काठमाडौं। दुई कम्पनीले ‘बुक बिल्डिङ’ विधिमार्फत सेयर जारी गर्न गत आर्थिक वर्ष नेपाल धितोपत्र बोर्डमा आवेदन दिए पनि स्वीकृति भने पाएका छैनन्।
बुक बिल्डिङमार्फत सेयर जारी गर्न सर्वोत्तम सिमेन्ट लिमिटेड र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले बोर्डमा आवेदन दिएका छन्। बोर्डले लामो समय कम्पनीहरूलाई बुक बिल्डिङमार्फत सेयर जारी गर्न दिने/नदिने टुंगो नलगाउँदा अन्य कम्पनीका आइपिओ निष्कासन पनि अन्योलमा परेको छ।
सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सपछि बुक बिल्डिङ विधिमार्फत सेयर जारी गर्न भनेर पर्खिरहेका कम्पनीलाई बोर्डको ढिलाइले झनै अन्यौल बनाएको कम्पनीका सञ्चालकहरूका भनाइ छ।
हालसम्म कम्पनीहरूले अंकित मूल्य (फिक्स्ड प्राइस) र प्रिमियममा आइपिओ जारी गर्ने गरिरहेका छन्। फिक्स्ड र प्रिमियमबाट वास्तविक क्षेत्रका कम्पनी सेयर बजारमा आउन अनिच्छुक देखिएपछि बोर्डका तत्कालीन अध्यक्ष रेवतबहादुर कार्कीले बुक बिल्डिङ विधिमार्फत यस्ता कम्पनीलाई ल्याउने तयारी थालनी गरेको थियो।
धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनमा बुक बिल्डिङ विधि प्रयोगमा ल्याउने गरी धितोपत्र बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ संशोधन गरी ‘बुक बिल्डिङसम्बन्धी निर्देशिका २०७७’ कार्यान्वयनका लागि जारी गरेको हो।
ढिलो गरी भए पनि कार्यान्वयनमा आएको बुक बिल्डिङ विधिबाट हालसम्म कम्पनीले सेयर जारी गर्न पाएका छैनन्।
सेयर बजारमा बैंक तथा वित्तीय क्षेत्रको बाहुल्य धेरै हुँदा बजार संरचना परिवर्तन गर्न बुक बिल्डिङ विधिमार्फत रियल सेक्टरका कम्पनीलाई ल्याउनुपर्छ भनेर ल्याइएको बोर्डका पूर्वकार्यकारी निर्देशक निरज गिरी बताउँछन्। बुक बिल्डिङ विधि कार्यान्वयनमा आयो भने सेयर बजारप्रतिको सोचाइ परिवर्तन हुने गिरी बताउँछन।
‘शिवम् सिमेन्ट धितोपत्र बजारमा आइसकेपछि मात्र अन्य कम्पनी सेयर बजारमा आउन इच्छुक देखिएका हुन्,’ गिरीले क्यापिटल नेपालसँग भने, ‘अब दुई–तीन कम्पनीले बुक बिल्डिङमार्फत आइपिओ जारी गरिसकेपछि राम्रा कम्पनी धितोपत्र बजार आउनेछन्। त्यसैले अब बुक बिल्डिङमा ढिलाइ गर्न हुँदैन।’
उनका अनुसार बजारका लागि बुक बिल्डिङ अति आवश्यक छ। यसले बजारको स्वरूप नै परिवर्तन हुन्छ। नयाँ कुरा सुरु गर्दा केही अप्ठेरो आउने र त्यसलाई समाधान गर्दै जानुपर्ने गिरीको भनाइ छ। ‘बुक बिल्डिङ बजारको माग हो,’ उनले भने, ‘यसमा ढिलाइ गरिनु हुँदैन। यसमा राम्रा कम्पनी आए बजार ठूलो पनि बन्छ।’
पहिलो गाँसमा ढुंगा लाग्दा बुक बिल्डिङ प्रक्रियामा ढिलाइ भएको हुनसक्ने बोर्डका पूर्वअध्यक्ष कार्कीको तर्क छ।
‘हाम्रो पुँजीबजार राम्रोसँग विकास भइसकेको छैन,’ उनले भने, ‘चलखेल गर्ने ठाँउ हुँदा बोर्ड अलि प्रणालीगत सुधारमा लाग्दा ढिलाइ भएको जस्तो देखिन्छ। फेयर सिस्टम भइसकेपछि बोर्ड डराउनुपर्ने ठाँउ रहँदैन।’
संसारभरिमै ‘बेस्ट मेथड’ भनेर सुरु गरेको विधिमा झन् विकृति निम्तायो भनेजस्तो देखिएको हुँदा बुक बिल्डिङमा ‘फेयर’ गर्न बोर्डले काम गरिरहेको कार्कीको भनाइ छ।
पछिल्लो समय लिमिटेडबाट पब्लिक हुने कम्पनी धेरै छन्। बुक बिल्डिङमा फेयर प्राइस हुन्छ भनेर धेरै कम्पनी लिमिटेडबाट पब्लिकमा जान थालेका छन्।
‘पब्लिकले सुशासनका रूपमा लिमिटेड कम्पनीको तुलनामा पब्लिक लिमिटेड कम्पनीलाई रुचाउँछन्,’ बोर्डका एक अधिकारीले भने, ‘प्राइभेट आफ्नै हिसाबले चलाएका कम्पनी हुन् भने पब्लिक कम्पनी अनुसाशनमा चलिरहेका हुन्छन्।’
