काठमाडौं। भुक्तानी नियमित हुन थालेसँगै उखु किसान र उद्योगीबीच बिस्तारै सम्बन्ध सुध्रिँदै गएको छ। सरकारले आयातमा कडाई गरेसँगै स्वदेशी चिनीको माग बढेपछि त्यसको सकारात्मक असर किसानको भुक्तानीमा परेको थियो।
उखु किसानले भुक्तानी नै नपाउनुका कारण खोज्दै जाँदा स्वदेशी उत्पादन गोदाममै थन्किएको र चोरी तस्करीले बजार कब्जा जमाएको भेटिएपछि सरकारले नाकामा कडाई गरेको थियो। त्यसपछि एकातिर औपचारिक माध्यमबाट आयात हुन थाल्यो भने अर्कातिर उद्योगकै गोदाममा थन्किएको चिनी बजारमा निस्किन थाल्यो।
चिनी बिक्री ह्वात्तै बढ्न थालेसँगै उद्योगीले किसानको भुक्तानीमा विलम्ब गरेका थिएनन्। यो दुई वर्षबीचमा चिनी उद्योगीले उखु किसानलाई समयमै भुक्तानी गरेका थिए।
तर, अहिले फेरि अबैधानिक बाटोबाट चिनी आयात बढ्न थालेपछि स्वदेशी उत्पादन गोदाममै थन्किन थालेको छ। औद्योगिक क्षेत्रदेखि घरायसी खपतमा समेत अबैधानिक तवरबाट भित्रिएको चिनीबाट माग पूरा भइरहेको छ। यसरी ठूलो परिमाणमा चिनी तस्करी भएर नेपाल भित्रिँदा यहाँ उत्पादित चिनी गोदाममै थन्किएको नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवाल बताउँछन्।
‘चोरी तस्करी नियन्त्रणमा सरकार उदासिन बन्दा किसान र उद्योगीबीचको सम्बन्ध फेरि बिग्रिने खतरा बढेको छ,’ चिनी उद्योगीसमेत रहेका अध्यक्ष अग्रवालले क्यापिटल नेपालसँग भने, ‘सरकारले भन्सार नाकाबाट खुलेआम हुने तस्करी नरोक्ने हो भने आउने दिनमा धेरै चिनी मिलले किसानलाई भुक्तानी दिन सक्दैनन् र किसान फेरि भुक्तानी गरिपाऊँ भन्दै सिंहदरबारको ढोका आउने अवस्था बन्न सक्छ।’
अग्रवालका अनुसार बैधानिक बाटोबाट आएको चिनीसँग स्वदेशी उत्पादन प्रतिस्पर्धा गर्न तयार छ। तर, अहिले जति चिनी भित्रिएको छ, सबै अबैधानिक बाटो प्रयोग भइरहेको छ। जसका कारण स्वदेशी उद्योगले उत्पादन गरेको चिनी गोदाममै थुप्रिएको छ।
अहिले वीरगन्ज, भैरहवा, नेपालगन्ज, विराटनगरलगायत सबै नाकाबाट चोरी भएर नेपाल भित्रिन्छ। सरकारले चोरी पैठारीलाई नरोक्ने हो भने निकट भविष्यमै किसानलाई भुक्तानी गर्न कठिन हुने उद्योगीहरुको भनाइ छ।
भुक्तानीको विषय पेचिलो बन्दै गएपछि किसान उखु खेती गर्नबाट निरुत्साहित बन्दै गएका छन्। ‘उखु किसान निरुत्साहित हुनु भनेको चिनी उद्योगलाई नै घाटा हो,’ उनले भने, ‘नेपालमा आत्मनिर्भर नजिक रहेको क्षेत्र बिस्तारै परनिर्भर हुँदै गएको छ। यस विषयमा सरकार गम्भीर हुनुपर्छ।’
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले केही दिनअघि राजस्व चुहावट नियन्त्रण गर्न सरोकारवालासँग वृहत छलफल गरेका थिए। उक्त बैठकमा चोरी तस्करी रोक्न आफूहरु जोडतोडले लाग्ने सहमति गरे पनि नाकाबाट खुलेआम सामान नेपाल भित्रिएको उद्योगीहरु बताउँछन्।
नेपाल उखु उत्पादक संघका अध्यक्ष कपिलमुनि मैनालीका अनुसार खुलेआम चिनी आउँदा त्यसको अप्रत्यक्ष असर किसानमाथि नै पर्छ।
‘चिनी मिलहरुले किसानबाट उखु किनेर लैजान्छ र चिनी बिक्री भएपछि भुक्तानी गर्ने गर्छन्,’ उनले भने, ‘यदि उद्योगको गोदाममै चिनी थन्कियो भने हामीले पाउने भुक्तानीमा गम्भीर समस्या पर्छ। त्यही भएर सरकारले चोरी नियन्त्रण गरेर किसानको उद्धार गर्नुपर्छ।’
बिस्तारै किसान र उद्योगीबीच सुमधुर सम्बन्ध बन्दै गएको छ। तर, चिनी बिक्री नै नहुने वातावरण सिर्जना हुने बित्तिकै सम्बन्धमा दरार पैदा हुने मैनाली बताउँछन्।