्राउनको क्यासिनोमा खेल्न आउने गरेका छन्।
क्यासिनोमा खेल्न आउनेले समेत होटलको धेरै कोठा भरिने भएकाले थप कोठा विस्तार गर्न आवश्यक परेको सञ्चालक कार्कीको भनाइ छ।
भद्रपुर विमानस्थलबाट १७ किलोमिटर र भारत बागडोग्रा विमानस्थलबाट २५ किलोमिटर दुरीमा रहेकोले पनि मेची क्राउन धेरै भारतीयको रोजाइमा पर्ने गरेको छ।
पूर्वी नाका काँकडभिट्टादेखि भारत, बंगलादेश र भुटान छोटो दुरीमा रहेकाले त्यहाँका पर्यटक आउने गरेका छन्।
होटलमा पाँच सुइट रूम, १० भिल्ला, २० क्लब रुम र ७० डिलक्स रुम छन्। दुईवटा रेस्टुरेन्ट, ब्यांक्वेट हलसहित हेलिप्याडको सुविधासमेत छ।
आठ बिघा क्षेत्रफल ओगटेको मेची क्राउन परिसरमा १ हजार वृक्षारोपण गरिएको छ। जसले वातावरण सुहाउँदो बनाउन सहयोग पुगेको छ। त्यस्तै स्विमिङ पुल, स्पा सेन्टर, स्टिम बाथ, जिम हल, टेनिस कोर्ट र ब्युटिपार्लर भवन परिसरमै छन्।