उनीहरू मूल्यका हिसाबले सेयर बजार आउन लालायित भए पनि सुशासनमा चल्नुपर्छ भनेर आउन नचाहने ती अधिकारीको भनाइ छ। ‘प्राइभेट कम्पनी पब्लिकमा आइसकेपछि अनुशासनमा बस्नुपर्छ,’ उनले भने, ‘एइसिडीअन्तर्गको कोड अफ कन्डक्टमा कम्पनी सञ्चालकलाई सुशासन निर्देशिका लागू गरिएको छ।’
ती अधिकारीका अनुसार निर्देशिकामा एउटै व्याक्तिका दुई कम्पनी भए दुवैतिर सञ्चालक बन्न नपाउने व्यवस्था छ।
‘रियल सेक्टरका अधिकांश कम्पनीका सञ्चालक दुईतिर हुने र दुईथरी एकाउन्ट प्रयोग गर्ने गरिरहेका छन्,’ उनले भने, ‘पब्लिकमा गइसकेपछि पुँजीबजारको अनुशासनमा आउनुपर्छ। दुईतिर सञ्चालक भए कारबाही हुन्छ। यी कुराले अधिकांश रियल सेक्टरका कम्पनी सेयर बजार आउन हच्किएका छन्।’
रियल सेक्टरका कम्पनीको नियमन भएकाले तिनीहरूलाई सरकारले सामान्य संस्थाका रूपमा हेर्ने गरेको छ। ‘होटललगायत अधिकांश रियल सेक्टरको नियमन छैन,’ उनले भने, ‘नियमन नहुँदा दुई–तीन एकाउन्ट बनाउने, राजस्वको एउटा, बैंकमा एउटा गर्दछन्। पब्लिकमा आइसकेपछि सानो सूचना आउँदा पनि कारबाही हुन्छ।’
सुशासनमा बस्नुपर्ने हुँदा रियल सेक्टर सेयर बजार आउन नचाहने ती अधिकारीको दाबी छ।
‘बैंक तथा वित्तीय संस्था, बिमा नियमनमा पर्छन्। नियमनमा पर्ने संस्थालाई यसमा आउन सहज छ,’ ती अधिकारीले भने, ‘नियमन नहुने संस्था आनन्दले चलेका छन। तिनीहरू सुशासनमा बस्न गाह्रो मानेर सेयर बजार आउन नचाहेका हुन्।’
उनका अनुसार रियल सेक्टरलाई सेयर बजार ल्याउन बुक बिल्डिङमात्र होइन, सरकारले करको दायरा सबैका लागि एउटै बनाउनुपर्छ।
साथै, दुईवटा एकाउन्ट बनाउनेलाई कडाई गरे रियल सेक्टर सेयर बजार आउने ती अधिकारी बताउँछन्। तर, केही अन्तर्राष्ट्रियस्तरका सुशासनमा रहेका कम्पनी भने बुक बिल्डिङमार्फत सेयर बजारमा आउन चाहेको ती अधिकारीले बताए। अमेरिकाबाट सुरु भएको यो विधि हाल भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका र चीनमा समेत अभ्यासमा आइसकेको छ भने एक अध्ययन प्रतिवेदनअनुसार विश्वका ४० भन्दा बढी देशमा यसको सफल प्रयोग भइसकेको उल्लेख छ।
संसारभरि विभिन्न देशले आफ्नो अर्थतन्त्र र पुँजीबजार सुहाँउदो ढाँचामा बुक बिल्डिङ विधि लागू गरेका छन्।
सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा १ अर्ब रूपैयाँ वा त्यसभन्दा बढीको पुँजी वा ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने कम्पनी, प्राकृतिक स्रोत उपयोग गर्ने कम्पनी तथा राज्यबाट अनुदान, सहुलियत वा कर छुट प्राप्त गर्ने पब्लिक लिमिटेड कम्पनीलाई सार्वजनिक गरी सूचीकृत हुनुपर्ने व्यवस्था मिलाइने जनाएको छ।
सरकारले हरेक वर्षको बजेटमा रियल सेक्टरलाई सेयर बजार ल्याउने भने पनि कम्पनीहरूले चासो दिएको पाँइदैन। धितोपत्र ऐन २०६३ को दफा ११८ ले दिएको अधिकार प्रयोग धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ (संशोधनसहित) को नियम ‘ग’ को प्रयोजनका लागि धितोपत्र बोर्डले यो निर्देशिका बनाएको छ।
बुक बिल्डिङका लागि बाटो ‘सफा’ गर्नुपर्ने छ र त्यसको सफाइमा लाग्दा केही ढिलाइ भएको बोर्डका अध्यक्ष रमेश हमालले बताए। हमालका अनुसार अब एक महिनामा सबै सफाइ गरेर बुक बिल्डिङमार्फत सेयर जारी गर्न दिइने छ।
‘अहिले देखिएको जस्तो विकृति हुन नदिन काम गरिरहेका छौं। प्रणाली फेयर भएपछि मात्र अन्य कम्पनी आउँछन्,’ उनले भने, ‘जबसम्म कम्पनीलाई मूल्यको अनावश्यक उतारचढाव हुँदैन भन्ने थाहा हुन्छ, तबमात्र कम्पनी आउँछन्। बजारको माग र आपूर्तिले गरेको निर्णय हुनुपर्छ।’
केही समूहले मिलेर उतारचढाव हुँदैन भन्ने ‘फेयर भ्यालु सिस्टम’ भएपछि मात्र अन्य रियल सेक्टरका कम्पनी बजार आउने हमालले बताए। ‘फेयर सिस्टम छ भन्ने नभएसम्म जति घोक्रेठ्याक लगाए पनि कम्पनी आउँदैनन्,’ उनले भने।