काठमाडौं। अत्याधुनिक सुविधासहित काठमाडौं नयाँबानेश्वर र कोटेश्वरमा ‘लक्जरियस भिल्ला’ निर्माण भएका छन्। उडक्राफ्ट प्रालिले कोटेश्वरमा पाँचवटा र नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पछाडि नौवटा लक्जरियस भिल्ला निर्माण गरेको हो। कम्पनी सञ्चालक शुलम श्रेष्ठले कोटेश्वरमा बनेका भिल्लाको बिक्री सुरु गरिसकेको र बानेश्वरमा बनिरहेको बताए।
‘अहिले धमाधम बुकिङ लिइरकेका छौं,’ कम्पनीका सञ्चालक श्रेष्ठले भने, ‘राजधानीको केन्द्रमा सीमित भिल्ला निर्माण भएकाले बुकिङका लागि सोधपुछ गर्न आउनेको लर्को छ।’
कम्पनीले न्यूनतम ६ आनादेखि १० आनासम्ममा एउटा भिल्ला बनाएको छ। ६ आनामा बनेको एउटा भिल्लाको मूल्य ६ करोड ५० लाख रुपैयाँ छ। त्यसैगरी ११ आनामा बनाइएको भिल्लाको मूल्य १० करोड रुपैयाँ तोकिएको छ।
श्रेष्ठका अनुसार भिल्लामा विश्वप्रख्यात सामग्री प्रयोग गरिएका छन्। कम्पनीले १४ वटै भिल्लामा इटालियन मार्बल, कोहलरका धारा तथा बाथरुम सामग्री, घरमा प्रयोग गरिएका लाइट ताइवान र बेड सिंगापुरबाट झिकाइएको हो।
सुविधासम्पन्न भिल्ला नेपालमै पहिलोपटक बनेको श्रेष्ठको दाबी छ। कम्पनीले निर्माण गरेका हरेक भिल्ला साढे दुइ तलाका छन्। कम्पनीले एक वर्षअघि बनाउन सुरु गरेको थियो। कम्पनीले कोटेश्वरका चारवटा भिल्ला बिक्री गरिसकेको छ भने एउटामात्रै बाँकी छ। बानेश्वरको भिल्ला बिक्रीका लागि बुकिङ खुला गरेको उनको भनाइ छ।
कम्पनीले उच्च वर्गलाई लक्ष्य गरेर सुविधासम्पन्न भिल्ला निर्माण गरेको हो। मध्यम र उच्च मध्यमबर्गलाई लक्ष्य गरेर नेपालमा धेरै हाउजिङ निर्माण भएका छन्। तर, कम्पनीले उच्च वर्गलाई लक्ष्य गरेर सीमित भिल्ला निर्माण गरेको हो।
सामान्यतया ३–४ आनामा साढे दुइ तल्लाको हाउजिङ निर्माण भइरहँदा उडक्राफ्टले एउटै घर कम्तीमा ६ आना क्षेत्रफलमा बनाइरहेको छ। सबैभन्दा बढी क्षेत्रफलको भिल्ला १० आनामा बनिरहेको कम्पनीको भनाइ छ। हरेक भिल्लामा व्यवस्थित निजी बगैँचा र टेरेस गार्डेन छन्। घरमा लिभिङ रुमसहित होम थिएटर, बारलगायत सुविधा छन्।
सोलार पावर ब्याकअप, सोलार वाटर हिटिङ, एयर कन्डिसनिङ सिस्टमसहितका घरमा वाटर रुफ पेन्ट्स प्रयोगदेखि घरअगाडि खुला बाटो सुविधा छन्।