काठमाडौं। नर्भिक इन्टरनेसनल हस्पिटलले कलेजो प्रत्यारोपण सेवा विस्तार गर्ने तयारी गरेकाे जनाएकाे छ।
सेवा विस्तार गर्ने उद्देश्यले अनुमति लिने प्रक्रिया पनि अगाडि बढाइसकेको हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्र जानकारी दिए।
यसअघि मृगाैला प्रत्याराेपण सेवा सुरू गरिरहेकाे नर्भिकले कलाे प्रत्याराेपण सेवा विस्तार गर्ने तयारी गरेकाे हाे। विगत ३० वर्षदेखि अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा दिदै आएकाे हस्पिटलले अहिलेसम्म दुई जना व्यक्तिको सफल मृगौला प्रत्यारोपण गरिसकेको छ।
मृगौला फेल भई उपचार गराइरहेका ६६ वर्षीय पुरूषमा उनकी ५५ वर्षीया पत्नीले दान दिएको मृगौला सफलतापूर्वक प्रत्यारोपण गरिएको हाे भने ५४ वर्षीय अर्का पुरूषमा उनकी ३० वर्षीया छोरीले दिएको मृगौलाको सफल प्रत्यारोपण गरिएको छ।
आगामी दिनमा सेवालाई विस्तार गर्दै जाने हस्पिटलले जनाएकाे छ। हस्पिटलका विज्ञ चिकित्सकद्वय डा. राकेश बर्मा र डा.आरके अग्रवाल नेतृत्वको विज्ञ तथा सल्लाहकारकाे टिमले मृगौला प्रत्यारोपण सेवा दिँदै आएको छ।
हसपिटलका अनुसार मृगौला प्रत्यारोपण गरिएका दुवटा केशमध्ये पहिलो केही जटिल थियाे। उनीमा मुटुको धमनीमा समस्या लगायतका जटिलता थियो। तर, नर्भिकमा भएको सबै खालका स्वास्थ्य समस्याको स्तरीय उपचार सेवाको सहज उपलब्धताका कारण जटिल हुँदाहुँदै पनि सफलतापूर्वक प्रत्यारोपण भएको हस्पिटलले जनाएकाे छ।
मल्टिस्पेशालिटी हस्पिटल भएका कारण मृगौला प्रत्यारोपणअघि र पछिदेखिने अन्य स्वास्थ्य समस्याको समाधान पनि एउटै छानामुनि हुने र यस्ता केन्द्रहरुमा प्रत्यारोपणका क्रममा जोखिम कम हुने भएका कारण समेत नर्भिकमा सुरु भएको मृगौला प्रत्यारोपण सेवाले विशेष महत्व राख्दछ।
नर्भिक अस्पताल सन् १९९३ वर्षदेखि विश्वस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्दै आएको स्वास्थ्य संस्था हो। हाल नर्भिकमा देशकै पहिलो र एक मात्र जेनेटिक ल्याब सहितको आइभिएफ (टेस्टट्यूब बेबी) सेन्टर समेत सञ्चालनमा छ। अत्याधुनिक उपकरणसहितको नर्भिक कस्मेटिक एन्ड डर्मा सेन्टरसमेत केही महिनाअघिदेखि सञ्चालनमा आएको हस्पिटलले जनाएकाे छ।
यस्तै नर्भिकले लामो समयदेखि प्रत्येक शनिबार यूरोलोजी टिमले निःशुल्क परामर्श सेवा समेत उपलब्ध गराउँदै आएको छ। यसबाहेक सबै खालका स्वास्थ्य समस्याको उपचार हुने यस अस्पतालमा अत्याधुनिक उपकरण र देशमै चिनिएका विज्ञ चिकित्सकहरुले सेवा दिँदै आएका छन्।