काठमाडौं। सूर्यविनायक–धुलिखेल सडक विस्तारको पहिलो खण्डअन्र्तगत साँगा–धुलिखेल सडक विस्तारको काम सुरु भएको छ। दोस्रो खण्ड र पुल निर्माण भने माघ अन्तिमबाट सुरू हुने सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजनाले जनाएको छ।
दुई खण्डमा विस्तार गर्न लागिएको उक्त सडकको पहिलो खण्डमा एक साताअघि ठेक्का सम्झौता भइसकेको तथा अर्को खण्डको सम्झौताका लागि आशयपत्र निकालिएको आयोजनाले जनाएको छ।
अरनिको राजमार्गमा पर्ने सूर्यविनायक–धुलिखेल सडकको लम्बाइ १५.९ किलोमिटर छ। दुई लेनको उक्त राजमार्गमा सवारी चाप बढ्दै गएपछि राजमार्ग विस्तार योजना अगाडि सारिएको थियो। सन् २०१८ मा जापानी सहयोग नियोग (जाइका) ले राजमार्ग विस्तारका लागि अध्ययन गरेको थियो।
तर, जाइकाको लागत अनुमान धेरै भएको भन्दै नेपालले आफैं सडक विस्तार गर्ने भएपछि हालसम्म काम सुरु हुन सकेको छैन। जाइकाको अध्ययनअनुसार १५.९ किलोमिटर सडक विस्तार गर्नमात्रै २३ अर्ब लाग्ने छ।
साथै मुआब्जा वितरणसहित ४२ अर्ब लाग्ने देखिएपछि नेपालले उक्त लागतमा निर्माण गर्न नसक्ने भन्दै आफैं सडक विस्तार गर्ने योजना बनाएको हो। तै पनि जाइकाले अध्ययन गरेको चार वर्ष बित्दा पनि नेपालले निर्माण सुरु गर्न सकेको थिएन।
दुई खण्डमध्ये सूर्यविनायक–साँगातर्फ साढे सात किलोमिटर र साँगा–धुलिखेलतर्फ साढे आठ किलोमिटर सडक विस्तार गर्नुपर्ने हुन्छ। पहिलो खण्डमा साँगा–धुलिखेल (साढे आठ किलोमिटर) र दोस्रो खण्डमा सूर्यविनायक–साँगा (साढे सात मिलोमिटर) मा सडक विस्तार हुनेछ।
आयोजनाको दोस्रो खण्डअन्र्तगत सूर्यविनायक–साँगा सडक विस्तारको जिम्मेवारी तीनवटा निर्माण कम्पनीले संयुक्त लगानी (जेभी) का रूपमा पाएका छन्।
आशिष, कुमार श्रेष्ठ र बन्दन भगवती जेभीले दुई लेनको सडकलाई चार लेनमा विस्तार गर्ने आयोजनाले जनाएको छ। ती कम्पनीको नाममा आयोजनाले आशयपत्र जारी गरेको छ। पुस १३ गते जारी आशयपत्रको म्याद एक साता छ।
म्यादभित्र उक्त कम्पनीविरुद्ध कुनै मुद्दा वा निवेदन नपरेको अवस्थामा आयोजनाले अर्को सूचना जारी गर्दै १५ दिनभित्र ठेक्का सम्झौताको लागि बोलाउने छ।
‘आशयपत्रको म्याद सकिन लागेको छ, त्यसपछि ठेक्का सम्झौताका लागि सूचना जारी गर्छौं। कानुनअनुसार अझै १७ दिन बढी समय बाँकी छ सम्झौता हुन,’ सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना प्रमुख रविन्द्रलाल दास भन्छन्, ‘त्यसैले दोस्रो खण्डको काम सुरु हुँदा माघ लाग्छ।’
