काठमाडौं । नेपालका तीन ठूला व्यवसायिक घरनाहरुको लगानीमा सञ्चालित सौैैर्य सिमेन्ट इन्डष्ट्रिज लिमिटेडको व्यापारमा उछाल आएको छ । सौर्यको सिमेन्ट व्यापार १८२ प्रतिशत बढेर सञ्चालन आम्दानी ७ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ ।
२०२१ मा सौर्यले २ अर्ब ६३ करोड १० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । एक वर्षको अवधिमा सौर्यको सञ्चालन आम्दानी ४ अर्ब ७९ करोड रुपैयाँ बढेको उद्योगले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ ।
उद्योग सञ्चालनको पहिलो वर्षमा पूर्ण क्षमतामा सिमेन्ट उत्पादन हुनुका साथै बजार हिस्सा ६५ प्रतिशत बढाएकाले सञ्चालन आम्दानीमा वृद्धि भएको हो । उद्योगले अहिलेसम्मको उच्चतम आधुनिक प्रविधिबाट सिमेन्ट उत्पादन गरिरहेको छ ।
जसले सिमेन्ट उत्पादन बढाउन सहयोग पुर्याएको उद्योगले जनाएको छ । उद्योगका देशभरी ८० वितरक र १ हजार ८०० डिलर रहेका छन । उद्योगले सौर्य ब्राण्डमा सिमेन्टको उत्पादन तथा बिक्री वितरण गरिरहेको छ ।
उद्योगको उत्पादन क्षमता दैनिक ३ हजार टन रहेको छ । उद्योगले १५ अर्ब १५ करोड रुपैयाँ ऋणको रेटिङ गरेको छ ।
दैनिक ३ हजार टन क्षमताको क्लिङकर प्लान्ट सन २०२१ देखि सञ्चालनमा आएको हो । उद्योगले सहायक कम्पनी सौर्य सिमेन्ट लिमिटेडले खानीको अधिकार लिएको छ ।
खानी कारखानास्थल मिर्चैयादेखि ४० किलोमिटर टाढाको दुरीमा रहेको छ । उद्योगसँग साढे ५ मेगावाट क्षमताको वेस्ट हिट रिकभरी सिस्टम पनि छ । यसले उद्योगको २५ प्रतिशत ऊर्जाको मागलाई पुरा गर्छ ।
शंकर, अम्बे र हुलास ग्रुपले सन् २०१७ सेप्टेम्बरमा स्थापना गरेको उद्योग २०२२ मा पब्लिक लिमिटेडमा रुपान्तरण भएको हो । उद्योगका अध्यक्ष सुलभ अग्रवाल रहेका छन ।
उद्योग सिरहाको मिर्चैयामा छ । नेपालमा ६० सिमेन्ट र २० क्लिङकर उद्योग सञ्चालनमा छन । उद्योग धेरै भएकाले बजारमा सिमेन्टमा कडा प्रतिस्पर्धा देखिएको छ । अझै केही ठूला सिमेन्ट उद्योग पाइपलाइनमा छन् ।