काठमाडौं। सिमरास्थित विशेष आर्थिक क्षेत्र (सेज) मा उद्योग स्थापना गर्न चार कम्पनीले सम्झौता गरेका छन्। सिमरा सेजमा उद्योग स्थापनाका लागि विभिन्न मितिमा सम्झौता गरिएको विशेष आर्थिक क्षेत्र विकास प्राधिकरण (सेजा) ले जनाएको छ।
प्राधिकरणका अनुसार पुस ५ मा उद्योगीलाई प्रस्ताव पेस गर्न सार्वजनिक प्रस्ताव आह्वान गरिएको थियो। त्यसयता चार उद्योगले सम्झौता गरेका हुन्।
सैद्धान्तिक सहमति गरेका २४ मध्येबाट चार कम्पनीले उद्योग स्थापनाका लागि सेजासँग सम्झौता गरेको प्राधिकरणका उपसचिव तुल्सीराम मरासिनीले जानकारी दिए।
सिमरा सेजमा अनुमति प्राप्त गरी सम्झौता गरेका कम्पनीमा मनराम हिमालयन ह्यान्डिक्राफ्ट प्रालि, बागमती आर्ट्स एन्ड ह्यान्डिक्राफ्ट प्रालि, एभरेस्ट फेसन र बालाजी म्यानुफ्याक्चरिङ प्रालि छन्।
ती चार कम्पनीले २९ करोड ८७ लाख रुपैयाँबराबरको लगानी सम्झौता गरेको मरासिनिले जानकारी दिए।
मनराम हिमालयन ह्यान्डिक्राफ्टले ७ करोड ७० लाख, बागमती आर्ट्सले ७ करोड ९२ लाख, एभरेस्ट फेसनले ७ करोड ९५ लाख र बालाजी म्यानुफ्याक्चरिङले ६ करोड ३० लाखबराबरको लगानी सम्झौता गरेका छन्।
सेजाका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टका अनुसार अनुमति प्राप्त गरी सम्झौताका लागि म्याद बाँकी रहेका १० कम्पनीले अझै सम्झौता गर्न सक्छन्।
‘अनुमति प्राप्त गरी सम्झौता गर्ने म्याद भएका थुप्रै कम्पनी तथा लगानीकर्ता छन्,’ भट्टले क्यापिटल नेपालसँग भने, ‘सम्झौता गर्न म्याद बाँकी भएका अन्य केही कम्पनी सम्झौता गर्ने प्रक्रियामा छन्। हामी केही दिनमा नै थप कम्पनीसँग सम्झौता सम्पन्न भएपछि त्यसको तथ्यांक निकाल्ने छौं।’
उनले सम्झौता भएका चार कम्पनी छिट्टै सञ्चालनमा आउने जानकारी दिए। सिमरा सेजमा अनुमति प्राप्त गरी सम्झौताका लागि १ सय २० दिनको अवधि रहेका कम्पनी संख्या १० छ।
ती कम्पनी तथा लगानीकर्तामा थ्रेडर्स अफ हिमालयन प्रालि, सुबोध गुप्ता, अजित खतिवडा, दिनेशकुमार गौतम, सुदीपकुमार खेतान, अनिलकुमार अग्रवाल, आशिषकुमार लाठ, शुलभ कृषि कम्पनी, ज्योतिकुमारी साह र यसकुमार अग्रवाल छन्।
कार्यकारी निर्देशक भट्टका अनुसार ती कम्पनी तथा लगानीकर्ताले अनुमति प्राप्त गरेको १ सय २० दिनभित्र सम्झौता गर्नपर्ने छ।