उक्त खण्ड विस्तार गर्न ३ अर्ब ८८ करोड ९३ लाख ९६ हजार रुपैयाँ लाग्ने आयोजनाले जनाएको छ।
पहिलो खण्डमा निर्माण कम्पनी परिचालन
पहिलो खण्डअन्र्तगत साँगा–धुलिखेल सडक विस्तारको जिम्मेवारी पाएको लामा कन्स्ट्रक्सनले काम सुरु गरेको छ। आयोजना र लामा कन्स्ट्रक्सनबीच ठेक्का सम्झौता भएपछि कम्पनीले काम सुरु गरेको आयोजना प्रमुख दास बताउँछन्।
साँगा–धुलिखेल खण्डको साढे आठ किलोमिटर निर्माण गर्न ४ अर्ब ५६ करोड रुपैयाँको ठेक्का लागेको छ।
‘लामा कन्स्ट्रक्सनसँग सम्झौता भएको एक साता भयो। अहिले प्रारम्भिक चरणको काम सुरु गरेको छ,’ दासले भने, ‘विद्युत, रुख कटान, आवश्यक सामान लाने काम भइरहेको छ। १०÷११ दिनपछि सडक विस्तारको काम तीव्र हुन्छ।’
लामा कन्स्ट्रक्सनले सम्झौता भएको मितिबाट तीन वर्षभित्र विस्तारको काम सक्नुपर्ने र एक वर्षसम्म मर्मतको जिम्मेवारी पनि लामाकै रहने छ। साँगा–धुलिखेल खण्ड विस्तारका लागि ४ अर्ब ५६ करोड र सूर्यविनायक–साँगाको लागि ३ अर्ब ८८ करोड ९३ लाख ९६ हजार रुपैयाँ गरी १५.९ किलोमिटर सडक विस्तार गर्न ८ अर्ब ४४ करोड ९३ लाख ९६ हजार रुपैयाँ खर्च हुनेछ।
पुल बनाउन आर्थिक प्रस्ताव माग
१५.९ किलोमिटर लामो सडक विस्तार आयोजनामा तीनवटा पुल बन्नेछन्। त्यस्तै एउटा कल्भर्ट बन्ने आयोजनाले जनाएको छ। आयोजनाले सडक विस्तार र पुल निर्माण गर्न छुट्टाछुट्टै ठेक्का आह्वान गरेको थियो।
पुल निर्माण गर्न भने एउटा कम्पनीमात्रै प्राविधिक योग्य देखिएको आयोजना प्रमुख दासको भनाइ छ। उनका अनुसार हिम्दुङ/रामजानकी जेभी प्राविधिकरुपमा पुल निर्माणका लागि योग्य देखिएको छ। उक्त कम्पनीको आर्थिक प्रस्ताव माग गरिएको छ। आर्थिक प्रस्तावको म्याद बाँकी छ।
सडक विभागले स्वीकृत गरेमा आशयपत्रको सूचना निकाल्ने तयारीमा आयोजना छ। पुलको अनुमानित लागत ९० करोड रुपैयाँ छ। ‘लामा कन्स्ट्रक्सनले काम सुरु गरिसक्यो। अर्को खण्डमा सम्झौता हुन बाँकी छ र पुलको पनि ठेक्का प्रक्रिया चलिरहेको छ,’ आयोजना प्रमुख दासले भने, ‘यसरी हेर्दा माघ अन्तिमसम्म सबै काम फिल्डमै सुरु हुन्छ।’
विस्तार भएपछि सूर्यविनायक–धुलिखेल खण्डको चार लेन सडकमा सवारी सञ्चालन हुन्छन् भने सडकको दुवैतर्फ सर्भिस लेनसहित दुई मिटरको फुटपाथ बन्ने छ। त्यस्तै बीचमा तीन मिटरको मेडियन निमौण गर्नुपर्ने छ।
आयोजनाका अनुसार धुलिखेलबाट काठमाडौंतर्फ आउँदा अहिले सञ्चालनमा रहेको लेन प्रयोग हुन्छ भने काठमाडौंबाट बाहिरिँदा नयाँ लेन प्रयोग गर्नुपर्ने हुन्छ।