काठमाडौं । काठमाडौंका बसन्त पन्तले हालको प्राविधिक युगलाई मध्यनजर गर्दै ‘मेरो कोडिङ क्लास’ सञ्चालन गर्दै आएका छन् । अहिलेको युग प्रविधिको युग भएको कारणले प्रत्येक बालबालिका तथा मानिसहरु प्रविधिका विषयमा दक्ष हुनुपर्छ भन्ने उनको धारणा थियो । यही धारणालाई साकार पार्न उनले करिब तीन वर्षअघि बालबालिकालाई प्रविधिसँग जोड्ने नौलो अभियान सुरु गर्ने योजना बनाए ।
२०२१ को अप्रिलमा मेरो कोडिङ क्लास नामको साइट लन्च गरेर उनले आफ्नो अवधारणामा काम गर्न सुरु गरे । मेरो कोडिङ क्लासको उद्देश्य बालबालिकालाई आज अपरिहार्य मानिएको कोडिङसँग परिचित गराउनु हो । हरेक कुरा डिजिटलाइज भइरहँदा त्यसले कसरी काम गर्छ भन्ने जान्नु उत्तिकै आवश्यक हुन्छ ।
पन्तको यो अवधारणा विदेशका विभिन्न ठाउँमा बालबालिकाको विकासका लागि सञ्चालन भइरहेको अवधारणा हो । जुन नेपालमा पनि गरौं भन्ने चाहना राखेर उनले सुरु गरेका हुन् ।
‘नेपालमा विद्यालय स्तरमा कम्प्युटर विषय समावेश भए पनि कोडिङबारे सामान्य जानकारी मात्र दिने गरेको पाएपछि प्रविधि क्षेत्रमा नेपालका बालबालिकालाई जोड्न मेरो कोडिङ क्लास सुरु गरेको हुँ,’ उनले भने ‘मेरो कोडिङ क्लास अनलाइनमार्फत बालबालिकालाई कोडिङबारे ज्ञान र सीप उपलब्ध गराउने प्लेटफर्म हो ।’ उनकाअनुसार यसमा बालबालिका र विज्ञहरू जुममार्फत जोडिन्छन् ।
कोडिङ क्लासमा विभिन्न उमेर समूहका बालबालिकालाई उमेर अनुसारको कोर्षको व्यवस्था गरिएको हुन्छ । यसमा ५–७ वर्षका बालबालिकालाई लिटिल कोडर्स वा कोडिङका लागि आवश्यक सूक्ष्म कुराको ज्ञान दिइने र बाँकी उमेर समूहका बालबालिकालाई पाइथनबारे जानकारी दिने गरिन्छ ।
८–११ वर्षका बालबालिकालाई लेभल १,२ र ३, १२–१४ वर्षका बालबालिकका लागि लेभल एम, जसमा लेभल ४, ५ र ६ सिकाइन्छ । त्यस्तै १४ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई लेभल एच वान र एच टु जसमा लेभल ७, ८, ९ र १० समावेश छन् ।
कोडिङ सिकेपछि कुन–कुन प्रविधिले कसरी काम गर्छ भन्ने कुराको जानकारी हुने हुँदा उनीहरूमा तार्किक विचार विकास गर्ने उनको विश्वास छ । कोडिङ जुनसुकै क्षेत्रमा जान चाहने बालबालिकका लागि अपरिहार्य रहेको उनको दाबी छ । यसमा विशेषगरी पाइथन र कोडिङका आधारभूत कुरा सिकाइन्छ ।
त्यसपछि फुल कोर्षमा सहभागी गराउने इच्छा भए लेभल अनुसार हुन्छ । त्यसमा स्कुलको जस्तो प्रणाली हुन्छ । एउटा लेभल सकेर पास भएको खण्डमा अर्को लेभलमा सहभागी गराउने व्यवस्था छ । त्यस्तै एउटा क्लासमा जम्मा ६ जना समावेश गरिएको हुन्छ । यसले गर्दा पनि सबै बालबालिकाले उत्तिकै समय पाउनेछन् । यसमा मनोरञ्जन बढी हुने भएकाले बालबालिकाले पढाइमा भएजस्तो चाप यसमा लिन नपर्ने पन्तको भनाइ छ ।
बालबालिकाले सानै उमेरमा विना कुनै झन्झट एनिमेसन, भिडिओ इडिटिङ, ग्राफिक्सले कसरी काम गर्छ भन्ने कुराको जानकारी पाउँछन्, जसले गर्दा भोलिका दिनमा साथमा केही नहुँदा सोही काम गरेर स्वरोजगार हुन सक्छन् । उनीहरुको उद्देश्य बच्चाहरूलाई प्रविधिले कसरी काम गर्छ भन्ने कुरा बुझाउनु हो। बालबालिकालाई भोलिको प्रविधिको निर्माता बनाउने उनको चाहना छ ।
डेढ वर्षको छोटो अवधिमा उनीहरुले कार्यक्रममा दुई हजारभन्दा बढी बालबालिकालाई पढाएका छन् र नेपालभरबाट २ सयभन्दा बढी विद्यार्थीहरूलाई भर्ना गरेका छन् । उनीहरुबाट हाल ४ वटा विद्यालयमा कार्यक्रम चलिरहेको छ र आगामी दिनमा धेरै विद्यालयहरूसँग सहकार्य गर्ने बताएका छन् ।